काठमाडौँ, भदौ ३ गते। उच्च शिक्षा अध्ययनको लागि नेपाली विद्यार्थीको लागि अष्ट्रेलिया उत्कृष्ट शैक्षिक गन्तव्य रहेको यस क्षेत्रका जानकारले बताउनुभएको छ।
उच्च शिक्षाको लागि अष्ट्रेलिया जान चाहने नेपाली विद्यार्थीलाई परामर्श दिँदै आएका शैक्षिक परामर्श व्यवसायीको संस्था एरी नेपालको (एसोसियसन अफ अष्ट्रेलियन एजुकेसन रिप्रिजेन्टेटिभ)ले आयोजना गरेको ‘इम्प्याक्ट फोरम अन अष्ट्रेलियन एजुकेसन २०२५ ’ कार्यक्रममा उहाँहरुले यस्तो बताउनुभएको हो। ऐरि नेपालको सातौ वार्षिक साधारण सभाको अबसरमा उक्त कार्यक्रमको आयोजना गरिएको थियो।
कार्यक्रममा अष्ट्रेलियन शैक्षिक प्रणालीको बारेमा छलफल भएको थियो, जहाँ नेपाल तथा अष्ट्रेलियामा रहेर नेपाली विद्यार्थीलाई अष्ट्रेलियाका विभिन्न विश्वविद्यालय तथा क्याम्पसका प्रतिनिधिको सहभागिता रहेको थियो।
पहिलो सत्रमा नेपाली विद्यार्थीको भर्ना दरको स्थायित्वको बारेमा प्यानल छलफल भएको थियो। यस छलफलमा अष्ट्रेलियाको नभितास समूहबाट श्रृष्टि भट्टराई, युनिभर्सिटी अफ एडेलेडका अनुप श्रेष्ठ, साउदर्न क्रस विश्वविद्यालयका सुभी प्रधान तथा मक्वाएर विश्वविद्यालयका अल्कायत हुसेन सहभागी हुनुभएको थियो। यस छलफलको कार्यक्रमको संयोजन ऐरि नेपालका निवर्तमान अध्यक्ष महेशबाबु तिमिल्सिनाले गर्नुभएको थियो।
त्यस्तै मुलुक विकासमा अष्ट्रेलियमा अध्ययन गरेर स्वदेश फर्केका नेपाली विद्यार्थीको भूमिकाको बारेमा दोस्रो प्यानल छलफल भएको थियो। यस छलफल कार्यक्रममा अष्ट्रेलियाको विभिन्न विश्वविद्यालयबाट अध्ययन पुरा गरेर स्वदेश फर्केपछि विभिन्न क्षेत्रमा विज्ञता हाँसिल गर्नुभएका अभिषेक श्रेष्ठ, समिरमणि दीक्षित, आरुश्री शर्मा र अस्लेसा कार्कीले भाग लिनुभएको थियो। छलफलको संयोजन पारस खरेलले गर्नुभएको थियो।
कार्यक्रममा प्रमुख अतिथि नेपालका लागि अष्ट्रेलियन राजदूत लिन जोन्स्टनले नेपाली विद्यार्थीले उच्च शिक्षा अध्ययनको लागि अष्ट्रेलियालाई रुचाएकोमा धन्यवाद व्यक्त गर्नुभयो। ऐरी नेपालका अध्यक्ष द्विराज शर्माले अष्ट्रेलियाको शिक्षा प्रणालीबाट नेपाली विद्यार्थी र समग्र मुलुकले नै लाभ लिइरहेको बताउनुभयो।