- गोरखापत्रको पहिलो अङ्कको शीर्ष भागमै ‘श्री’ अर्थात् मङ्गल, धनधान्य, सम्पत्ति, लक्ष्मी भन्ने अर्थ लाग्ने ‘श्री’ शब्दको चयन गरिएको छ । भगवान् पशुपतिनाथलाई पनि ‘श्री’ शब्दले सम्बोधन गर्ने चलन छ । पशुपतिनाथको मन्दिर भन्नु परे ‘श्रीको मन्दिर’ भन्ने चलन यद्यपि पशुपतिनाथ मन्दिरका पुजारी, भँडारी, बिसेट, रैरकमी र भक्तजनहरूमा छ ।
- सुन्नेलाई पनि आश्चर्य लाग्न सक्छ गोरखापत्र ५५ वर्षको पट्ठो हुँदासम्म पनि आफ्नो जन्म कहिले भएको हो भन्ने विषयमा अनभिज्ञ थियो । धन्न कमलमणि दीक्षित जस्ता नेपाली भाषा–साहित्यका अन्वेषकको खोजीनितीले विसं १९५८ वैशाख २४ गते गोरखापत्रको पहिलो अङ्क प्रकाशित भएको पत्तो लाग्यो । यसैले हो गोरखापत्रका पुराना सम्पादक प्रेमराज पौड्यालले त्यो कुरा थाहा पाउनासाथ कमलमणि दीक्षितलाई गोरखापत्रको पुरेत भनी घोषणा गरिदिनुभएको थियो रे ।
नेपाली भाषा, साहित्य, कला, धर्म, संस्कृतिको संरक्षण, संवर्धन एवं प्रवर्धनमा गोरखापत्रको अतुलनीय भूमिका रहेको कुरा घाम जत्तिकै टड्कारो छ भन्नमा कुनै अत्युक्ति छैन । विसं १९५८ वैशाख २४ गते सोमबारदेखि श्री ३ महाराज देवशमशेरको आदेशानुसार साप्ताहिक रूपमा प्रकाशन सुरु भएको गोरखापत्रले झन्डै १२३ वर्षको इतिहास रचेर १२४ बर्सौंमा हिँडिरहेको छ । यस्तो सौभाग्य थोरैले पाउँछन् । आफूभन्दा अगाडि जन्मेको दर्ता नं. १ भएको शारदा अनेक प्रयत्नका बिच, कैयौँ साहित्यकार, रचनाकारहरूको होस्टेको हैँसेको साथ रहँदारहँदै पनि २९ वर्ष (विसं १९९१–२०२०) को अल्पायुमै बन्द गर्नुपर्ने अवस्थामा पुग्यो । नेपाल संवत् १९५८ ज्येष्ठ वदी ३ रोज २ तदनुसार १९५८ साल वैशाख २४ गते सोमबारदेखि प्रकाशन प्रारम्भ भएको साप्ताहिक ‘गोर्खापत्र’ नेपालको पहिलो समाचारपत्रका रूपमा इतिहास रच्न सफल भएको छ । गोरखापत्रले द्विसाप्ताहिक तथा त्रिसाप्ताहिकका सिँढी उक्लँदै उक्लँदै बाउन्न हन्डर त्रिपन्न घुस्सा खाँदै भने जसो गरी १२४ वर्षको पाको उमेरमा पुगेको छ भन्नै पर्छ ।
गोरखापत्र नेपालको सामाजिक, राजनीतिक, आर्थिकलगायत सम्पूर्ण क्षेत्रमा भएका घटनाको साक्षी पनि हो । गोरखापत्रको नामकरण कसरी भयो भन्ने प्रश्न र कौतूहलता यसको पहिलो अङ्कले मेटिदिएको छ । धेरैले अनुमान गर्ने गर्छन् प्रसिद्ध सिद्ध, अवतारी पुरुष ‘गोरखनाथ’ को नामबाट ‘गोरखापत्र’ नाम रहेको होला भनेर । गोरखापत्रको पहिलो अङ्कको ‘श्रीगणेशाय नमः’ शीर्षकमा लेखिएको छ, “जसको नामका सम्बन्धले हामीहरू गोर्खाली कहिएका छौँ, उनै गोरखकालीहरूको सम्झना गरी यो अखबारको प्रारम्भ गर्दछौँ ।”
