लीलाधर वली
घोराही, भदौ ८ गते । कोडिभ–१९ को नयाँ ‘ओमिक्रोन भेरियन्ट’का विरुद्ध दाङमा ११ हजार आठ सय २१ जना नागरिकले फाइजर–बायोएनटेक मोनोभ्यालेन्ट खोप लगाएका छन् । जिल्लाका दस स्थानीय तहका १२ हजार नागरिकलाई खोप लगाउने लक्ष्य भए पनि ११ हजार आठ सय २१ जनाले खोप लगाएका हुन् ।
दाङमा कोडिभ–१९ विरुद्धको खोप अभियानका क्रममा सबैभन्दा धेरै तुलसीपुर उपमहानगरपालिकामा पाँच हजार जनाले कोभिड–१९ विरुद्ध खोप लगाएको स्वास्थ्य कार्यालय दाङका खोप फोकल पर्सन भानुज्योति वलीले जानकारी दिनुभएको छ । खोप फोकल पर्सन वलीका अनुसार तुलसीपुरमा पाँच हजार चार जनालाई खोप लगाउने लक्ष्य थियो ।
त्यसैगरी, घोराही उपमहानगरपालिकामा दुई हजार चार जनालाई खोप लगाउने लक्ष्य भएकोमा एक हजार नौ सय जना, दंगीशरण गाउँपालिकामा छ सय ९६ जनामध्ये छ सय ३५ जना, शान्तिनगर गाउँपालिकामा पाँच सय जनामध्ये चार सय ९३ जना, बबई गाउँपालिकामा दुई सय ९४ जनामध्ये दुई सय ८२ जना र राजपुर गाउँपालिकामा दुई सय चार जनामध्ये दुई सय तीन जनाले खोप लगाएका छन् ।
राप्ती गाउँपालिकामा एक हजार २० जना, गढवा गाउँपालिकामा एक हजार २० जना, लमही नगरपालिकामा नौ सय ६० जना र बंगलाचुली गाउँपालिका तीन सय जनालाई खोपलगाउने लक्ष्य भएकोमा सतप्रतिशतले खोप लगाएको उहाँले बताउनुभयो । जिल्लामा लक्ष्य अनुसार कोभिडविरुद्धको खोप लगाउने तयारी भए पनि नसकिएको खोप फोकल पर्सन वलीले बताउनुभयो ।
नेपालमा पछिल्लो समय कोरोना भाइरसअन्तर्गत नयाँ ‘ओमिक्रोन भेरियन्ट’ देखा परेपछि त्यसका विरुद्ध जिल्लामा दस स्थानीय तहमा भएका ९५ वटा खोप केन्द्रमार्फत भदौ २ देखि ४ गतेसम्म १२ वर्ष उमेर समूहभन्दामाथिका बालबालिका, वयस्क तथा ज्येष्ठ नागरिकलाई कोडिभ–१९ विरुद्धको खोप लगाइएको थियो । २ देखि ४ गतेसम्म अभियान भए पनि छुटेका व्यक्तिलाई ६ गतेसम्म लगाइएको खोप फोकल पर्सन वलीले बताउनुभयो ।
खोप फोकल पर्सन वलीले कोभिड–१९ विरुद्ध निश्चित औषधी उपचार नभएकाले रोगको सङ्क्रमणबाट बच्नका लागि सरकारले निःशुल्क रुपमा उपलब्ध गराएको खोप जोखिम नागरिकलाई लगाइएको हो ।