राममणि दाहाल
मकवानपुर, भदौ ८ गते । हेटौँडा उपमहानगरपालिका–९ स्थित पशुपतिनगरस्थित पूर्व पश्चिम राजमार्ग सडक खण्डमा मोटरसाइकल दुर्घटनामा घाइते भएकी एक महिलाको मृत्यु भएको छ ।
मोटरसाइकल दुर्घटनामा घाइते भएकी वीरगन्ज महानगरपालिका १३ मुर्ली बस्ने कविता जोशी श्रेष्ठको हेटौँडा अस्पतालमा उपचारको क्रममा गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
रातोमाटेबाट हेटौँडा बजार तर्फ आउँदै गरेको बा.प्र.०२–०४५ प ५५९७ नं. को मोटरसाइकल र विपरीत दिशा हेटौँडाबाट रातोमाटेतर्फ जाँदै गरेको बा.प्र.०३–००५ प ९०६९ नं. को मोटरसाइकल शनिबार एक आपसमा ठक्कर खाई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।
बा.प्र.०३ ००५ प ९०६९ नं. को मोटरसाइकलका चालक वीरगन्ज १३ का ४८ वर्षीय प्रविण श्रेष्ठलाई चोट लागेको र मोटरसाइकल पछाडि सवार निजको श्रीमती ४३ वर्षीया श्रेष्ठलाई हेटौँडाबाट रातोमाटेतर्फ जाँदै गरेको ना ७ ख ५०१० नं. को बसमा समेत ठोक्किन गई गम्भीर घाइते भएपछि दुवै जनालाई उपचारको लागि हेटौँडा अस्पताल पठाइएको थियो ।
कवितालाई उपचारको क्रममा साँझ ५ः३० बजेको समयमा डाक्टरले मृत घोषणा गरेको प्रहरीको भनाइ छ । दुवै मोटरसाइकल, ठक्कर दिने मोटरसाइकलका चालक, बस र बस चालक जिल्ला प्रहरी कार्यालय मकवानपुरको नियन्त्रणमा रहेका छन् ।