- बहुभाषिक नेपालको सरकारी पत्रिका गोरखापत्रले ‘नयाँ नेपाल’ पृष्ठ सुरुमा छ वटा भाषाबाट सुरु भई यही मङ्सिर २८ सम्ममा ४५ वटा भाषामा मातृभाषाका सामग्री प्रकाशन गरी समावेशीकरणमा एउटा उदाहरणीय काम गरेको छ । भाषाको मानकीकरणका लागि पत्रपत्रिकामा भाषा प्रयोग हुँदै यसले भाषाको मानक स्वरूपलाई मातृभाषी वक्तासम्म पुर्याउने काम गरेको छ ।
- धेरै समयसम्म राज्यमा एक भाषा नीति रहेका कारण घर घरमा सीमित भाषा लगभग लोपोन्मुख अवस्थामा पुगिसकेका कारण सकेसम्म सबै मातृभाषामा गोरखापत्रको पहुँच पु¥याउने दिशामा गोरखापत्रको पाइला भाषाको मानकीकरणको उल्लेखनीय खुड्किलो बनेको छ ।
परिचय
नेपालको इतिहासमा १२४ वर्षको इतिहास बोकेको ‘गोरखापत्र’ नेपाली भाषाको पहिलो समाचारपत्र हो । नेपाली भाषाको विकासका लागि महत्त्वपूर्ण खुड्किलो मानिएको ‘गोरखापत्र’ राणाकालका सुधारवादी प्रधानमन्त्री देवशमशेरको कार्यकालमा सुरु भएको हो । नरदेव मोतीकृष्णको सम्पादकत्वमा विसं १९५८ वैशाख २४ गते पहिलो प्रकाशन भएको थियो । गोरखापत्रको प्रकाशनले सुस्त गतिमा हिँडेको नेपाली भाषाको विकासलाई तीव्रता दिनुका साथै आधुनिक युगमा प्रवेश गरायो । गोरखापत्रमा नेपाली भाषा प्रयोग हुनु भनेको भाषा मानकीकृत हुनमा एउटा खुड्किलो उक्लिनु हो अर्थात् स्तरीकरणको प्रक्रियामा पुग्नु हो । करिब एक हजार वर्षदेखि अभिलेख, शिलालेख, ताम्रपत्र आदिको लेखन कार्यमा प्रयोग भएको नेपाली भाषा हो । नेपाल बाइसे चौबिसे राज्यमा विभाजन हुँदा ती राज्यका नागरिक भाषाका वक्ताहरू आपसमा बर्सौं भेट भएनन् । फलस्वरूप नेपाली भाषामा अनेक भेद देखिए । गोरखाका राजा पृथ्वीनारायण शाहको नेपाल एकीकरणको अभियानसँगै गोरखामा बोलिने नेपालीको भेद नेपालभरि पुग्यो । पृथ्वीनारायण शाह आफैँ लेखक भएकाले उनले पनि नेपालीमा दिव्योपदेश लेख्नुभयो । त्यही भाषा गोरखापत्रसम्म पनि आइपुग्यो र नेपालीको त्यही भेदलाई नेपाल सरकारले मानकीकरण गर्यो । ‘गोरखापत्र’ ले नेपाली भाषाको प्रयोग क्षेत्रलाई व्यापक बनाउनुका साथै विकास गर्यो ।
विसं २०६४ देखि सुरु भएको ‘नयाँ नेपाल’ पृष्ठमार्फत गोरखापत्रले नेपालका मातृभाषाको विकास गर्ने क्रम थालेको छ । यो क्रममा मङ्सिर २८, २०८१ मा ‘वाम्बुले राई’ भाषा थपिएर ४५ वटा भाषा गोरखापत्रको माध्यम भाषा बनेर भाषा विकासको कार्य थालनी गरेको छ । नेपालका भाषा मात्रै होइन, गोरखापत्र आफैँमा पनि सुरुदेखि विकास प्रक्रियामा अगाडि बढ्यो । प्रकाशनका सुरुवाती दिनमा साप्ताहिक रूपमा सोमबार प्रकाशित हुने ‘गोर्खापत्र’ १९९१ सालदेखि शुक्रबार