• २० कात्तिक २०८१, मङ्गलबार

बन्चरेडाँडा जान फोहोरको ६५ किमि यात्रा

blog

काठमाडौँ, असार १०  गते । काभ्रेपलाञ्चोक, नुवाकोट र धादिङको भूबनोट उस्तै छ । निकटतालाई हेर्ने हो भने पनि काठमाडौँसँग नुवाकोट र धादिङ जोडिएका छन् तर काभ्रे र काठमाडौँको बीचमा अर्को जिल्ला भक्तपुर पर्छ तर काभे्रको जुठेल्नो नुवाकोट र धादिङ बन्दै आएको छ । करिब ६५ किलोमिटरको दूरीमा रहेको नुवाकोटका ल्यान्डफिल साइट नुवाकोटको सिसडोल तथा धादिङ र नुवाकोटको सीमामा पर्ने बन्चरेडाँडामा काभ्रेको बनेपा नगरपालिकाको फोहोर चार वर्षदेखि विसर्जन हुँदै आएको छ ।

काभ्रेपलाञ्चोक जिल्लाका १३ वटा स्थानीय तहमध्ये बनेपा नगरपालिकामा सबैभन्दा धेरै सफाइका कर्मचारी र फोहोर व्यवस्थापनका लागि आवश्यक पर्ने यातायातलगायतका साधन भए पनि फोहोर व्यवस्थापनको समस्या भने बनेपामा दैनिक बढिरहेको छ । बनेपा नगरपालिकामा दैनिक २४ मेट्रिक टन फोहोर सङ्कलन हुने गरेको छ । 

बनेपा नगरपालिकासँग आफ्नै डम्पिङ साइट नभएको पनि होइन । बनेपाको आइटी पार्क अगाडि २०५४ सालदेखि नै डम्पिङ साइट रहेकोमा २०७४ साल माघमा आगो लागेपछि फोहोर फाल्न रोकियो । यसैबीचमा बनेपा–१३ को चतुरेमा नयाँ डम्पिङ साइट पहिचान गरियो र जग्गा अधिग्रहण पनि गरियो तर आवश्यक पूर्वाधार नबनाउँदा फोहोर लैजान सकिएन ।

यहीबीचमा बनेपा–९ मा फोहोर व्यवस्थापन गर्ने गरी अत्याधुनिक मेसिन ल्याइयो तर स्थानीयका परामर्शबिना नै फोहोर व्यवस्थापन गर्न लागिएको भनी वडाध्यक्षकै नेतृत्वमा विरोध भएपछि त्यो काम पनि त्यसै थन्कियो ।

बनेपा नगरपालिकाको छिमेकी नगरपालिका धुलिखेलको आफ्नै डम्पिङ साइट छ तर धुलिखेलले बनेपालाई फोहोर फाल्न दिएन । धुलिखेलवासीले अर्को छिमेकी पनौती नगरपालिकाको पानी पिउँछन् । रोचक कुरा चाहिँ के छ भने धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जू नगरपालिका सङ्घका अध्यक्ष हुनुहुन्छ तर पनि छिमेकीसँग समन्वय भएन । यी सबैको मार नुवाकोट र धादिङमा परेको हो ।

पुरानो तथा नयाँ खोजिएको डम्पिङ साइटमा स्थानीयको अवरोधका कारण फोहोर बन्चरेडाँडा र सिसडोल लानुपर्ने बाध्यता भएको बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले बताउनुभयो । त्यसका लागि नुवाकोटको ककनी र धादिङको धुनीबेँसी नगरपालिकासँग कुनै सम्झौता भएको छैन । बनेपाबाट फोहोर बोकेर सिसडोल र बन्चरेडाँडा लानेबारे बीचमा पर्ने सूर्यविनायक नगरपालिका, भक्तपुर नगरपालिका, मध्यपुर थिमि नगरपालिका, काठमाडौँ महानगरपालिका र टोखा नगरपालिकासँग पनि कुनै सहमति भएको छैन । सबै बाध्यताको अवस्था रहेको प्रमुख शाक्यको दाबी छ ।

२०७४ माघमा पुरानो डम्पिङ साइटमा लागेको आगोको धुवाँले बनेपा, पनौती र धुलिखेलसम्म तीन दिनसम्म असर पा-यो । धुवाँले स्थानीय सहजै घरबाहिर आउन सक्ने अवस्था भएन । खड्पुमा रहेको डम्पिङ साइटमा फोहोर फाल्न रोकियो । 

