• ४ जेठ २०८१, शुक्रबार

देशको लोकतान्त्रिक प्रक्रिया सुदृढ हुनुपर्छ : अध्यक्ष दाहाल

blog

गोरखापत्र अनलाइन

काठमाडौं, असार १० गते । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले देशको लोकतान्त्रिक प्रक्रिया सुदृढीकरण हुनुपर्ने बताउनुभएको छ । शुक्रबार राजधानीमा आयोजित नेपाल पर्वतारोहण सङ्घको नवनिर्वाचित केन्द्रीय समितिको पदभार तथा शपथ ग्रहण कार्यक्रममा उहाँले नेपाली जनताको एकता र भावनालाई सम्बोधन हुनुपर्ने भन्नुहुँदै त्यस्तो बताउनुभएको हो । 

जनताको परिवर्तनबाट आएको व्यवस्थाप्रति चिन्तित रहेको भन्नुहुदै उहाँले परिवर्तनका निम्ति सबैभन्दा बढी त्याग, तपस्या, बलिदान र नेतृत्व गर्नेहरु कहिलेकाहीँ पछाडि पर्नेगरेको बताउनुभयो । परिवर्तन विरोधीहरु अघि आउनेगरेको उल्लेख गर्नुभयो । गणतन्त्र प्राप्तिपछि पहिलो पटक प्रधानमन्त्रीको कार्यकालमा बुझ्दाबुझ्दै नौ महिनाको समय व्यतित भएको र दोस्रो पटक जिम्मेवारीमा रहँदा निकै सुधारको कार्य भएको अध्यक्ष दाहालले बताउनुभयो ।  

‘मधेशलाई पनि विश्वासमा लिएर देशलाई निर्वाचनमा लग्ने कुरा चानचुने थिएन । छोटो भएपनि दोस्रोचोटी राष्ट्रिय एकता प्रवर्धन गर्न र नेपाली जनताको भावनालाई अगाडि बढाउन, नेतृत्व इमानदार भयो भने थोरै समयमा धेरै गर्न सकिन्छ’ उहाँले भन्नुभयो । 

सबै भाषाभाषी र समुदायको सम्बोधन गर्ने, त्यस समय आर्थिक वृद्धिदर साढे ७ प्रतिशतमा पुगाउने, छिमेक एवम् विदेशीसँगको सम्बन्धमा सन्तुलित गर्नु निकै चुनौतीपूर्ण रहेपनि थोरै भए पनि उपलब्धिमूलक काम भएको उहाँले बताउनुभयो । वाम एकताबाट मुलुकको राजनीति स्थिर बनाएर आर्थिक समृद्धि गर्ने लक्ष्य विगतमा पूरा नभएको उहाँले चर्चा गर्नुभयो । 

बाँकी जीवन देशको आर्थिक विकास र समृद्धिका निम्ति राजनीतिक स्थिरतामा अबको जीवन बिताउने सोच रहेको उहाँले बताउनुभयो । अर्को पटक फेरि देशको नेतृत्व गर्ने मौका पाएमा देशलाई नयाँ युगमा लैजाने आफ्नो सपना रहेको उहाँले बताउनुभयो ।