• १६ चैत २०८०, शुक्रबार

देश आर्थिक सङ्कटमा फँस्दैगएको छ : अध्यक्ष निरौला

blog

लक्की चौधरी

काठमाडौं, असार ९ गते । नेपाल समाजवादी काँग्रेसका अध्यक्ष गोविन्द निरौलाले मुलुकमा आर्थिक उत्पादनसँगै बजारीकरण गर्न नसक्दासम्म देश आर्थिक सङ्कटमा परिरहने बताउनुभएको छ । देशलाई आत्मनिर्भर बनाउन नसक्ने हो भने मुलुकको आर्थिक अवस्था भयावह हुने चेतावनी उहाँले दिनुभयो । 

अध्यक्ष निरौलाले केही पत्रकारसँग बिहीबार यहाँ छलफल गर्नुहुँदै सो चेतावनी दिनुभयो । नेपाली राजनीतिक दलका नेतृत्वलाई विदेशी शक्तिले खरिद गरी आफ्नो इसारामा चलाउँदैआएको र नेपाली श्रम शक्तिलाई समेत खरिद गरी विदेश पलायन गरेकाले मुलुकको आर्थिक अवस्था डरलाग्दो हुँदैगएको उहाँको भनाइ छ । 

“देशबाट करिब ४० लाख युवालाई विभिन्न प्रलोभनमा विदेश लगिएको छ, यहाँको श्रम शक्ति बाहिरिएपछि मुलुकको श्रमशक्ति खोक्रो हुँदैगएको छ” अध्यक्ष निरौलाले भन्नुभयो, “छिमेकी देशले हाम्रो राजनीतिक शक्ति र युवा शक्तिलाई खरिद गर्नेगरेका छन्, हामी बिक्ने गरेका छौं ।”

मुलुकमा आर्थिक सङ्कट आउनुको अर्को मुख्य कारण ‘भ्रष्टाचार’ भएको बताउनुहुँदै अध्यक्ष निरौलाले भ्रष्टाचारले देशको आर्थिक अवस्थालाई भयावह बनाएको बताउनुभयो । पाँच रुपियाँको सिफारिस लिन पनि सरकारी निकायमा कमिसन खुवाउनुपर्ने नागरिकको बाध्यता भएको र पैसा लिएर नागरिकता वितरण गर्ने काम झन् डरलाग्दो भएको उहाँले बताउनुभयो । मुलुकमा विद्यमान देखाइएको नागरिकताको समस्याले देशमा थप भ्रष्टाचार बढाउने उहाँले दाबी गर्नुभयो ।

मुलुकको संरक्षणका लागि समाजवादी अर्थतन्त्रको खाँचो भएको बताउनुहुँदै अध्यक्ष निरौलाले भन्नुभयो, “भारत र चीनबीच बाहिर देखिदा दुश्मनीजस्तो देखिन्छ तर स्वार्थ मिल्दा दुवै एकै ठाउँमा आउँछन् । नेपाल त्यसमा सजग हुनुपर्छ ।” चीन र भारत छिमेकी मुलुक भएप नि असल मित्र हुन नसकेको उहाँले टिप्पणी गर्नुभयो ।

बाह्य देशले नेपालमा शान्ति होस् भन्ने नचाहेको दाबी गर्नुहुँदै अध्यक्ष निरौलाले भन्नुभयो, “तत्कालीन राजा वीरेन्द्रले नेपाललाई शान्ति क्षेत्र बनाउन खोजे त्यसैले उहाँको हत्या गरियो ।” शक्ति केन्द्रले नेपाललाई युद्ध मैदान बनाउन चाहेको विभिन्न घटनाक्रमले पुष्टि गर्दैआएको उहाँको भनाइ छ । 

अहिले मुलुकमा महँगी दिन दुगुना र रात चौगुनाले बढ्दै गएको र यस्तै अवस्था कायम रहे मुलुकभित्र गृहयुद्ध हुनसक्ने आशङ्का गर्नुहुँदै अध्यक्ष निरौलाले थप्नुभयो, “हाम्रा राजनीतिक दलका नेतृत्वहरु आफ्नो स्वार्थमा लिप्त भएपछि देश अलमलमा परेको छ, यसको निकासको बाटो देखिन छाडेको छ ।” नेपालले प्रजातन्त्रको ४८ वर्ष र लोकतन्त्र प्राप्तिको १६ वर्ष बितासक्दासमेत आर्थिक उत्पादनको स्पष्ट दिशा नदेखिनु देश आर्थिक सङ्कटमा पर्दैगएको सङ्केत मिल्नेगरेको उहाँको भनाइ छ । 

मुलुकको आर्थिक रुपान्तरणका लागि जनता नै जाग्न आवश्यक रहेको बताउनुहुँदै अध्यक्ष निरौलाले सञ्चार माध्यमलाई पनि त्यस बारेमा सचेत हुन आग्रह गर्नुभयो । नेपाली मिडियाले चाहेमा नागरिकलाई देशको आर्थिक सङ्कटबारे सुसूचित गराउँदै रुपान्तरणमा भूमिका खेल्न सक्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । देश आर्थिक सङ्कटमा फस्दै गएकाले आगामी दिनमा आफ्नो पार्टीले त्यसबारे देशव्यापी अभियान सञ्चालन गर्ने उहाँले बताउनुभयो । 

मुलुकको रुपान्तरणका लागि २०७० चैत २५ गते आफ्नो दल गठन भएको भए पनि पार्टीको उद्देश्य र लक्ष्यबारे नागरिकमाझ अझै जान नसकिएको चर्चा गर्नुहुँदै अध्यक्ष निरौलाले आगामी दिनमा देशव्यापी अभियान मार्फत् देशको आर्थिक सङ्कटको अवस्थाबारे नागरिकलाई जानकारी गराउने बताउनुभयो । समयमै सजग हुन नसके देश आर्थिक सङ्कटमा फँस्ने उहाँले टिप्पणी गर्नुभयो ।