• ८ भदौ २०८२, आइतबार

टीकापुर घटनाको दस वर्ष

थारूका मुद्दा स्थापित गर्न सहयोग आवश्यक

blog

टीकापुर घटनाको सम्झनामा भएको कार्यक्रम।

टीकापुर समाचारदाता

टीकापुर, भदौ ८ गते । नेपाली कांग्रेस वा केन्द्रीय सदस्य तथा पूर्वमन्त्री रामजनम चौधरीले जातीय पहिचानसहितको सङ्घीयताको माग पूरा नभए पनि जनसङ्ख्याका आधारमा शासनसत्तामा सहभागिताको माग जारी राख्नुपर्ने बताउनुभएको छ । २०७२ सालमा टीकापुरमा भएको थारू आन्दोलनको सम्झनामा शनिबार टीकापुरमा भएको कार्यक्रममा पूर्वमन्त्री चौधरीले यस्तो बताउनुभएको हो । “भ्रममा मात्रै नपरौँ,” पूर्वमन्त्री चौधरीले भन्नुभयो, “थारूको जातीय जनसङ्ख्याका आधारमा न्याय, प्रशासनमा ६.६ प्रतिशत थारू नियुक्ति पाउन सबै दलका थारू नेताले आआफ्ना शीर्ष नेतालाई भेटेर कुरा गरौँ ।”

थरुहट आन्दोलनका अगुवा सुरेन्द्र चौधरीले रुक्मणी, भानु, रेसम, रञ्जिताका इच्छा अनुसारका पार्टी छन्, केही जय थरुहट भन्दै सरकारमा पुग्ने र पालैपालो मन्त्री भएर सकिने अवस्था आएको बताउनुभयो । नागरिक उन्मुक्ति पार्टीका पूर्वनेतासमेत रहेका चौधरीले नागरिक उन्मुक्तिका नेतालाई सङ्केत गर्दै झुक्याएर यात्री बटुल्ने बसचालकले बिचबाटोमै छोडेपछि नागरिक उन्मुक्तिको गाडीबाट झर्नु परेको बताउनुभयो ।

नागरिक उन्मुक्ति पार्टीका अनुशासन आयोगका संयोजक तथा टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारूले स्थानीय तहमा निर्वाचित प्रदेश, सङ्घमा निर्वाचित भएर मन्त्री भइसकेपछि सत्ताको खिचातानीले नागरिक उन्मुक्ति छिन्नभिन्न हुन लागेको र विभिन्न दलबाट आन्दोलनमा आएका थारू आआफ्ना पार्टीमा फर्किन लागेको बताउनुभयो । राजबन्दीका तर्फबाट बोल्दै प्रदीप चौधरी मुद्दा चलाइएका ५८ जना र जेल जीवन बिताएका २७ जनाका परिवार अझै समस्यामा रहेको बताउनुभयो । अर्का राजबन्दी रामप्रसाद चौधरीले प्रहरीले मुद्दा चलाएका तर अदालतमा हाजिर नभएका २८ जनाको मुद्दा अन्योलमै रहेकाले त्यसको निक्र्योल गर्नुपर्नेमा लक्ष्मण र रेसम जस्ता नेता दिवसमा उपस्थिति नहुनु विडम्बना भएको बताउनुभयो । 

नेकपा (एमाले) का केन्द्रीय सल्लाहकार सदस्य होरीलाल चौधरी, नेकपा (माओवादी केन्द्र) का नेता नेपबहादुर चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता करिश्मा कठरियाले आफूहरू थारूको मागप्रति सहमत रहेको र संविधान संशोधनका क्रममा यसलाई समेटनुपर्ने सुझाव दिनुभएको छ । 

के हो टीकापुर घटना ? 

२०७२ सालमा संविधान जारी हुन लागेका बेला प्रदेशको सीमाङ्कन नमिलेको भन्दै थरुहट मोर्चाले टीकापुरमा विरोध प्रदर्शन गर्ने तयारी गरेका बेला प्रशासनले निषेधाज्ञा जारी गरेको थियो । निषेधाज्ञा तोड्न खोज्ने प्रदर्शनकारीलाई सम्झाउन पुगेका नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित नौ जना प्रहरीलाई घेरा हाली हत्या गरिएको थियो भने नजिकै घरमा भएका एक बालकको पनि हत्या भएको थियो । अदालतले रेसमलाल चौधरीलाई टीकापुर घटनाको मुख्य दोषी ठहर गरी आजीवन काराबासको सजाय सुनाएको थियो । २०७४ सालमा जेलबाटै चुनाव लडेका रेसमलाल प्रतिनिधि सभाको सदस्यमा निर्वाचित हुनुभएको थियो । २०७८ सालमा आफू संरक्षक रहेर खोलेको नागरिक उन्मुक्ति पार्टी २०७९ सालको निर्वाचनमा तिनै तहमा प्रतिनिधि जिताउन सफल भए पनि पार्टी आफ्नै किचलोमा फसेको छ । यस पटकको दिवसमा संरक्षक रेसमलाल चौधरी, अध्यक्ष रञ्जिता श्रेष्ठ, प्रतिनिधि सभा सदस्यहरू लालवीर चौधरी, गङ्गाराम चौधरी, अरुण चौधरी उपस्थित हुनुभएन ।