रवीन्द्र उप्रेती
बर्दिवास, भदौ ५ गते । मधेश प्रदेशमा यस वर्ष पर्याप्त वर्षा नभए पनि तरकारीको मूल्य भने लगातार आकासिँदै गएको छ । साउन महिनायता हरिया तरकारीको भाउ दोब्बरले बढेको छ भने भदौ लागेसँगै मूल्य अझै चुलिएको छ । नजिकिँदै गरेका तीज लगायतका चाडपर्वले माग थपिएको र आपूर्ति घटेकाले मूल्य अझै बढ्न सक्ने व्यापारिहरू बताउँछन् ।
बर्दीबासको तरकारी हाटमा परवल प्रतिकिलो ९० रुपियाँ, गोलभेँडा ८० देखि १००, काउली १५० रुपियाँसम्म पुगेको छ । यस्तै, पहाडी आलु ७०, करैला ८०, घिरौंला ५०, झिमनी ४०, पिडालु ६०, हरियो फर्सी ४० रुपियाँ प्रतिकिलो पुगेका छन् । लोकल ओल १५० र भ्यान्टासमेत १०० रुपियाँ पुगेपछि उपभोक्ता आवश्यकभन्दा कम तरकारी किन्न बाध्य छन् ।
प्रति किलो हजार रुपियाँ पुगेको हरीयो धनियाको पातको मूल्य त यहाँ चर्चाको विषय बनेको छ । बर्दीबासका होटल व्यवसायी नारायण घिमिरेले अप्रत्याशित मूल्यवृद्धिले व्यवसायमै असर परेको गुनासो गर्नुभयो ।
महोत्तरी जिल्लाका गौशाला, मटिहानी, धमौरा, भंगाहालगायत क्षेत्रहरू व्यवसायिक तरकारी खेतीका प्रमुख पकेट क्षेत्र हुन् । कृषि ज्ञान केन्द्रका अनुसार यी क्षेत्रमा करिब बाइस हजार ६८० हेक्टरमा तरकारी खेती हुँदै आएको छ । अहिले हिउँदे तरकारी लगाउने समय भएकाले उत्पादनमा कमी आएको जनाइएको छ ।
जलेश्वर भन्सार नाका मलिवारास्थित प्लान्ट क्वारेन्टाइनका अनुसार जिल्लामा तरकारी आपूर्ति गर्ने अर्को स्रोत भारतीय उत्पादन पनि हो । आर्थिक वर्ष ०८१/८२ मा भारतबाट चौंसट्ठी करोड ३९ लाख ३२ हजार मूल्य बराबरको १८ थरीका दुई हजार ६८३ मेट्रिक टन हरीया तरकारी आयात भएको थियो ।
क्वारेन्टाइन प्रमुख किशोर यादवका अनुसार वर्षा सुरु भएयता भारतबाट तरकारी आयात ठप्प छ । सीमावर्ती भारतीय बजारलाई पनि नेपाली तरकारीले ने धानेको देखिएको छ ।
बजार ठेकेदार महेश साहका अनुसार हिले, रामेछाप, भकुण्डवेशीलगायत पहाडी जिल्लाबाट आउने तरकारीले मधेशको माग धानिरहेको छ । ती क्षेत्रमा बाढी–पहिरोले बाटोघाटो विगारेकाले चर्को ढुवानी खर्चले पनि तरकारीको मूल्य बढेको जनाइएको छ । मधेशमा झरेका पाहाडी तरकारीहरु महोत्तरीको गौशाला बजार हुँदै भारत निर्यात हुने क्रम बढेकोले पनि स्थानीय बजारमा अभाव देखिएको छ ।
उत्पादन घटेको, आयात बन्द भएको र ढुवानी खर्च बढेकाले तत्काल तरकारीको मूल्य घटने सम्भावना नरहेको स्थानीय व्यापारीको आँकलन छ । चाडपर्व नजिकिँदै गर्दा मूल्य अझै चुलिन सक्ने सम्भावनाले उपभोक्ता थप मारमा पर्ने देखिएको छ ।