आफ्नो प्रकाशनको प्रारम्भदेखि विसं १९९१ वैशाख ८ गतेसम्म हप्ताको एक दिन सोमबार र त्यसपछि विसं २००१ असोजसम्म बुधबार प्रकाशन हुन थाल्यो । पछि साताको दुई-तीन पटक हुँदै बल्ल विसं २०१७ साल फागुन ७ गतेबाट दैनिक भएको हो । सरकारको छत्रछहारी र हरेक प्रकारको आडभरोसा हुँदाहुँदै पनि दैनिक हुन झन्डै ५९ वर्ष प्रतीक्षा गर्नु पर्याे । अहिले गएर त यो नेपालको गौरवशाली सम्पदा बन्न पुगेको छ । कुनै समय नेपाल भन्नु नै गोरखापत्र र गोरखापत्र भन्नु नै नेपाल जस्तो थियो । यसो किन भन्नु परेको हो भने नेपालभरिको समाचार फिजाउने यही गोरखापत्र थियो । सरकारको सैनिक एवं निजामती सेवाको सरुवा, बढुवा, घटुवा आदि जे जति कामकाज हुन्छन् त्यो छापिने मुखपत्र पनि गोरखापत्र नै थियो र छ ।
नेपालमा विसं १९९४ सालदेखि पत्रपत्रिकाको दर्ता सुरु भएपछि पहिलो पटक ‘शारदा’ मासिक पत्रिका दर्ता भयो । विसं १९९५ वैशाख २४ गतेबाट दर्ता नं. ०२ सहित प्रकाशन हुन थालेको गोरखापत्र दर्ता नम्बरमा दोस्रो भए पनि समाचारपत्र एवं हुलाकमा दर्ता हुने नेपालको पहिलो समाचारपत्र बनेर रहेको छ ।
गोरखापत्र विसं १९६९ बाट सर्वप्रथम बिजुलीबाट चल्ने मेसिनबाट छापिन थाल्यो । सुरुमा ‘गोर्खापत्र’ को नामबाट प्रकाशित भए पनि विसं १९८३ जेठ ४ गतेदेखि ‘गोरखापत्र’ को नामबाट छापिन थालियो । तात्कालिक राजा ज्ञानेन्द्र शाहको शासनकालमा पुनः ‘गोर्खापत्र’ को नामबाट प्रकाशन विसं २०६३ वैशाख १८ बाट ‘गोरखापत्र’ नै लेख्न थालियो र यही नामबाट यसले आफ्नो प्रसिद्धि प्राप्त गर्न सफल भएको छ ।
गोरखापत्र नेपालको जेठो समाचारपत्र मात्र नभईकन नेपालमा फोटो पत्रकारिताको सुरुवातकर्ता पनि हो । विसं १९८४ वैशाख १३ गते गोरखापत्रमा पहिलो पटक सर्वसाधारणको तस्बिर छापिएको थियो । श्री चन्द्र कामधेनु चर्खाद्वारा धागो कातिरहेकी वीरगन्जकी १२ वर्षीय सूर्यमती श्रेष्ठनीको तस्बिर छापिएको दिनलाई नै आधार मानेर करिब दुई दशकदेखि प्रत्येक वर्षको वैशाख १३ गतेलाई राष्ट्रिय फोटो पत्रकारिता दिवसका रूपमा मनाइने गरिएको छ ।
गोरखापत्रका प्रथम तालुकवाला (व्यवस्थापक) पण्डित नरदेव पाण्डे हुन् । सुरुमा सम्पादकको नाम लेखिने चलन थिएन ।
