अर्जुन कार्की
काठेखोला (बागलुङ), भदौ १ गते । युवा जनशक्ति विदेशीएपछि खेतीयोग्य जमिन बाँझो रहन थालेपछि काठेखोलाका स्थानीयले नयाँ तरिकाले उपयोग गर्न थालेका छन् ।
बागलुङका काठेखोला गाउँपालिका–७ रेशका दुई युवा किसानले प्याकेजमा खेत रोप्ने व्यवस्थापन गरेपनि यस वर्ष रेशमा खेत रोपाईँमा सहज भएको छ । रेशको करिब एक हजार पाँच सय रोपनीभन्दा बढी क्षेत्रफलमा रहेको फाँटमा गुमबहादुर घर्ती र अमरबहादुर थापाले प्याकेजमा खेत रोपाइ गर्नुभएको हो । धान रोप्ने श्रम र व्यवस्थापन अभावका कारण बाँझिँदै गएको खेतलाई नयाँ तरिकाले उपयोग गर्न थालेको स्थानीय किसान अमर बहादुर थापाले बताउनुभयो ।
बसाइँसराइ, श्रमिक अभाव र पानी व्यवस्थापनको समस्याले खेत बाँझिँदै गएपछि किसानहरूले एकमुष्ट रकम लिएर खेत रोप्ने व्यवस्था थालेका हुन् । जमिनधनीले प्रतिघर (३ रोपनी) का लागि नौ हजार आठ सय रुपियाँ तिरेपछि ट्याक्टर, खेताला, खाजा, पानीसहित सम्पूर्ण व्यवस्थापन किसानले नै गर्ने गरेका छन् ।
रेशका गुमबहादुर घर्ती र उहाँकी श्रीमती देवी घर्तीले एक सय ८९ रोपनी खेत एक महिनामा रोप्नुभएको होभने अमर बहादुर थापाले एक सय ८६ रोपनी खेत रोप्नुभएको छ ।
घर्ती दम्पत्तिले खेत रोपे बापत ६ लाख १७ हजार चार सय रुपियाँ आम्दानी गर्नुका साथै १० जनालाई एक महिनाको रोजगारी पनि उपलब्ध गराउनुभएको छ ।
त्यस्तै, अर्का किसान थापाले एक महिनामा ६ लाख सात हजार ६ सय रुपियाँ आम्दानी गर्नुभएको छ । उहाँले पनि १० जनालाई रोजगारी दिनुभएको थियो ।
प्याकेजमा खेत रोपेर जग्गा बाँझो हुन नदिएको भन्दै काठेखोला गाउँपालिका–७ रेशले दुई जना किसानलाई सम्मान गरेको थियो । वडा कार्यालयले घर्ती दम्पतीलाई एक थान र थापालाई एक थान मिनिटेलर हलो उपहारस्वरुप अनुदानमा दिने घोषणा गरेको छ ।
वडा अध्यक्ष प्रेम लामिछानेले प्याकेजमै खेत रोप्ने शैलीले बाँझो खेत सदुपयोग हुनुका साथै रोजगारी सृजना भएको बताउनुभयो । “जग्गाधनीले रकम भुक्तानी गरेपछि सम्पूर्ण व्यवस्थापन किसानले गर्छन् । यसरी आधा जस्तो बाँझो खेतमा रोपाइँ भएको छ । आगामी दिनमा धानको बिउ व्यवस्थापनसमेत गर्ने किसानहरूको योजना छ,” उहाँले भन्नुभयो ।
किसान गुमबहादुर घर्तीका अनुसार प्याकेज प्रणालीले खेतधनी र व्यवस्थापक दुवैलाई फाइदा पुग्ने देखिएको छ ।
अर्का किसान अमरबहादुर थापाले प्याकेजमा धान रोपाइँ गर्दा जग्गा धनी र गाउँमा रहेका किसान दुवैलाई फाइदा हुने बताउनुभयो । “एक दिनका लागि खेतालासमेत जुटाउन गाह्रो हुने भएकाले यस्तो शैलीले जग्गाधनीलाई सहज भएको छ,” उहाँले भन्नुभयो, “स्थानीय किसानलाई पनि निरन्तर रोजगारी मिलेको छ ।”वडा कार्यालयले बाँझो जमिनको सदुपयोग गर्दै रोजगारी सृजना गर्ने कृषकलाई प्रोत्साहनस्वरूप सम्मान समेत गरेको छ ।