काबुल, असार १० गते । गत बुधबारको भूकम्पबाट नराम्ररी प्रभावित भएको अफगानिस्तानका सर्वसाधारणलाई भारतले राहत सामग्रीको दोस्रो खेप हस्तान्तरण गरेको छ ।
यहाँस्थित राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय र अफगान रेड क्रिसेन्ट सोसाइटीलाई राहत सामग्री हस्तान्तरण गरिएको हो । त्रिपाल, झुल, कम्बल, ओढ्ने ओछ्याउनेलगायत सामग्री सहायता निकायलाई हस्तान्तरण गरिएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।
काबुलस्थित भारतीय राजदूतावासले स्थानीय सरोकारवालाहरूसँगको समन्वयमा बिहीबार मानवीय सहायता सामग्रीको पहिलो खेप हस्तान्तरण गरेको थियो । भूकम्प प्रभावितलाई सहयोग गर्न नयाँदिल्लीले काबुलस्थित आफ्नो दूतावासबाट सहायता टोली परिचालन गरेको छ ।
यसैबीच, तालिवानले अफगानीस्तानमा मानवीय सहायता जारी राख्न आफ्नो प्राविधिक टोली पुनः परिचालन गर्ने भारत सरकारको निर्णयको स्वागत गरेको छ ।
भूकम्पमा परी एक हजार एकसय पचासभन्दा बढीको ज्यान गएको र एक हजार पाँचसयभन्दा बढी घाइते भएका छन् । घाइते तथा मृतकको सङख्या बढ्न सक्ने सरकारी अधिकारीहरूले बताएका छन् । पक्तिका प्रान्तको गायन जिल्ला सबैभन्दा धेरै प्रभावित भएको छ । एक हजार पाँचसयभन्दा बढी घर ध्वस्त भएका छन् ।
चीनले पनि अन्तर्राष्ट्रिय समुदायसमक्ष अफगानिस्तानलाई सहयोग गर्न आह्वान गरेको छ । संयुक्त राष्ट्रसङ्घका लागि चीनका स्थायी प्रतिनिधिले भूकम्पपीडित अफगानीलाई मानवीय सहायताका साथै अन्य सहयोग बढाउन अन्तर्राष्ट्रिय समुदायसमक्ष आग्रह गरेका हुन् ।
अराजकताबाट सुशासनतर्फको  सङ्क्रमणतिर लम्किन लागेको महत्वपूर्ण चरणमा रहेको अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरेपछि सृजना भएको भयावह मानवीय एवम् आर्थिक चुनौतीका बीच परेको दैवी विपत्तिमा अफगान जनतालाई थप सहयोग गर्नुपर्नेमा उनले जोड दिएका थिए । सुरक्षा परिषद् बैठकमा राजदूत झाङ जुनले अफगान जनतालाई बिर्सन नहुने तथा उनीहरूलाई सघाउनु अन्तर्राष्ट्रिय समुदायको दायित्व भएको बताए । 
 
                                
                             
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                