गोरखापत्र समाचारदाता
ललितपुर, साउन २१ गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले एमाले विधान महाधिवेशनबाट थप बलियो बन्ने उल्लेख गर्नुभएको छ । विधान महाधिवेशनमा पार्टीभित्र नमिलेको कुरामा बहस छलफल हुँदै ‘एक मन एकता’ बोकेर मिसन–८४ मा होमिने पोखरेलले दाबी गर्नुभयो ।
एमाले केन्द्रीय कार्यालय, च्यासलमा मङ्गलबार प्रचार विभागको बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले जोत्नुअघि हलोका सबै पुर्जामा किलाकाँटा ठोकेर मजबुत बनाएर खेतमा गए जस्तै एमालेको विधान महाधिवेशनले सबै कुरामा बहस गरेर एकताका साथमा मिसन–८४ मा जाने उल्लेख गर्नुभयो । एमालेले अघि सारेको ‘समृद्धि नेपाल, सुखी नेपाली’ को अभिभारा पूरा गर्ने दायित्व बोकेर नेता कार्यकर्ता मिसन–८४ मा होमिने उहाँले बताउनुभयो ।
विधान महाधिवेशनपछि मिसन–८४ लक्ष्यमा एमाले अघि बढ्ने र पार्टीभित्र मिल्न नसकेका विषय मिलाएर एक लय एक सुरले पार्टी अघि बढ्ने महासचिवले बैठकलाई जानकारी गराएको बैठकमा सहभागी प्रेस चौतारीका पूर्वअध्यक्ष गणेश बस्नेतले बताउनुभयो । पार्टीको विधान महाधिवेशनमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरणको विषयले प्रवेश नपाउने महासचिव पोखरेलले उल्लेख गर्नुभएको छ ।
महासचिव पोखरेलले राजनीतिक निर्णयद्वारा यो विषय स्थगित भइसकेकाले अब फेरि यो विषयमा कतै छलफल नहुने स्पष्ट पार्नुभयो । पार्टीको केन्द्रीय कमिटीको बैठकले निर्णय नै गरिसकेपछि अब यो कुरा उठाउनु पर्दैन भन्ने कुरा सबैले बुझिसकेको उहाँले बताउनुभयो । “जसले यो विषय उठाउनुभएको थियो, उहाँहरूले त्यो कुरा बिस्तारै महसुस गर्नुहोला, सम्माननीय पूर्वराष्ट्रपतिले पनि महसुस गर्नुहुन्छ भन्ने विश्वास छ,” पोखरेलले भन्नुभयो ।
महासचिव पोखरेलले संवैधानिक राष्ट्रपतिको परिकल्पना गरिएको मुलुकमा राष्ट्रपति सम्मानित र विवादमुक्त हुनु पर्छ भन्ने मान्यता राखिएको उहाँले उल्लेख गर्नुभयो । पोखरेलले त्यस्तो व्यक्ति पदबाट बिदा हुँदा पनि विशिष्ट नै रहनु पर्छ भन्ने मान्यतामा पार्टी अडिग रहेको बताउनुभयो ।
एमाले प्रचार विभागका प्रमुख राजेन्द्र गौतमको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा प्राप्त सुझावका आधारमा विधान महाधिवेशनका सम्पूर्ण प्रचार योजना बनाउन सात सदस्यीय कार्यदललाई जिम्मा दिइएको छ । कार्यदलमा गणेश बस्नेत, श्रीधर आचार्य, गणेश पाण्डे, विश्वमणि सुवेदी, चेतन अधिकारी, महेन्द्र श्रेष्ठ र दीपक ज्ञवाली हुनुहुन्छ ।