प्रकाशित हुन थाल्यो । विसं २००० असोज २९ देखि गोरखापत्र साप्ताहिकबाट अर्धसाप्ताहिक रूपमा मङ्गलबार र शुक्रबार प्रकाशन हुन थाल्यो । राजा महेन्द्रका पालामा २०१७ फागुन ७ देखि गोरखापत्र दैनिक प्रकाशन हुन थाल्यो । गोरखापत्र प्रकाशन सुरु भएदेखि अहिलेसम्म पनि निरन्तर प्रकाशन भएर यो देशको जेठो जीवित पत्रिका बनेको छ र भाषा विकासमा कीर्तिमानी थपिरहेको छ ।
भाषाको मानकीकरण
जुनसुकै मातृभाषा जति ठुलो समुदायमा बोलिन्छ, त्यो समुदायमा ठाउँ अनुसारका वक्ताको बोलीमा फरक भेद देखा पर्छ । त्यस्ता भेद ऐतिहासिक, भौगोलिक र सामाजिक कारणले भाषामा देखिएका हुन्छन् । लेख्य रूप नभएका भाषामा ऐतिहासिक भेद भेटिँदैन तर सामाजिक र भौगोलिक भेद हुन्छन् । भाषामा जति धेरै भेद हुन्छन्, भाषामा त्यति नै जीवन्तता हुन्छ । भाषाले सामाजिक, सांस्कृतिक कार्यसम्पादन गर्ने हुनाले यस्ता भेद समाज अनुसारका देखिनु स्वाभाविक हो । भाषाको मानकीकरण गर्नु भनेको एउटा भाषामा भएका तिनै अनेक भेदमध्येको एउटा भेदलाई लेख्य रूप दिनु हो । भाषा मानकीकरण एकातिर भाषाको विकास हो भने अर्कातिर त्यही भाषाका अमानक भेदको विनाश पनि हो । मानकीकरण गर्नु भनेको भाषाका अनेक रूपलाई एकरूपता प्रदान गर्नु र भाषाको त्यो भेदलाई लेख्य रूप दिनु, पठनपाठनमा प्रयोग गर्नु, पत्रपत्रिका प्रकाशन गर्नु अर्थात् भाषालाई विकास गर्नु र स्तरीकरण गर्नु हो । कुनै पनि भाषाको एउटा भेदको मानकीकरण गर्दा त्यही भाषाको अर्को भेदको जीवन्तता घट्न थाल्छ किनभने ती भेदप्रति जनचासो र वास्ता घट्न थाल्छ । भाषा मानकीकरण गर्नु भनेको एक किसिमले भाषिक शक्तिको निर्धारण गर्नु हो । एउटा भेदको शक्ति बढाउनु र अरू भेदको शक्ति सीमित गर्नु पनि हो अर्थात् मानकीकरण भनेको एकातिर भाषाको एउटा केन्द्रीय भेदको विकास हो भने त्यही भाषाका अरू भेदलाई सीमान्तकृत गर्नु पनि हो । मानक भाषा मान्छेले बोल्ने भाषाभन्दा फरक तरिकाले स्तरीय बनाइएको हुन्छ । भाषाको एकरूपीकरणका काम भाषा विकास गर्ने संस्थाले गर्छ । मानकीकरण प्रक्रियामा भाषाको रोजिएको एउटा भेदमा वर्णमालाको विकास, वर्णविन्यासका नियम, शब्द चयन, व्याकरण व्यवस्था, नवशब्दावली आदिको काम गरी त्यो भाषाको सम्पूर्ण भेदबिच एकरूपीकरणको काम गरिन्छ । भाषा एकरूपीकरण गरेर नै त्यो भाषामा संस्थाहरूमा चिठीपत्र आदानप्रदान गरिन्छ । त्यसैले भाषा मानकीकरण गर्नु भनेको भाषाको एउटा रूपलाई संस्थागत गर्नु पनि हो । भाषाको त्यही संस्थागत रूपलाई साहित्य, पत्रपत्रिका, सरकारी कार्यालय, विद्यालय विश्वविद्यालय, विदेशीलाई