• ९ भदौ २०८२, सोमबार

झाडापखाला भएकामध्ये ७१ जनामा हैजा पुष्टि

blog

काठमाडौँ, भदौ ९ गते । झाडापखाला भएकामध्ये ७१ जनामा हैजा पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले विज्ञप्ति जारी गर्दै झाडापखाला भएकामध्ये ७१ जनामा हैजा पुष्टि भएको जानकारी दिनुभयो । 

मनत्रालयकाअनुसार वीरगञ्जस्थित विभिन्न अस्पतालमा झाडापखालाका लक्षण देखा परेका बिरामीको नमुना परीक्षण गर्दा ७१ जनामा हैजा पुष्टि भएको जनाएको हो ।  

भदौ ७ गतेसम्म वीरगञ्ज महानगरपालिका वडा न ३, ११, १२, १३ र १६ का एक सय ९४ जना झाडापखालाका लक्षण लिएर बिरामी अस्पतालमा आएका थिए ।  

मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीले हैजा पुष्टि भएका बिरामीको थप परीक्षण गर्न नमुना सङ्कलन गरेको जानकारी दिनुभयो । हाल वीरगञ्जका विभिन्न स्वास्थ्य संस्थामा ९५ जना झाडापखालाका बिरामी उपचाररत छन् । उपचाररत बिरामीमध्ये २२ आईसियुमा ६ र एचडीसीयुमा ६७ जना उपचारमा छन् ।

डा. बुढाथोकीका अनुसार बारम्बार पानीजस्तो पातलो दिसा हुने, बान्ता हुने, धेरै तिर्खा लाग्ने, मुख सुक्ने, छाला चाउरिने, शरीरमा पानी र नुनको कमी(डिहाइड्रेसन) हुनु हैजाका प्रमुख लक्षण हुन् । 

त्यो बाहेक बिरामीलाई कमजोरी, थकाइ महसुस हुने,  पिसाब कम हुने जस्ता स्वास्थ्य समस्या निम्तिने गर्छन् । रगतचाप  घट्ने, मुटुको धड्कन तेज हुने र बिरामी बेहोस हुने जस्ता हैजाका गम्भीर लक्षण हुन् ।  

हैजा हुँदा शरीरले छिटै धेरै मात्रामा पानी र इलेक्ट्रोलाइट गुमाउने तथा स्थिति छुट्टै गम्भीर हुनसक्ने भएकाले लक्षण देखिनसाथ नजिकको स्वास्थ्य संस्थामा लैजान डा. बुढाथोकीको सुझाव छ । 

गर्मी तथा वर्षायाममा विशेष गरी झाडापखाला, हैजा तथा अन्य पानीजन्य रोगहरु फैलने भएकाले सम्पूर्ण सरोकारवालालाई सजक र सतर्क रहन मन्त्रालयले विज्ञप्तिमार्फत अनुरोध गरेको छ ।  

सरुवा रोगबाट सुरक्षित रहन पिउने पानी उमालेर वा क्लोरिन प्रयोग गरी मात्र प्रयोग गर्ने, व्यक्तिगत तथा खानेकुराको सरसफाइमा विशेष ध्यान दिने, खुला स्थानमा दिसा नगर्न र चर्पीको अनिवार्य प्रयोग गर्ने र दिसा पिसाब गरिसकेपछि खानाखानु भन्दा अगाडि साबुन पानीले अनिवार्य हात धुन मन्त्रालयको अनुरोध छ ।