• ३ भदौ २०८२, मङ्गलबार

बेलायतको सङ्गीत महोत्सवमा प्रदर्शन हुँदै ३०० वर्ष पुरानो भायलिन

blog

लन्डन, भदौ ३ गते । संसारकै सबैभन्दा मूल्यवान भायलिनमध्ये एक, तीन शताब्दीअघि बनेको र एक समय सङ्गीतकार निकोलो पागानिनीको स्वामित्वमा रहेको, बेलायतको शीर्ष शास्त्रीय सङ्गीत महोत्सवमा बजाइने भएको छ ।

क्यारोडस नामको यो भायलिन जिउसेप गुर्नेरी डेल गेसुले बनाएका लगभग एक सय ५० मध्ये एक हो, जुन शताब्दीयौँसम्म सुरक्षित रह्यो । हाल, एक परोपकारी समूहले यसलाई दुई करोड डलरमा अधिग्रहण गरेको छ । यो भायलिन सन् १७४३ मा उत्तरी इटालीको क्रेमोनियामा बनाइएको हो । दक्षिण कोरियाली भायलिनवादक इन्मो याङले पहिलो पटक यसलाई बिबिसी प्रोम्सको भागको रूपमा बजाउनु हुने छ ।

एक समय इटालियन सङ्गीतज्ञ पागानिनीको स्वामित्वमा रहेको यो भायलिन अगस्ट २८ मा लन्डनको रोयल अल्बर्ट हलमा प्रदर्शन हुने छ । प्रोम्समा डेब्यू गर्दै याङले एएफपीसँग भन्नुभयो, “यो उपकरण पाएकोमा म कति भाग्यमानी छु भन्ने विश्वास गर्न सक्दिनँ। यो सजिलैसँग अहिलेसम्म बनेको सबैभन्दा उत्कृष्ट उपकरणहरू मध्ये एक हो । मैले यसलाई राम्रोसँग हेरचाह गर्ने र सुन्दर आवाज निकाल्ने जिम्मेवारी महसुस गर्छु, ताकि मानिसहरूले बुझुन् कि यी भायलिनहरू सङ्ग्रहालयको भल्टमा मात्र राख्नुको सट्टा बजाउनु उपयुक्त छ ।”

परोपकारी, संरक्षक र प्रायोजकहरू रहेको स्ट्रेटन सोसाइटीले याङलाई यो भाइलिन उधारो दिएको छ । सोसाइटीले विश्वका प्रमुख सङ्गीतकारहरूलाई दुर्लभ र बहुमूल्य वाद्ययन्त्रहरू उपलब्ध गराउने काम गर्छ । इटालियन लुथियर एन्टोनियो स्ट्राडिवारीसँगै गुर्नेरी सबै समयका प्रसिद्ध भायलिन निर्मातामध्ये एक थिए। सोसाइटीका सह–संस्थापक स्टेफन जानसेनले भन्नुभयो,“स्ट्राडिवारीले चर्च र कुलीन वर्गका लागि भायलिन बनाए, तर गुर्नेरीका भायलिन सङ्गीतकारहरूको लागि विशेष थिए । तिनीहरू आफ्नो गहिरो र समृद्ध स्वरका लागि प्रसिद्ध छन् ।”

जानसेनले याङका बारेमा भन्नुभयो, “इन्मो आफ्नो पुस्ताका उत्कृष्ट सङ्गीतकार मध्ये एक हुनुहुन्छ । जब उहाँ मेरो घर आउनुभयो र मैले उहाँलाई भायलिन देखाएँ, पहिलो सेकेन्डमै यो खेल हो भन्ने कुरा स्पष्ट भयो। किनभने अन्ततः, यो रसायनशास्त्रसँग पनि सम्बन्धित छ ।” याङले पाब्लो डे सारासाटको ‘कारमेन फ्यान्टसी’ प्रदर्शन गर्नुहुनेछ, जुसलाई उहाँ भायलिनका लागि ‘विशेष उत्कृष्ट टुक्रा’ मान्नुहुन्छ ।

“भायलिनको फराकिलो प्यालेटले ‘कारमेन’को बलियो र कहिले काहीँ फ्लर्टी चरित्र थप्छ । वाद्ययन्त्रको आवाज पनि अप्रत्याशित छ र यस प्रकारको मनमोहक प्रकृतिले टुक्रालाई अझ जीवन्त बनाउँछ”, याङले भन्नुभयो, “पागानिनीले यो भायलिन प्रयोग गरेको सोच्नु आध्यात्मिक अनुभव जस्तो हो । मलाई लाग्छ, मानिसहरू पागानिनीको आफ्नै भायलिनमा बजाइएको सङ्गीत सुन्न चाहन्छन् ।” रासस/एएफपी