• ४ भदौ २०८२, बुधबार

साउनमा मात्र चौबिस अर्बको वैदेशिक लगानी प्रतिबद्धता

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, भदौ ४ गते । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा २४ अर्ब रुपियाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) प्रतिबद्धता आएको छ ।

उद्योग विभागका अनुसार साउनमा दर्ता भएका १२७ परियोजनामार्फत २४ अर्ब १० करोड ४९ लाख ९५ हजार रुपियाँ लगानी प्रतिबद्धता आएको हो । यी परियोजनामार्फत आठ हजार दुई सयभन्दा बढीले रोजगारी पाउने बताइएको छ । साउनमा कृषिका तीन परियोजनामार्फत २० अर्ब ४५ करोड ५० लाख रुपियाँ लगानी प्रतिबद्धता आएको छ । 

विभागको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखाका प्रमुख प्रशान्त बोहोराले मासु उद्योगका लागि २० अर्ब लगानी आएकाले पनि साउनमा लगानी प्रतिबद्धता धेरै देखिएको जानकारी दिनुभयो । सिन्धुलीमा भैँसीको मासु प्रशोधन फ्याक्ट्री (प्रोसेस्ड कुक्ड बफेलो मिट फ्याक्ट्री) का लागि २० अर्ब रुपियाँ वैदेशिक लगानी स्वीकृत भएको छ । फ्याक्ट्री स्थापनाका लागि चीनको सिचुआन प्रान्तस्थित छेङ्दु जियान फुड कम्पनी लिमिटेड सो लगानी ल्याउन लागेको हो । पहिलो पटक फ्याक्ट्री स्थापनाका लागि एउटै परियोजनामार्फत ठुलो रकम स्वीकृत भएको हो ।

त्यस्तै पर्यटनका ४१ वटा परियोजनामा तीन अर्ब रुपियाँ लगानी प्रतिबद्धता आएको छ । यस्तै आठ सेवामूलक परियोजनामा ३३ करोड ५० लाख रुपियाँ र ७१ वटा सूचना प्रविधि मुलुक परियोजनामा ३६ करोड ५२ लाख रुपियाँ लगानी प्रतिबद्धता आएको छ । यस्तै ऊर्जा क्षेत्रमा १८ करोड ४२ लाख र उत्पादनमूलक क्षेत्रमा १५ करोड ५० लाख रुपियाँ बराबरको विदेशी लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ ।