जनार्जन खत्री
सर्लाही, साउन २० गते । सर्लाहीको लालबन्दी नगरपालिका –३, जब्दी भैरवपुर र ईश्वरपुर नगरपालिका –८, रामपुरलाई जोड्ने फूलजोर खोला पुलमा फेरि समस्या आएको छ । सोमबार रातिको भारी वर्षापछि पुलको जब्दीतर्फको भागमा पहुँच सडक (एपरोज रोड) बगाएपछि समस्या भएको हो । सडकमा ठुलो खाल्डो परेर गिट्टी, बालुवा बगाएपछि मङ्गलबार बिहानदेखि चार पाङ्ग्रे सवारी साधन वारपार गर्न सकेको छैन ।
साइकल, मोटरसाइकल र टेम्पु भने जोमिम मोलेरै वारपार गरिरहेको स्थानीयको भनाइ छ । जब्दीको यो पुल रामपुरतर्फको भागमा भ्वाङ परेपछि महिनौँसम्म पुलबाट सवारी साधन आउजाउ बन्द गरिएको थियो ।
रामपुरतर्फको भागमा भर्खरै जाली भरेर भ्वाङ टाल्ने काम गरी सवारीसाधन आउजाउ गर्ने व्यवस्था मिलाइएकोमा वर्षाले जब्दीतर्फको भागमा क्षति गरेपछि समस्या भएको लालबन्दी –४ का वडाध्यक्ष वुद्धदेव चौधरीले जानकारी दिनुभयो । फूलजोर पुलको निर्माण कार्य पूरा भइ सके पनि पहुँच सडक भने कालोपत्रे हुन सकेको छैन ।
सडक डिभिजन चन्द्रनिगाहपुरले पहुँच सडक कालोपत्रे गर्न ठेक्का लगाए पनि निर्माण व्यवसायीले मनोमानी गरी कालोपत्रेमा बेवास्ता गर्दै आइरहेका छन् । वडाध्यक्ष चौधरीका अनुसार सडक डिभिजन चन्द्रनिगाहपुरका प्रमुख अरुणकुमारलाल कर्णलाई जानकारी गराएपछि निर्माण व्यवसायी आएर बुधबारदेखि नै सडकको खाल्डो पुरेर मर्मतको काम गर्ने प्रतिवद्धता जनाएका छन् ।
ठेकेदारले यसअघि पनि बारम्बार यसैगरी झुक्याउने काम गरेकाले बुधबारबाट नै काम हुनेमा शङ्का रहेको वडाध्यक्ष चौधरीको भनाइ छ । जब्दीमा पक्की पुल बने पनि पुलसँग जोडिएको पहुँच सडक निर्माण नहुँदा दुःख पाएको सर्वसाधारणले गुनासो गरेका छन् ।