• २१ साउन २०८२, बुधबार

अकबरे खुर्सानीका कृषक पुनलाई बजारको चिन्ता

blog

अकबरे खुर्सानी बारी । तस्बिर : गोरखापत्र

प्रनिश गिरी

कुश्मा (पर्वत) साउन, २१ गते । विदेशबाट फर्किएर आफ्नै माटोमा श्रम र पसीना खर्चिएका जिल्लाको बनौं गाउँका एक युवा कृषकलाई अकबरे खुर्सानीले बजार पाउन नसकेपछि चिन्ता परेको छ । 

जीवनका उर्जाशील समय खाडीमा कष्टसाध्य जीवन बिताएका पर्वतको जलजला गाउँपालिका–९ का निर्मल पुनमगर गाउँमै केही गर्नुपर्छ भनी फर्किनुभएका युवा हुनुहुन्छ । 

रोजगारीका लागि करिब दश वर्ष साउदी, ओमान र कतारमा करीब दश वर्ष बिताएका ४४ वर्षीय पुनले सुन्तलाको बगैँचाभित्र अन्तरेबालीको रुपमा अकबरे जातको खुर्सानी खेती गर्नुभएको हो । 

कृषक पुनले ६ सय बोट सुन्तलाको बगैँचाभित्र अन्तरे बालीको रुपमा लगाएको अकबरे खुर्सानी लटरम्म फलेको छ तर बजारमा विक्री भने धेरै भएको छैन । हुर्कदै गरेको सुन्तला बगैँचाको खाली जमिन सदुपयोग गर्न लगाएको अकबरे खुर्सानी विक्री नभई कुहिएर झर्छ कि भन्ने पिरलोले कृषक पुनलाई सताएको छ । 

तत्काल बजार नपाउने पिरलो हटाउन कृषक पुनले खुर्सानीबाट स्थानीय स्वादमा व्यावसायिक अचार उत्पादन गर्ने सोचमा हुनुहुन्छ । गत वर्ष परीक्षणका लागि लगाएको ९० बोट खुर्सानीबाट ३० हजार रुपियाँ आम्दानी भएको थियो । 

यस वर्ष भने कृषक पुनले १२ हजार खुर्सानीका बेर्ना लगाउनुभएको छ । समुद्री सतहदेखि करिब १७ सय मिटर उचाइको बनौमा खुर्सानी खेतीको परीक्षण सफल भएपछि आफैँ बिउ उत्पादन गरेर व्यवसाय शुरु गरेको पुनको भनाइ छ ।

खुर्सानी फलेको देख्दा खुशी भएका पुनले बजार नपाउँदाको दुःखेसो पोख्दै भन्नुभयो, ‘‘खुर्सानी फलेको देख्दा खुशी भएर के गर्नु ? बजार छैन । कुहिएर जान्छ कि भन्ने डर छ । खुर्सानीबाट स्थानीय स्वादको अचार बनाउने सोचमा छु ।’’

विदेशमा सोचेजस्तो आम्दानी नभएपछि जन्मथलो फर्किएका कृषक पुनले निकिता एकीकृत कृषि तथा पशुपंक्षी फर्म खोलेर सुन्तला, खुर्सानीका साथै व्यावसायिक तरकारीखेती र कुखुरापालन गर्नुभएको छ । 

गाउँमा पहिलोपटक अकबरे खुर्सानीको व्यावसायिक उत्पादनमा लागेका कृषक पुनले खुर्सानीको बोटभन्दा अन्य भागको जमिनमा झार पलाउन नदिन प्लास्टिकले छोपेर मल्चिङ गर्नुभएको छ । मल्चिङ विधिबाट खेती गर्दा झार नपलाउने र बिरुवा छिटो हुर्कने, छिटो र गुणस्तरीय फल लाग्ने गर्छ । 

कृषक पुनको फर्ममा उत्पादन भएको अकबरे कुश्मा, बेनी र बागलुङमा प्रतिकिलो तीन सय रुपियाँका दरले केही मात्रामा बिक्री हुन थालेको छ । हालसम्म दुई सय किलोग्राम खुर्सानी बिक्री भइसकेको छ । 

खुर्सानी खेतीमा श्रीमती माया पुनको साथ र सहयोग पाउनुभएका पुनले विदेशमा धेरै दुःख पाएर पनि भनेजस्तो आम्दानी पाउन नसकेपछि स्वदेशमै परिवारका साथ बसेर काम गर्न गाउँ फर्किएको बताउनुहुन्छ । 

जलजला–९ का वडा अध्यक्ष गौबहादुर पुनले कृषक पुनलाई रहेको खुर्सानी विक्री गर्न बजारको समस्यालाई वडाले सहजीकरण गर्ने बताउनुहुन्छ ।

जलजला गाउँपालिकाले मिनिटेलर हलो, मल्चिङका साथै खुर्सानीमा लागेको रोग नियन्त्रणमा सहयोग गरेको वडा अध्यक्ष पुनले बताउनुभयो । यातायातको सुविधा रहेको बनौं गाउँ आलु, सुन्तला, किवी साथै सत्तुवा खेतीका लागि ख्याति चलेको स्थान हो ।