रेखीराम राना
तानसेन, भदौ ८ गते । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा)मा तानसेन नगरपालिका जिल्लामै पहिलो बनेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ का लागि सार्वजनिक गरेको लिजा नतिजामा तानसेन नगरपालिका पाल्पा जिल्लामै उत्कृष्ठ बनेको हो ।
पाल्पाका १० वटा स्थानीय तहमध्ये तानसेनले ८८.७५ अङ्क प्राप्त गरेको छ । देशभरिमा तानसेन नगरपालिका दशौँ स्थानमा परेको तानसेन नगरपालिकाका वरिष्ठ अधिकृत दुर्गाबहादुर थापाले जानकारी दिनुभयो ।
तानसेन नगरपालिकाले शासकीय प्रबन्ध, न्यायिक कार्यसम्पादन, वित्तीय एवम् आर्थिक व्यवस्थापन, सहकार्य र समन्वयलगायतका सूचकमा उच्च अङ्क प्राप्त गरेको उहाँले बताउनुभयो । लुम्बिनी प्रदेशभरका १०९ स्थानीय तहमध्ये तानसेन नगरपालिका पाँचौँ स्थानमा परेको छ ।
प्रदेशस्तरमा तिलोत्तमा नगरपालिका पहिलो, देवदह नगरपालिका दोस्रो, रुरु गाउँपालिका तेस्रो, बाणगंगा नगरपालिका चौथो र तानसेन नगरपालिका पाँचौं स्थानमा परेका छन् । यस्तै ८७.७५ अङ्कसहित रिव्दीकोट गाउँपालिका दोस्रो बनेको छ । यस्तै बगनासकालीले ८५.२५, रैनादेवी छहरा र रम्भा गाउँपालिका ८४ अङ्क प्राप्त गरेका छन् ।