विसं १९९१ जेठ ५ गते गोरखापत्रमा पहिलो पटक सम्पादक ‘प्रेमराज’ भनी प्रकाशन भएको देखिन्छ । विसं २०१२ भदौ १२ गतेबाट गोरखापत्रमा ‘प्रधान सम्पादक’ को व्यवस्था भयो । पहिलो प्रधान सम्पादक बन्ने सौभाग्य नाटक सम्राट् बालकृष्ण समलाई मिलेको थियो ।
विसं २००० बाट काठमाडौँमा गोरखापत्रको आफ्नो समाचारदाता राख्ने प्रचलन सुरु भयो । नेपाली पत्रकारिताको इतिहासमा सन्ध्याकालीन समाचार दिने श्रेय पनि गोरखापत्रलाई नै जान्छ तर यो लामो समयसम्म चल्न सकेन । विसं २०१९ कात्तिक २ देखि असोज २२ गतेसम्म बिहान र साँझ गरी एकै दिनमा गोरखापत्र दुई पटक प्रकाशन हुने गरेको थियो ।
राणा प्रधानमन्त्री जङ्गबहादुर राणा बेलायत भ्रमणमा गएको बखत उतैबाट विसं १९०८ सालमा ल्याएको प्रेस, जसलाई पछि ‘गिद्धे प्रेस’ भनी नामकरण गरियो, त्यसै प्रेसबाट गोरखापत्रको प्रकाशन सुुरु भएको हो । विसं २०३८ देखि गोरखापत्र पूरै वेब अफसेट मेसिनबाट छपाइ सुरु हुन गई आधुनिक युगमा प्रवेश ग¥यो भने हुन्छ । समाचारपत्रको दुनियाँमा नेपालमा रङ्गीन कलेवरका समाचारपत्रको प्रकाशन हुँदै गएपछि प्रतिस्पर्धामा नगई नहुने स्थितिहरू देखिँदै जाँदा विसं २०५९ असार १० बाट गोरखापत्र रङ्गीन कलेवरमा छापिन थाल्यो ।
प्रतिस्पर्धी बन्दै गइरहेको दैनिकले १० वर्षअगाडि नै आफूलाई रङ्गीन कलेवरमा जनसमक्ष प्रस्तुत गरिरहँदा र आफू उही श्यामश्वेतमा छापिनु पर्दा कति पीडाबोध भएको होला ! गोरखापत्रका पाठक र समाजमै पनि त्यसको कस्तो नकारात्मक असर परेको हुँदो हो महसुस गर्न सकिन्छ ।
सुन्नेलाई पनि आश्चर्य लाग्न सक्छ गोरखापत्र ५५ वर्षको पट्ठो हुँदासम्म पनि आफ्नो जन्म कहिले भएको हो भन्ने विषयमा अनभिज्ञ थियो । धन्न कमलमणि दीक्षित जस्ता नेपाली भाषा–साहित्यका अन्वेषकको खोजीनितीले विसं १९५८ वैशाख २४ गते गोरखापत्रको पहिलो अङ्क प्रकाशित भएको पत्तो लाग्यो । यसैले हो गोरखापत्रका पुराना सम्पादक प्रेमराज पौड्यालले त्यो कुरा थाहा पाउनासाथ कमलमणि दीक्षितलाई गोरखापत्रको पुरेत भनी घोषणा गरिदिनुभएको थियो रे ।
पुरेतै भइसकेपछि कर्म त गर्नै पर्यो । उहाँले नामुद ज्योतिषी प्रा. मङ्गलराज जोशीबाट गोरखापत्रको जन्मकुण्डली नै तयार पारिदिनुभयो । त्यति मात्रै होइन गोरखापत्रको भविष्य कस्तो छ ? भन्ने प्रश्नमा ज्योतिषी मङ्गलराज जोशीले ‘चिरञ्जीवी हुन्छ यो, अकालमा मर्दैन’ भनेर भविष्यवाणीसमेत गरिदिनुभएको रहेछ ।
