• ५ भदौ २०८२, बिहिबार

आठ वर्षसम्म पुल अधुरो

blog

गैँडाटार र चन्द्रनिगाहपुर जोड्ने चाँदी नदीमा निर्माण गरिएको अधुरो पक्की पुल । तस्बिर : यादवराज पुरी

यादवराज पुरी

रौतहट, भदौ ५ गते  । सङ्घीय शासनप्रणाली सुरु भएयता विकासमा फड्को मारेको रौतहटकै दुर्गम स्थान चन्द्रपुर नगरपालिका–३, गैँडाटारमा भने आधारभूत संरचना पनि सम्पन्न नहुँदा त्यस क्षेत्रका बासिन्दाको जीवनयापन निकै असहज बनेको छ । उक्त स्थानमा सडक, विद्युत्, खानेपानी, शिक्षा र स्वास्थ्यलगायतका पूर्वाधार विकासका संरचना निर्माण भइसकेको छ तर आठ वर्षअघि सुरु गरिएको चन्द्रनिगाहपुर र गैँडाटार जोड्ने चाँदी नदीको पक्की पुल भने अझै अधुरो छ । जसले गर्दा त्यहाँका बासिन्दाको जीवनयापन कष्टकर बनेको भएको छ । 

वर्षा लाग्दा चाँदी नदी तर्नै नसकिने अवस्थामा पुग्छ । अन्य समयमा नदी हुँदै जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यताले आवागमनमा निकै कठिनाइ भोग्नु परेको स्थानीयवासीको गुनासो छ । पुल निर्माण सङ्घर्ष समितिका संयोजक गोविन्द तिमल्सिना भन्नुहुन्छ, “हामीलाई पुल बन्ने आशा देखाएको आठ वर्ष भयो तर आजसम्म पूरा भएन । ठुलै बिरामी परेमा रोगीलाई समयमा सुविधासम्पन्न अस्पताल पु¥याउन गाह्रो पर्छ । बालबालिकालाई विद्यालय आवतजावत गर्न कठिनाइ छ ।” पुल नबन्दा स्थानीयस्तरमा उत्पादित अन्न, तरकारी र फलफूलले बजार पाउन नसकेको उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, “यस क्षेत्रमा उत्पादन त प्रशस्त हुन्छ तर पुल नबनेको नहुँदा उत्पादित वस्तुले बजार पाउँदैन । यहाँका कृषक सधैँ निराशामा नै हुन्छन् ।” 

डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरका इन्जिनियर अशोककुमार यादवले पछिल्लो सम्झौताबमोजिम गत आर्थिक वर्षको असार ३० गतेसम्म निर्माण सम्पन्न हुनुपर्ने उक्त पुल निर्माण व्यवसायी दयाराम साहको विभिन्न बहानाबाजी र सुस्त कार्यशैलीका कारण अलपत्र परेको बताउनुभयो । उहाँका अनुसार पुल निर्माण गर्न पप्पु शिवशंकर जेभीले २०७४ असार ३१ गते २५ करोड ३६ लाख २४ हजार रुपियाँमा सम्झौता गरेको थियो । सम्झौता अनुरूप पुल २०७६ असार ३१ गते निर्माण सम्पन्न गर्नुपर्ने थियो । 

सडक डिभिजन प्रमुख अरुणकुमार कर्ण भन्नुहुन्छ, “सम्झौता मितिमा निर्माण नसकिएपछि पहिलो पटक साधारण खरिद नियमावली अनुसार डेढ वर्ष म्याद थप गरिएको थियो । थपिएको म्याद अनुसार २०७७ पुस १४ मा निर्माण कार्य सक्नुपर्नेमा ठेकेदार साहले कोरोना महामारी, लकडाउन, बन्द हडताल जस्तो बहाना गर्दै निर्माणमा ढिलाइ गरेपछि पुल अलपत्र परेको हो । दोस्रो पटक २०७७ माघ ११ को निर्णय अनुसार २०७८ असार १३ गतेसम्म काम सम्पन्न गर्ने गरी छ महिना म्याद थपिएको थियो । त्यसपछि पुनः तेस्रो पटकका लागि २०७९ असारसम्मको म्याद थपे पनि निर्माण सम्पन्न हुन सकेन । पछिल्लो पटक गत असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने गरी म्याद थप हुँदा पनि निर्माणले गति लिन सकेन ।”

निर्माणमा भएको ढिलासुस्ती र गैरजिम्मेवार कार्यलाई सम्बोधन गर्दै ठेकदार साहलाई स्पष्टीकरणसमेत सोधिएको डिभिजन प्रमुख कर्णले बताउनुभयो । उहाँका अनुसार पुलको निर्माण सम्पन्न गर्न ठेकदार साहले यथाशीघ्र कार्य सञ्चालन गर्ने प्रतिबद्धता देखाउनुभएको छ । ३५ मिटर लम्बाइ रहेको उक्त पुलका ११ वटा स्पानमध्ये आठ वटा तयार भएका छन् । बाँकी तीन वटाको काम चाँडै नै सुरु हुने छ । वर्षायाम सकिएपछि पुलबाट यातायात सुचारु गर्न पूर्वाधार निर्माण गरिनेसमेत उहाँले बताउनुभयो । 

चन्द्रपुर नगरपालिकाका प्रमुख सञ्जयकुमार काफ्लेले देशको आर्थिक, सामाजिक र सांस्कृतिक विकासका लागि आवश्यक आधारभूत संरचनामध्ये पुल पनि एक महìवपूर्ण संरचना भएको बताउँदै गैँडाटार पुल निर्माणमा भएको ढिलाइले स्थानीयलाई ठुलो समस्या भएको स्वीकार गर्नुभयो । उहाँका अनुसार हाल सङ्घीय सरकार र प्रदेशसँग समन्वय गरेर कामलाई छिटो सम्पन्न गर्ने प्रयास भइरहेको छ ।