• २५ साउन २०८२, आइतबार

खोलाले बगाएर बेपत्ता भएका युवाको शव फेला

blog

हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), साउन २५ गते ।
मुस्ताङको कोभाङ फेदी जङ्गलमा च्याउ टिप्न जाने क्रममा धुम्बा खोलाले बगाएको एक युवा बेपत्ता भएका छन् । घरपझोङ गाउँपालिका–५ फेन्ताङस्थित इको ब्रो कृषि फर्ममा काम गर्ने बागलुङ जिल्ला निसीखोला गाउँपालिका–६, घर भएका २३ वर्षीय हिमाल विकको बगाएको स्थानबाट करिब ५ किलोमिटर तल हिलोमा बगरमा आधा शरीर गडेको अवस्थामा शव फेला परेको प्रहरी निरीक्षक विकास खत्रीले बताउनुभयो ।

शुक्रबार दिउँसो ४ बजे बेपत्ता हुनुभएका विकको नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको इन्द्र बक्स गण जोमसोमको टोलीले खोजीकार्यको क्रममा शनिबार दिउँसो शव भेटिएपछि पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जोमसोमबाट आइतबार आफन्तलाई शव बुझाइने जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

विगत ६ महिनादेखि फार्ममा कार्यरत विककी श्रीमतिसहित पाँच जनाको समूहमा च्याउ टिप्न जाने क्रममा साँझ बेपत्ता भएपछि प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाको नेतृत्वमा खोजी कार्यका लागि घटनास्थलमा पुगेको थियो । च्याउ टिप्न गएका अन्य चार जना भने सकुशल छन् ।