• १४ वैशाख २०८१, शुक्रबार

ताप्लेजुङका स्थानीय तहको बजेट साढे तीन अर्व बढी

blog

आगामी आवको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्तबहादुर थापा । तस्बिर: चन्द्र पन्दाक ।

ताप्लेजुङ, असार ११ गते । ताप्लेजुङका स्थानीय तहले साढे तीन अर्व बढी बजेट ल्याएका छन् । जिल्ला नौ स्थानीय तहले आगामी आर्थिक वर्ष २०७९-८० का लागि उक्त बजेट र आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । 

जिल्लाको एकमात्र फुङ्लिङ नगरपालिका र आठवटा गाउँपालिकाले कुल तीन अर्व ७० करोड ७८ लाख ९४ हजार ४८० रुपियाँ बराबरको बजेट ल्याएका छन् । यहाँका आठ स्थानीय तहले शुक्रबार र एउटा अर्थात मैवाखोला गाउँपालिकाले बिहीबार नै आगामी आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेको थियो । 

ताप्लेजुङका स्थानीय तहको कुल बजेटमध्ये सबैभन्दा बढी फुङ्लिङ नगरपालिकाले ६६ करोड ७७ लाख ७४ हजार २१० रुपियाँको बजेट ल्याएको छ । सबैभन्दा कम मिक्वाखोला गाउँपालिकाले ३५ करोड ४७ लाख रुपियाँ बजेट ल्याएको छ । जिल्लाको सिरिजङ्घा गाउँपालिकाले ५१ करोड ८२ लाख ७३ हजार रुपियाँ बराबरको बजेट सार्वजनिक गरेको छ । 

यस्तै सिदिङ्वा गाउँपालिकाले ३९ करोड ५० लाख ३४ हजार २० रुपियाँ, पाथीभरा याङ्वरक गाउँपालिकाले ४८ करोड ३७ लाख ३७ हजार २९० रुपियाँ बराबरको बजेट सार्वजनिक गरेको छ । आठराई त्रिबेणी गाउँपालिकाले ४४ करोड ३० लाख ८८ हजार ९८० रुपियाँ, फक्ताङ्लुङ गाउँपालिकाले ४४ करोड १८ लाख ६९ हजार रुपियाँ आगामी आवको बजेट ल्याएको छ । 

त्यस्तै मेरिङ्देन गाउँपालिकाले ४२ करोड ३० लाख ३० हजार रुपियाँ र मैवाखोला गाउँपालिकाले ३७ करोड ५४ लाख २२ हजार रुपियाँ बजेट ल्याएको छ । बजेटसँगै जिल्लाका प्रायः सबै स्थानीय तहले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि, रोजगार र पूर्वाधारलाई प्राथमिकता दिएका छन् । 

त्यसैगरी सङ्घीय सरकार तथा प्रदेश सरकारबाट विनियोजित विषयगत बजेटलाई सोहीअनुसार कार्यान्वयन गर्नेगरी नीति तथा कार्यक्रम बनाएको स्थानीय तहहरुले जनाएका छन् ।

Author
चन्द्र पन्दाक

उहाँ ताप्लेजुङबाट गोरखापत्रमा रिपोर्टिङ गर्नुहुन्छ ।