गोरखापत्र समाचारदाता
काठमाडौँ, भदौ ४ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा लगानी विस्तार र उद्यमशीलताका लागि उपयुक्त वातावरण बनिरहेको भन्दै यसमा असन्तुष्ट हुनुपर्ने अवस्था नरहेको बताउनुभएको छ ।
राजधानीमा मङ्गलबारदेखि सुरु भएको १७ औँ नाडा अटो सोको उद्घाटन समारोहमा प्रधानमन्त्री ओलीले सडक, विमानस्थल, ऊर्जा तथा प्रविधि जस्ता पूर्वाधार पर्याप्त रूपमा बन्दै गरेको भन्दै सरकारले उपयुक्त नीतिगत व्यवस्थासमेत गरिरहेको बताउनुभएको हो । “हामीले अग्रगमन र आधुनिकीकरणका लागि नीतिगत व्यवस्था र पूर्वाधार विकास गरेका छौँ,” उहाँले भन्नुभयो, “लगानी र काम गर्न कुनै बाधा छैन । अहिले असन्तुष्ट हुनुपर्ने कुनै कारण छैन । कोही असन्तुष्ट नै हुन्छु भनेर कसम खाएको छ भने त केही लाग्दैन ।”
निजी क्षेत्रलाई चाहिएको अवस्थामा सरकार जहिले पनि साथ दिन तयार रहेको भन्दै युवालाई उत्पादनमूलक तथा नवप्रवर्तनका काममा लाग्न आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीले नवीनतम प्रविधि, वैज्ञानिक खोज, अध्ययन, आविष्कार जस्ता विकासका अवसर नेपालले सहज उपभोग गर्ने स्थिति बनाउनुपर्नेमा जोड दिनुभयो ।
नेपाल नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले अटो सो जस्ता मेला महोत्सवले नेपालको अर्थतन्त्रमा राम्रो योगदान दिएको भन्दै यस्ता मेलाले बजार र ग्राहकलाई जोड्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । पछिल्लो समय विद्युतीय गाडीको आयात बढिरहेको उल्लेख गर्दै उहाँले नेपालमा गाडी एसेम्बल उद्योग, डेटा सेन्टर र वातावरणमैत्री उत्पादनको सम्भावना बढिरहेको बताउनुभयो ।
उहाँले सरकारले हालसालै ३० भन्दा बढी उद्योग, लगानी र व्यवसायसम्बन्धी कानुन परिमार्जन गरेको र यसले निजी क्षेत्रप्रतिको धारणा सकारात्मक बन्दै बताउनुभयो ।
अध्यक्ष ढकालले अर्डर भइसकेका युरो–६ भन्दा तलका गाडी एक पटकका लागि आयात गर्न दिन सरकारसँग आग्रह गर्नुभयो । उहाँले सरकारले लागु गरेको युरो–६ मापदण्ड सकारात्मक भए पनि तत्काल कार्यान्वयनले केही समस्या निम्त्याउन सक्ने भन्दै एक पटक अनुमति दिन आग्रह गर्नुभयो ।
मेला आयोजक नाडा अटोमोबाइल एसोसिएसनका अध्यक्ष करणकुमार चौधरीले आवागमन क्षेत्रमा सरकारको उद्देश्यलाई साथ दिने गरी निजी क्षेत्रले ठुलो योगदान गरिरहेको बताउनुभयो ।
छ दिनसम्म चल्ने मेलामा चारपाङ्ग्रे, दुईपाङ्ग्रे सवारीसाधनलगायत पाटपुर्जा, हेलमेट वित्तीय सेवाप्रदायकलगायतका ७५ वटा स्टल राखिएका छन् ।