यसरी गोरखापत्रको पहिलो अङ्कमा उल्लेख गरिएको ‘नेपाल संवत् १९५८ मिति ज्येष्ठ वदी ३ सोमबार’ भनेको २४ वैशाख १९५८ तदनुसार सन् १९०१ मे ६ तारिखमा गोरखापत्रको पहिलो प्रकाशन भएको वास्तविकता थाहा भयो । विक्रम संवत्लाई त्यतिखेर नेपाल संवत् भन्ने चलन रहेछ भन्ने कुरा पनि यसले देखाइदिएको छ । त्यसअघिका कुनै कुनै सरकारी कागजात र अभिलेखमा श्रीसंवत्, संवत् मात्रैले पनि विक्रम संवत्लाई सम्बोधन गरिने चलन थियो ।
गोरखापत्रको नेपालको संस्कृतिको संवर्धनमा कस्तो योगदान रहेको होला भन्ने जिज्ञासालाई मेट्न पहिलो अङ्कलाई ओल्टाइपल्टाई हेर्ने र पढ्ने हो भने के कस्तो संस्कार बसाल्न खोजिएको रहेछ त्यो बुझ्न गाह्रो पर्दैन ।
गोरखापत्रको पहिलो अङ्कको शीर्ष भागमै ‘श्री’ अर्थात् मङ्गल, धनधान्य, सम्पत्ति, लक्ष्मी भन्ने अर्थ लाग्ने ‘श्री’ शब्दको चयन गरिएको छ । भगवान् पशुपतिनाथलाई पनि ‘श्री’ शब्दले सम्बोधन गर्ने चलन छ । पशुपतिनाथको मन्दिर भन्नु परे ‘श्रीको मन्दिर’ भन्ने चलन यद्यपि पशुपतिनाथ मन्दिरका पुजारी, भँडारी, बिसेट, रैरकमी र भक्तजनहरूमा छ ।
निधारमै गणेशको चिटिक्क परेको मूर्तिले आफ्नो र पाठकहरू सबैको मङ्गल कामना गर्न खोजिएको प्रतीत हुन्छ । यद्यपि पछि गएर गणेशका विविध रूप छापिएका छन् । अहिले त गणेशको चित्र नै त्यो शीर्ष स्थानमा छैन । पहिलो अङ्कमा विघ्नविनाशक गणेशको तस्बिरमुनि “सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः । सर्वे भद्राणि पश्यन्तु मा कश्चित दुःख भाग्जनः” भनेर “निरोगी सबै हुन् सबै हुन् सुखिया, सबै बेस देखून् नहुन् क्वै दुखिया” भनेर नेपाली परम्परा र धर्म–संस्कृतिको निचोडलाई आत्मसात् गरिएको कुरा मननीय छ ।
देश–विदेशको समाचार, विभिन्न विद्वान्–विदुषीहरूको समसामयिक र समयसापेक्ष लेखरचनाहरूका साथै सिकारुलाई लेख्न प्रोत्साहन गर्ने गरी अनेक शीर्षकमा लेखरचना तथा व्यापार, उद्योग एवं जनसरोकारसँग सम्बन्धित सरकारी सूचना र विज्ञापन छापिने गरेका कारण गोरखापत्र विद्वान्, विदुषी, शिक्षित–अशिक्षित, साधारण नागरिकलगायत सबैको अपनत्व प्राप्त गरेर १२४ वर्षदेखि सेवामा निरन्तर जुटिरहेको छ । यस अर्थमा साँच्चै भन्ने हो भने गोरखापत्र नेपालको मूर्त सम्पदा हो ।
गोरखापत्र अनेक कालखण्डको साक्षी बनेर पनि रहेको छ । नेपाली पत्रकारिताको जेठो अभिभावक बनेर इतिहास रचेको छ । यसभित्र समेटिएर रहेका अनेकौँ सरसामग्रीहरूलाई व्यवस्थित ढङ्गले कसैले खोजीनिती गरेर अध्ययन अनुसन्धान गर्ने हो भने कैयौँ विद्यावारिधिका शोधपत्र लेखिन सक्छन्, अनेकौँ शीर्षकका पुस्तकहरू तयार हुन सक्छन् । खोजी पसे गोरखापत्रभित्र यस्ता अनेकौँ सामग्रीरूपी रत्नहरू छन् ।
