• २ भदौ २०८२, सोमबार

ओलम्पिक विवाद पेचिलो बन्दै

blog

काठमाडौँ, साउन २८ गते । सरकारले संघीय संसद् ध्रुबबहादुर प्रधानको संयोजकत्वमा नौ सदस्यीय नेपाल ओलम्पिक कमिटी (एनओसी) को तदर्थ कमिटी गठन गरेपछि ओलम्पिक विवाद पेचिलो बनेको छ । 

युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले प्रधानमन्त्री केपी शर्मा ओलीकोसमेत निर्देशनमा मङ्गलबार प्रधानको अध्यक्षतामा एनओसीको तदर्थ कमिटी गठन गरेपछि ओलम्पिक विवाद थप पेचिलो बनेको हो । 

तदर्थ कमिटीमा एनओसीमा आबद्ध २३ वटा राष्ट्रिय खेल सङ्घको आवद्धता रहेको बताईएको छ । प्रधान एनओसीका पूर्व अध्यक्ष समेत हुनुहुन्छ ।

यसअघि जीवनराम श्रेष्ठको अध्यक्षतामा रहेको नेपाल ओलम्पिक कमिटीलाई सरकारले अवैधानिक रहेको भन्दै मान्यता नदिने जिकिर गर्दै आएको थियो। श्रेष्ठले एनओसीको दुई कार्यकाल अध्यक्ष बन्न पाउने विधान संशोधन गरी निर्वाचनमार्फत तेस्रो कार्यकालका लागि अध्यक्ष चुनिनुभएको थियो ।

दुई साताअघि पनि खेलकुद मन्त्री चौधरीले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्रीको निर्देशनमा ओलम्पिकको तदर्थ कमिटी गठन हुने बताउनुभएको थियो ।

मङ्गलबार राति विज्ञप्ति जारी गर्दै प्रधानको अध्यक्षतामा रहेको एनओसीले नेपालमा ओलम्पिक गतिविधि सञ्चालन गर्ने प्रवक्ता समिम मियाँ अन्सारीद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । प्रवक्ता अन्सारीले एनओसीकै लेटरप्याडमा विज्ञप्ति जारी गर्नुभएको थियो । 

सरकारले एनओसीको तदर्थ कमिटी गठन गरेसँगै जीवनराम श्रेष्ठको एनओसीलले भने प्रधानको अध्यक्षतामा गठन भएको तदर्थ कमिटीप्रति आफ्नो गम्भीर ध्यानाकषर्ण भएको जनाएको छ ।

श्रेष्ठको कमिटीलाई अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) र ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) को मान्यता रहेको छ । श्रेष्ठ नेतृत्वको एनओसीले बुधबार विज्ञप्ति जारी गर्दै अनधिकृत व्यक्तिहरुको भेलाले एनओसीको तदर्थ कमिटी गठन गर्न नसक्ने पनि जनाएको छ । 

एनओसीका महासचिव राजिव श्रेष्ठद्वारा जारी विज्ञप्तीमा भनिएको छ,‘‘ एनओसीको लेटरप्याड, ओलम्पिक रिङ्ग, लोगो र ओलम्पिक झण्डाको प्रयोग एनओसीको सम्पति हो । त्यसको प्रयोगको अधिकार अरु कसैलाई छैन । त्यसकारण एनओसीको लेटरप्याड रिङ्ग, लोगो र ओलम्पिक झण्डाको अनधिकृत रुपमा प्रयोग नगर्न सम्बन्धित सबैलाई सूचित गर्दछौँ ।’’