डम्पिङ साइटमा फोहोर फाल्न रोकिएपछि बनेपा नगरपालिकाले फोहोर सङ्कलन गर्न निजी निकायसँग ठेक्का सम्झौता ग-यो । त्यसपछि पहिलो विकल्पका रूपमा निजी कम्पनीले नै सिसडोल र बन्चरेडाँडालाई रोजेका हुन् । 

नगरपालिकाले २०७४ देखि २०७८ सालसम्म तीनवटा कम्पनीसँग फोहोर व्यवस्थापन सम्झौता गरेको छ । २०७४ मा नेसनल वेस्ट म्यानेजमेन्ट एन्ड रिसाइक्लिङ सेन्टरसँग भएको सम्झौता आठ महिनामै तोडियो । त्यस लगत्तै २०७६ वैशाखमा ग्रिस पिस इन्भाइरोमेन्ट प्रालिसँग १० वर्षका लागि गरिएको सम्झौता पनि दुई वर्ष पनि टिकेन । 

२०७८ कात्तिकमा पाँच वर्षका लागि परिर्वतन सेवा प्रालिसँग नगरपालिकाले सम्झौता ग¥यो । त्यसयता सोही कम्पनीले सिसडोल र बन्चरेडाँडामा लगेर बनेपाको फोहोर विसर्जन गर्ने गरेको छ ।  बनेपा नगरपालिकाले डम्पिङ साइटको व्यवस्थापन नगरेका कारण त्यत्ति टाढासम्म फोहोर लैजानुपर्ने बाध्यता रहेको परिर्वतन नेपालका प्रमुख जगतप्रसाद उप्रेतीले बताउनुभयो । उहाँले सिसडोलको डम्पिङ साइट नेपाल सरकारले निर्माण गरेकाले अहिलेसम्म सम्झौताबारे जानकारी नभएको बताउनुभयो । उहाँले अरू नगरपालिकासँग सम्झौता गर्न आवश्यक परेमा आफूहरू तयार रहेको बताउनुभयो । 

उहाँले आगामी साउनबाट काठमाडौँ महानगरपालिकाले फोहोर वर्गीकृत गरेर मात्रै बन्चरेडाँडा र सिसडोल लैजान पाउने सूचना जारी गरेकाले बनेपामा फोहोर वर्गीकृत नगरे साउनबाट बनेपाको फोहोर लान सक्ने अवस्था नहुने बताउनुभयो । उहाँले यसको जानकारी बनेपा नगरपालिकालाई गराइसकेको भन्दै बनेपामै डम्पिङ साइट भइदिएको भए आफूहरूलाई निकै सजिलो हुने बताउनुभयो । 

फोहोर व्यवस्थापनको जिम्मेवारी स्थानीय सरकारको भए पनि निजी कम्पनीलाई फोहोर सङ्कलनको जिम्मेवारी दिएर नगरपालिका पन्छिन खोजेको स्थानीयले आरोप लगाउँछन् । स्थानीय रिजन खड्काले यस्तो काम नगरपालिकाले नै गर्नुपर्ने बताउनुभयो । 

गुनासोमा फोहोर सङ्कलन गरेबापतको शुल्क पनि जोडिएको छ । पछिल्लो समय सम्झौता गरेको कम्पनीले बनेपामा फोहोर सङ्कलन गरेबापत प्रतिघर न्यूनतम १५० देखि सात हजार रुपियाँसम्म उठाउने गरेको छ । कम्पनीले बनेपाका बासिन्दासँग मासिक करिब सात लाख रुपियाँसम्म उठाउँछ ।  प्रमुख शाक्यले नगरभित्र फोहोर व्यवस्थापन नहुँदा फोहोर विसर्जन र ढुवानीबापत बाध्यात्मक परिस्थितिमा नगरवासीसँग केही दस्तुर उठाउने गरेको बताउनुभयो ।

फोहोर व्यवस्थापन मात्रै नभएर यसको दीर्घकालीन व्यवस्थापन गर्न र फोहोरबाटै आम्दानी कसरी निकाल्न सकिन्छ भन्नेतर्फ आफूहरू केन्द्रित रहेको उहाँले बताउनुभयो । नगरपालिकासँग व्यवस्थापनका लागि साधन पनि नभएका होइनन् । एउटा टिप्पर, दुईवटा ट्याक्टर र २३ जना सफाइका कर्मचारी अहिले निजी कम्पनीका लागि दिइएको छ ।


Author

केशवराज पौडेल-केदार तिमल्सिना