नेपाली समाजमा कालो कलङ्क बनेर रहेको सतीप्रथाको अन्त्य गर्न तात्कालिक प्रधानमन्त्री चन्द्रशमशेरले विसं १९७७ असार २५ गतेका दिन ऐन जारी गरी सतीप्रथालाई पूर्ण रूपले प्रतिबन्ध लगाएका थिए । त्यही ऐनमा सती जान उक्साउने र जिउँदो नारीलाई चितामा जल्न मद्दत गर्नेलाई ज्यानमाराको सजाय हुने व्यवस्था गरिएको थियो । सतीप्रथा निर्मूल गर्ने घोषणालाई गोरखापत्रले प्रमुखतासाथ छापेको छ ।
त्यसै गरी अर्को कलङ्कका रूपमा युगौँदेखि नेपाली समाजमा रहेको दासप्रथालाई पनि उनै चन्द्रशमशेरले विसं १९८२ वैशाख १ गते अन्त गरेको घोषणा गरे । ती दुवै सुधारवादी कार्य नेपालको इतिहासमा एक कोसेढुङ्गासरह क्रान्तिकारी कदम बन्न पुग्यो । त्यसबारे समाचार गोरखापत्रले दिन पाउँदा खुसी व्यक्त गरेको छ ।
गोरखापत्रले नेपालको विभिन्न जाति एवं समुदायमा सम्पन्न हुने चाडपर्व, उत्सव, जात्राहरूलाई सुरुदेखि नै प्राथमिकतामा राखेको पाइन्छ । यसैले चन्द्रग्रहण होस् कि सूर्यग्रहण, शिवरात्रि, इन्द्रजात्रा, बोडेको जात्रा, जंको, कुमारयात्रा, त्रिशूलयात्रा, माघेयात्रा, गुह्येश्वरीयात्रा, धनेश्वरयात्रा, नवदुर्गानाच, वत्सलेश्वरीयात्रा, कुमारीपूजा, सिठी नखः आदिको समाचार बनेर तिनको महत्व र उपादेयतालाई उजागर गरेका छन् । हो, सञ्चारको असुविधा भएको बखत यस्ता समाचारहरू काठमाडौँ खाल्डोकै ज्यादात्तर देखिन्छन् । पहाड, हिमाल, तराईको समाचारहरूमा केही न्यूनता पाइन्छ । सञ्चारको सुविधाको अभिवृद्धिसँगै भने यस्ता समाचार कुनै ठाउँ विशेषमा मात्रै सीमित नरही विस्तार हुँदै गएको गोरखापत्रका अनेक अङ्कहरू त्यसका साक्षी छन् ।
गोरखापत्रले विसं २०१९ असार ९ देखि शनिबारीय परिशिष्टाङ्कको सुरुवात ग¥यो । शनिवारीय परिशिष्टाङ्कमा हुने लेखरचनाहरू इतिहास, संस्कृति, पुरातत्व, चाडबाड एवं परम्पराहरूको विषयमा रहने गरेकाले त्यसले कुनै न कुनै रूपले नेपालको संस्कृतिको संवर्धनमा योगदान दिएको कुरालाई बिर्सन सकिन्न । त्यसो त नवरात्रि, शिवरात्रि, दीपावली, बुद्धपूर्णिमा एवं समावेशी ढङ्गले अरू धर्म र सम्प्रदायका विशेष पर्व तथा उत्सवको विषयमा पनि लेखरचनाहरू प्रकाशित हुने गरेका कारण समग्र रूपमा गोरखापत्रको संस्कृति प्रवर्धनका क्षेत्रमा हुने गरेको योगदान प्रशंसनीय मान्नु पर्छ ।
