गोरखापत्र समाचारदाता
काठमाडौँ, भदौ २ गते । यस वर्ष मुलुकभर खेतीयोग्य जमिनेमध्ये ८० हजार हेक्टर जमिन बाँझै रहने देखिएको छ ।
मुलुकभर १३ लाख ७६ हजार ४७७ हेक्टर क्षेत्रफल धान रोपाइँ हुने जमिन रहेकोमा हालसम्म १२ लाख ९५ हजार ८८७ हेक्टरमा धान रोपाइँ भएको बाली विकास तथा जैविक विविधता संरक्षण केन्द्रले जनाएको छ ।
भदौ लाग्दा ८० हजार ५७९ हेक्टरभन्दा बढी जमिन बाँझै रहेकाले यस वर्ष धानको उत्पादन घट्ने अनुमान गरिएको छ । केन्द्रका अनुसार आइतबारसम्म मुलुकभर ९४.१५ प्रतिशत धान रोपाइँ भएको छ ।
गत वर्ष सो अवधिमा ९८.४४ प्रतिशत धान रोपाइँ भएको थियो । भदौ लाग्दा सबैभन्दा कम मधेश प्रदेशमा ८६.३५ प्रतिशत अर्थात् तीन लाख १९ हजार ६२६ हेक्टरमा रोपाइँ भएको छ । गत वर्ष सो अवधिमा मधेश प्रदेशमा ९७ प्रतिशत धान रोपाइँ भएको थियो । यस वर्ष समयमा पानी नपर्दा सुक्खा र खडेरीका कारणले गर्दा यस प्रदेशमा धान रोपाइँ कम भएको हो ।
केन्द्रका अनुसार कोशी प्रदेशमा ९४.४२ प्रतिशत अर्थात् दुई लाख ६० हजार ९६४ हेक्टरमा रोपाइँ भएको छ । बागमती प्रदेशमा ९७.२७ प्रतिशत अर्थात् एक लाख १२ हजार ४५९ हेक्टरमा रोपाइँ भएको छ । यस्तै गण्डकी प्रदेशमा ९४.८३ प्रतिशत ८३ हजार ३११ हेक्टरमा धान रोपाइँ भएको छ ।
लुम्बिनी प्रदेशमा ९८ प्रतिशत अर्थात् दुई लाख ९७ हजार १०३ हेक्टरमा धान रोपाइँ भएको छ । कर्णाली प्रदेशमा ९९.३४ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ९९.७२ प्रतिशत खेतीयोग्य क्षेत्रफलमा धान रोपाइँ भएको छ ।