सुजन काफ्ले
चरीकोट, भदौ २ गते । दोलखाका क्रसर उद्योग राज्यले तोकेको मापदण्ड र करको दायरामा आएका छैनन् । सरकारले क्रसर उद्योग सञ्चालनलाई व्यवस्थित गर्न नयाँ मापदण्डसहित कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएर सञ्चालन गर्न भने पनि जिल्लामा सञ्चालन भएका उद्योग नयाँ मापदण्ड अनुसार दर्ता प्रक्रियामा नआएका हुन् । आन्तरिक करदाता सेवा कार्यालय, चरीकोटको तथ्याङ्क अनुसार दोलखामा २२ वटा क्रसर उद्योग छन् । तीमध्ये अधिकांश नवीकरण नै नगरी सञ्चालन भइरहेका छन् ।
करदाता सेवा कार्यालय दोलखामा आय विवरण नबुझाउने क्रसरमा भागेखोला रोडा, ढुङ्गा, बालुवा उद्योग प्रालि, सरस्वती क्रस उद्योग प्रालि, मुनलाइट क्रसर उद्योग प्रालि, दोलखा एसके क्रसर उद्योग एन्ड सप्लायर्स प्रालि, जायन्ट एन्टस क्रसर प्रालि, दिव्य एग्रिगेट इन्डस्ट्रिज प्रालि, गोल्मेश्वर एग्रिगेट प्रालि, मिलीजुली क्रसर उद्योग प्रालि, वैत्यश्वर क्रसर उद्योग प्रालि, दोलखा जलदेवी क्रसर उद्योग प्रालि, गुमुखोला क्रसर उद्योग, सूर्यलिङ्क एग्रिग्रेट, मलेपु रोडा ढुङ्गा उद्योग प्रालि र तामाकोशी रोडा ढुङ्गा र उद्योग एन्ड सप्लायर्स प्रालि छन् ।
आय विवरण बुझाउने क्रसर उद्योगमा भीमेश्वर गिट्टी, बालुवा वासिङ उद्योग प्रालि, चन्डी एग्रिग्रेट इन्डस्ट्रिज प्रालि, चित्रेश्वरी इन्ड्रस्टिज प्रालि, तामाकोशी बालुवा एन्ड ढुङ्गा उद्योग प्रालि, भीमेश्वर क्रसर इन्ड्रस्ट्रिज प्रालि, दोलखा श्री एकता रोडा ढुङ्गा उद्योग प्रालि, तामाकोशी त्रिवेणी रोडा ढुङ्गा प्रालि, महाकाली कन्स्ट्रक्सन एन्ड बिरुवा गिट्टी रहेका छन् । आय विवरण नबुझाएका क्रसर उद्योगले लाखौँ राजस्वसमेत तिरेका छैनन् ।
पाँच वर्षभन्दा बढीदेखि आय विवरण नबुझाई निर्बाध रूपमा क्रसर सञ्चालन हुँदै आएका हुन् । उद्योगले नवीकरण नगर्दा र आयकर नबुझाउँदा राजस्वमा समेत असर पुगेको छ । अवैध रूपमा सञ्चालित त्यस्ता क्रसर उद्योगले स्थानीय खोला नदीमा अनियन्त्रित दोहन गर्नुका साथै प्राकृतिक प्रकोपको जोखिम बढेको छ भने राज्यको करोडौँ राजस्वसमेत खेर गएको छ । सरकारले बनाएको नयाँ मापदण्डमा नआएका उद्योगले नियमित करसमेत तिर्ने गरेका छैनन् । नीति नियम पालना नगर्ने, खोलाकै क्षेत्रमा उद्योग सञ्चालन गर्ने र सोही खोलाबाटै नदीजन्य पदार्थ अनधिकृत रूपमा उत्खनन गरेका क्रसर उद्योगलाई अनुगमन गरेर कारबाही गर्ने निकाय मौन बसेको छ । एउटै क्रसर उद्योगले आठ लाखभन्दा बढी राजस्व तिर्न बाँकी हुँदा पनि क्रसर उद्योग निर्बाध चलिरहेका छन् ।
लाखौँ रकम बक्यौता रहेका क्रसर कारबाहीको दायरामा आउन सकेका छैनन् । आय विवरण नबुझाउने क्रसरमा सामान बोक्ने टिप्परलाई केही दिनअघि पक्राउ गरी छोडिएको थियो । खोलाबाटै नदीजन्य पदार्थ अनधिकृत रूपमा उत्खनन गरेका क्रसर उद्योगको अनुगमनसमेत हुन छोडेको छ ।
करदाता सेवा कार्यालय दोलखाका प्रमुख कर अधिकृत विमलकुमार पौडेलले कर नबुझाउने क्रसर उद्योगलाई कारबाहीको प्रक्रिया अगाडि बढाइएको दाबी गर्नुभयो । कर नतिर्ने क्रसर उद्योगबाट सामान ल्याउने गाडीलाई समात्न प्रहरीलाई पत्राचार गरिएको प्रमुख पौडेलले बताउनुभयो । कतिपय उद्योगले लामो समयदेखि आयकर नबुझाएका कारण कति कर तिर्न बाँकी छ भन्नेसमेत थाहा नहुने उहाँको भनाइ छ ।
नेपाल विद्युत् प्राधिकरण दोलखा वितरण केन्द्रले उपलब्ध गराएको तथ्याङ्कमा दोलखामा आठ वटा क्रसर उद्योगको विद्युत् महसुलको बक्यौता छ । विद्युत् महसुल बाँकी हुने क्रसर उद्योग शुभकामना निर्माण सेवा पाँच लाख रुपियाँ (३४ महिनादेखि) तिर्न बाँकी छ । दोलखा वितरण केन्द्रका प्रमुख नेत्रमणि न्यौपानेले लामो समय विद्युत् महसुल नतिर्ने शुभकामना निर्माण सेवाको विद्युत् लाइन काटिएको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले राजस्व र विद्युत् महसुल नतिर्ने क्रसर उद्योगलाई कारबाही गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “क्रसर उद्योगको विषयमा स्पष्ट मापदण्ड र निर्देशन नहुँदा नियन्त्रणमा समस्या भएको छ, सम्बन्धित कार्यालयसँग समन्वय गरेर नियन्त्रण प्रक्रिया अगाडि बढाउँछौँ ।”