खेमराज सापकोटा
रानी, साउन २३ । कोशी प्रदेशका भौतिक पूर्वाधार विकास तथा स्वास्थ्यमन्त्री भूपेन्द्र राईले शुक्रबार विराटनगरस्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट डिजिटल भुक्तानी (क्यूआर) सेवाको औपचारिक शुभारम्भ गर्नुभएको छ । यससँगै प्रदेशको सरकारी कार्यालयमा पहिलोपटक डिजिटल भुक्तानी प्रणाली लागू भएको छ ।
मन्त्री राईले डिजिटल भुक्तानीलाई सुशासन र पारदर्शिता कायम गर्ने प्रभावकारी माध्यम भन्दै अबको समय डिजिटल, सुशासन र पारदर्शिताको भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट डिजिटल प्रणालीमार्फत छिटो, छरितो र सजिलो भुक्तानीको सुरुवात गरेका छौं । अब चाँडै सबै प्रादेशिक अस्पतालमा यो प्रणाली लागू गरेर नागरिकलाई सहज र सरल तरिकाले सेवा प्रवाह गर्नेछौं ।”
यसअघि सेवाग्राहीबाट राजस्व सङ्कलनमा नगद मात्र प्रयोग हुँदै आएकोमा अब क्यूआर प्रणाली लागू भएपछि घरमै बसेर सेवा लिन सकिने र कर्मचारी–सेवाग्राही प्रत्यक्ष सम्पर्क घट्ने भएकाले सुशासनमा टेवा पुग्ने विश्वास लिइएको छ ।
गत आर्थिक वर्षमा प्रयोगशालाले २ करोड २६ लाख ६२ हजार ९७५ रुपियाँ बराबरको कारोबार गरेको थियो ।