म त भन्छु, गोरखापत्रमा प्रकाशित भएका संस्कृति, सम्पदा र परम्परासँग जोडिएका महìवपूर्ण लेखरचनालाई एक ठाउँमा सङ्ग्रह गरेर प्रकाशित गर्न सकियो भने त्यसबाट धेरै जना लाभान्वित हुने निश्चित छ । यसअघि विसं २०५८ मा एक सय वर्षका १०१ कथा, एक सय वर्षका २०१ कथा भनेर गोरखापत्रमा उहिलेदेखि छापिँदै आएका सामग्रीलाई सङ्ग्रह गरेर गतिलो कृतिहरू गोरखापत्र संस्थानले प्रकाशित गरेको थियो । त्यसै गरी विसं २०६० मा गोरखापत्रका १०१ निबन्धसङ्ग्रह पनि प्रकाशित भएको सम्झना छ ।
बहुभाषिक पत्रकारिताको अभ्यास सुरु गरेर विश्व पत्रकारिताको इतिहासमा नै गोरखापत्रले नयाँ अभ्यास आरम्भ गरेको छ । विसं २०६४ असोज १ गतेबाट ‘नयाँ नेपाल’ शीर्षक अन्तर्गत नेपालमा बोलिने राष्ट्रभाषा (मातृभाषा) हरूको प्रकाशन सुरु गरी नेपालमा प्रचलित विभिन्न भाषाका समाचार सामग्री मात्रै प्रकाशित हुँदै आइरहेको होइन कि उनीहरूको परम्परागत विशेषताका साथै संस्कृति, भाषा, साहित्य, रहनसहन, वेशभूषा, खानपान आदिको विषयमा लेखिएका लेखरचना र आलेखहरूलाई स्थान दिएर आआफ्नो मातृभाषाको उत्थान र प्रवर्धनका लागि गोरखापत्रले होस्टेमा हैँसे गरेको कार्यलाई उल्लेखनीय मान्नु पर्छ ।
यसो भए तापनि कतिपय सन्दर्भमा गोरखापत्रको विगतको साख जोगाउन नसकेको, जनमुखी हुनुपर्नेमा सत्तामुखी बन्न खोजेको अपजस गोरखापत्रले पाउँदै आएको जगजाहेर नै छ । काम गर्नेले नै अपजस पाउने हुन् । सरकारी स्वामित्वको कारणले पनि होला गोरखापत्रले चाहेर पनि जनअपेक्षालाई पूरा गर्न सक्दैन । छापिएका समाचार, प्रस्तुत भएका विचार र दृष्टिकोणका कारण बेलाबखत शासनसत्ताको विभाजनको सिकार हुने गरेको यथार्थता पनि आफ्नो ठाउँमा छ । जे होस्, ‘चरैवेती चरैवेती’ को दर्शनलाई अँगालेर गोरखापत्रले समाज, राष्ट्र र मानवताका लागि दिनुपर्ने अनेकथरी योगदान दिन पछि पर्नुहुन्न, विश्वसनीयतालाई आदर्श बनाएर, समयानुकूल परिवर्तनलाई आत्मसात् गर्दै, विकासका लागि पत्रकारिता हुनु पर्छ भन्ने मूल मन्त्रलाई ग्रहण गरी अगाडि बढिरहनु पर्छ, थाक्ने र चिन्तामा डुब्ने अवसर छैन भन्ने सम्झन सके आगामी दिन अरू उज्ज्वल र दिव्य हुँदै जाने छ भन्ने कामना हृदयदेखि नै गर्छु ।
लेखक वरिष्ठ संस्कृतिविद् हुनुहुन्छ ।
प्रस्तुत आलेख ‘संस्कृति प्रवर्धनमा गोरखापत्र ’ गोरखापत्र प्रकाशनको १२५ वर्ष प्रवेश अर्थात् शताब्दी रजतका अवसरमा २०८२ वैशाख २४ गते विमोचित ‘युगसाक्षी’ मा प्रकाशित भएको हो । यस आलेखको सर्वाधिकार गोरखापत्र संस्थानमा छ ।