धर्बेन्द्र झा
जनकपुरधाम, साउन २३ गते । मधेश प्रदेशका खेलकुद तथा समाजकल्याण मन्त्री प्रमोद जयसवालले मधेश प्रदेशको मानव सूचकाङ्कको अवस्था ठिक नरहेको भन्दै सुधारका लागि सबैको साझा प्रयास आवश्यक रहेको बताउनुभएको छ ।
मधेश प्रदेशको राजधानी जनकपुरधाममा बिहीबार संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्याकोष (यूएनएफपिए)को अर्धवार्षिक समिक्षा कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले भौगोलिक दृष्टिकोणले सुगम रहेको मधेश प्रदेशको मानव सूचकाङ्कको अवस्था हेर्दा नाक खुम्चियाएर बस्नु पर्ने अवस्था रहेको भन्दै यस अवस्थाको सुधार गर्नु हामी सबैको दायित्व रहेको बताउनुभयो ।
उहाँले मधेश प्रदेशमा सामाजिक कुरितीको रुपमा रहेको दाइजो प्रथा र बालविवाह अन्त्यका लागि प्रदेश सरकारले ऐन कानुन निमार्ण गर्नुको साथ साथै विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको भन्दै यस कार्यमा विकास साझेदार संस्थाहरुको योगदान पनि महत्त्वपूर्ण रहेको बताउनुभयो । समाजिक विकासको क्षेत्रमा हामी सबैको योगदान हुनु जरुरी रहेको भन्दै मन्त्री जयसवालले अमानवीय जिवन जीउन बाध्य भएकाहरुका लागि प्रदेश सरकारले कार्यक्रमहरु सञ्चालन गर्ने बताउनुभयो ।
उहाँले पूवाधारको क्षेत्रमा काम गरेर मात्रै समृद्धि हासिल नहुने भन्दै समाज रुपान्तरणका लागि समाजमा पिछडिएका, पिल्सिएका र विभेदमा परेका समुदायका लागि कामकाज गर्नुपर्ने बेला आएको बताउनुभयो । उहाँले केही व्यवस्थाक कमजोरीका कारण आज भोली आमनागरिकमा निराशा बढेको भन्दै प्रश्नचिन्ह खडा गर्नु उचित नभएको बताउनुभयो ।
उहाँले देशमा सङ्घीयता आएपछि शिक्षा, स्वास्थ्यसहितको क्षेत्रमा व्यापक सुधार भएको भन्दै अझैै सुधारका लागि तीनै तहका जनप्रतिनिधिहरुले इमानदारित पूर्वक कामकाज गर्नु पर्नेमा जोड दिनुभयो । संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्याकोष मधेश प्रदेशका प्रमुख नरेन्द्र मिश्रको उपस्थितिमा भएको उक्त समीक्षा कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रालयका सचिव डा. प्रमोद यादव, खेलकुद तथा समाजकल्याण मन्त्रालयका सचिव रंजित कुमार यादव सहितकाले अधारभूत स्वास्थ्य सेवा स्थानीयतहको जिम्मेवारीमा रहेकाले स्थानीय जनप्रतिनिधिहरुले यस तर्फ ध्यान दिनु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषले सन् २०२५ को छ महिनामा मधेश प्रदेशको १७ वटा पालिकामा विभिन्न संघसंस्था मार्फत गरेका कामकाजको उपलब्धी र आगामी दिनमा गरिने कामकाजको कार्ययोजनाको विषयमा सहभागिहरु सँग छलफल गरेका थिए ।