• २१ साउन २०८२, बुधबार

बागलुङ नगरपालिका सम्मानित

blog

सम्मान ग्रहण गर्दै बागलुङ नगरपालिका नगर प्रमुख वसन्तकुमार श्रेष्ठ र प्रमुख प्रशासकिय अधिकृत हरिदत्त कडेल । तस्बिर : गोरखापत्र

नवराज नेपाली 

बागलुङ (गलकोट), साउन २१ गते । न्यूजिप परियोजना अन्तर्गतको काममा गरेको प्रगतिले बागलुङ नगरपालिका सम्मानित भएको छ । 

विश्व बैँकको आर्थिक सहयोगमा बागलुङ नगरपालिकामा सञ्चालन भएको सडक पूर्वाधारको काममा उल्लेख्य प्रगति गर्न सहजीकरण गरेको भन्दै नगरपालिकालाई सहरी विकास मन्त्रालयले सम्मन्न गरेको हो ।

उक्त परियोजना अन्तर्गत बागलुङ नगरपालिका–१, गणेशघुम्तीदेखि निरयघाटसम्म १.६२ किलोमिटर, ओडारचौर–ढोडेनी खण्ड २.१४ किलोमिटर मूलपानी–कालीमाटी–तितौरे ८.५६ किलोमिटर सडक कालोपत्रेको काम सुरु भएको थियो । 

२०८१ को जेठमा सम्झौता भई काम सुरु भएको उक्त परियोजनामा अहिले ८१ प्रतिशत भौतिक प्रगति र ७९.२५ प्रतिशत वित्तीय प्रगति भएको छ । अन्य ठाउँहरूको तुलनामा बागलुङमा छिटो र गुणस्तरीय काम गरेको आधारमा मन्त्रालयले नगरपालिकालाई सम्मान गरेको नगर प्रमुख वसन्तकुमार श्रेष्ठले बताउनुभयो । 

‘‘विश्व बैँकको सहयोगमा सञ्चालित न्यूजिप परियोजनाका योजनाहरू देशका विभिन्न ठाउँमा सञ्चालनमा रहेका छन् । उहाँले भन्नुभयो, ‘‘यो परियोजना अन्तर्गतको योजनाहरू बागलुङमा उदाहरणीय रूपमा कार्यान्वयन गर्न सकेको भन्दै मन्त्रालयले हामीलाई सम्मान गरेको छ ।’’ 

बागलुङमा सञ्चालन गरिएको सडक परियोजनाका प्रगति उल्लेखनीय भएको उनले बताए । गणेशघुम्ती निरयघाट सडक सम्पन्न भैकेको छ भने ओडारचौर ढोडेनी सकड विद्युत् प्राधिकरणले पोल सार्न ढिलाई गरेका कारण केही काम बाँकी रहेको निर्माण कम्पनी आशिष फेवाका इन्जिनियर मनोज शर्माले बताए ।

मूलपानी, कालिमाटी तितौरे सडक भने कालोपत्रेको काम गर्न बाँकी रहेको छ । काम गर्दा गर्दै वर्षा सुरु भएपछि काम गर्न नसकिएको र वर्षा रोकिनासाथ काम सुरु हुने उनले बताए । 

उक्त परियोजना सम्पन्न गर्नका लागि अगामी पुस मसान्तसम्मको समयावधि थपिएको छ । उक्त तीन वटा सडक परियोजना सम्पन्न गर्नका ४९ करोड २२ लाख रुपियाँमा ठेक्का सम्झौता भएको थियो ।