सिकाउने काममा प्रयोग गरिन्छ (Crystal, 2008) । त्यसैले मानक भाषामा वर्णमाला, शब्दकोश, वर्णविन्यासका नियम, व्याकरणका नियम, नवशब्दकोश बनेका हुन्छन् । गोरखापत्र नेपालको सरकारी र आधिकारिक समाचारपत्र भएकाले यसले अहिलेसम्म नेपालका भाषाका ४५ वटा मानकीकृत भेदमा समाचारपत्र प्रकाशन गरेर भाषा मानकीकरणको कार्य पूरा गर्न सघाएको छ ।
भाषा मानकीकरणमा गोरखापत्र
करिब एक हजार वर्षअघि अभिलेख लेख्ने काममा नेपाली भाषा प्रयोग भएको थियो । अहिलेसम्मको प्रामाणिक अभिलेख भनेर चिनिएको विसं ११५१ को वामुखड्काको दुल्लुस्थित शिलालेखको त्यो स्वरूप नेपाली भाषाको हो (खनाल, २०६८) । भाषा मानकीकरण हुँदा लिने लेख्य रूप लिएको धेरै समयपछिसम्म पनि शिलालेख, ताम्रपत्र, भोजपत्रमा मात्रै लेखिने नेपाली भाषा गोरखाका राजा पृथ्वीनारायण शाहको विजययात्रासँगै नेपाली साहित्यमा प्रयोग हुन थाल्यो । पृथ्वीनारायण शाह आफैँले पनि नेपालीको त्यही भेदमा दिव्योपदेश लेखे (पोखरेल, २०१९) ।
यो पत्रिकाले ‘गोर्खापत्र’ नाम पाउनुमा पनि यो भाषा गोरखाबाट सुरु भएका कारणले नै हो भन्ने बुझिन्छ । नेपाली भाषा कहिले ‘खस भाषा’ त कहिले ‘पर्वते भाषा’ को नाम पाउँदै ‘गोर्खा भाषा’ कै नामले त्यतिबेला चिनिन्थ्यो (पोखरेल, २०६९) । त्यही कारण हो, त्यतिबेला पत्रपत्रिकाका नाम ‘गोर्खा भारत जीवन’, ‘गोर्खे खवर कागत’, ‘गोर्खापत्र’ राखिए । भारतको कोलकाताबाट ऐटन (Ayton, 1820) ले नेपाली भाषाको व्याकरण लेखेपछि ‘गोर्खा भाषा’ को नाम नेपाली भाषा भयो । त्यसपछि जहाँ जहाँ ‘गोर्खा भाषा’ नाम थिए, तिनको नाम परिवर्तन गरी ‘नेपाली भाषा’ राखिए । नेपाली भाषाको एकरूपतालाई ध्यानमा राखी विसं १९७० मा स्थापना भएको ‘गोरखा भाषा प्रकाशिनि समिति’ विसं १९९१ मा ‘नेपाली भाषा प्रकाशन समितिमा’ मा परिणत भयो तर ‘गोर्खापत्र’ भने ‘गोरखापत्र’ (बन्धु, २०५७) बन्यो ‘नेपाली पत्र’ बनेन । नेपाली भाषाको एकरूपीकरणमा गोरखापत्रको महत्त्वपूर्ण भूमिकाको सुरुवात नामबाटै भयो ।
नेपालमा राणा शासनका समयमा नेपालमा लेख्ने र छाप्ने वातावरण नभएका बेला भारतको बनारसमा बसेका नेपालीले नेपाली भाषा साहित्यको विकास गरे । कवि मोतीराम भट्टको अगुवाइमा नेपाली भाषाको साहित्यमा अनेक सिर्जनासहित विसं १९५३ मा नेपाली भाषाको पहिलो पत्रिका ‘गोर्खा भारत जीवन’ प्रकाशन भयो र नेपाली भाषाको जेठो पत्रिका हुने श्रेय पायो । नेपालबाट विसं १९५५ मा प्रकाशित ‘सुधासागर’ (देवकोटा, २०५९) नेपाली भूमिको पहिलो पत्रिकाको जानकारी भए पनि यसको एउटा प्रकाशन पनि अहिले भेटिँदैन । दार्जिलिङबाट ‘गोर्खे खबर कागत्’ नामक नेपाली समाचारपत्र सन् १९०१ जनवरी १ का दिन अर्थात् विसं १९५७ पुस १८ मङ्गलबारदेखि मासिक रूपमा प्रकाशित भएको जानकारी पाइन्छ । सम्पादक पादरी गङ्गाप्रसाद प्रधानको सम्पादकत्वमा प्रकाशित त्यस पत्रिका उनको जीवनकालसम्म मात्र प्रकाशन भयो (नरेन्द्रराज प्रसाई, २०११) । यी पत्रिकाहरू प्रकाशन समयका हिसाबले ‘गोर्खापत्र’ भन्दा केही जेठा भए पनि विसं १९५८ वैशाख २४ देखि आजसम्म साप्ताहिकबाट अर्धसाप्ताहिक हुँदै दैनिक पत्रिकाका रूपमा निरन्तर प्रकाशन भइराखेकाले गोरखापत्रलाई नेपाली भाषाको जेठो जीवित पत्रिका भन्न सकिन्छ ।
‘गोर्खापत्र’ प्रकाशनका समयमा नेपाली भाषामा अभिलेख, साहित्य लेखिएका थिए तर तिनमा एकरूपताको अभाव भने छँदै थियो । भाषा जस्तो बोलिन्छ, त्यस्तै साहित्यमा लेखिन्थ्यो । यसरी हेर्दा नेपाली भाषा बोलचालको भाषा जसरी व्यक्ति अनुसार फरक हुन्थ्यो र त्यस्तै फरक लेखाइमा पनि देखिन्थ्यो । ‘गोर्खापत्र’ निरन्तर प्रकाशनमा आउँदा नेपाली भाषाको लेखनमा देखिने अनेकरूपताले पाठक अलमल्याउने काम गर्यो । अब भने गोरखापत्र प्रकाशनका लागि भाषाको मानक स्वरूप निर्धारण गरी एकरूपता दिन आवश्यक पर्यो । नेपालीमा लेखिएका सामग्री देवनागरी लिपिमा थिए । देवनागरीमा विकास भएको नेपाली भाषा ‘गोरखापत्र’ को पनि माध्यम बन्यो । नेपाली भाषाका लागि लिपीकरणको काम भइसकेकाले व्याकरणको एकरूपताको काम सुरु भयो । व्याकरणिक एकरूपताका लागि नेपालीमा व्याकरण लेखिन थाले । वीरेन्द्रकेसरी अर्याल (खरेल, २०५८), राममणि आदि (नेपाल, २०४९), जयपृथ्वीबहादुर सिंह (१९६९), हेमराज पण्डित (१९६९), सोमनाथ सिग्द्याल (१९७६) जस्ता विद्वान् व्याकरण बनाउने काममा लागे । नेपालीमा भएका हलन्त शब्दको विवादलाई समाधान दिने प्रयासमा हलन्तवादी र हलन्त बहिष्कारवादी दुई मतमा देखिए । वीरेन्द्रकेसरी अर्याल हलन्तवादी थिए भने राममणि आदि हलन्त बहिष्कारवादी थिए । जयपृथ्वीबहादुर सिंहले हलन्तवादी अर्यालको समर्थन गरे र जयपृथ्वीबहादुर सिंह गोरखापत्रका सम्पादक हुँदा ‘गोर्खापत्र’ ले हलन्तवादी मान्यता अवलम्बन ग¥यो (बन्धु, २०५७) । ‘गोर्खापत्र’ को पहिलो प्रकाशनमा देखिने ‘धन्, हात्, अज्ञान्, दिल्’ जस्ता शब्दमा अर्याल र आचार्यको मत फरक भयो । यी दुई पक्षको विवादको बिचबाट उठेर हेमराज पण्डित (१९६९) ले ‘चन्द्रिका व्याकरण’ मार्फत मध्यमार्गी बाटो निर्माण गरे र त्यसपछि गोरखापत्रले पण्डितकै नियम अनुसरण गरेर नेपाली भाषाको हलन्तको विवाद समाधानतर्फ लग्यो ।
आधारभूत रूपमा ‘गोर्खापत्र’ समाचारपत्र थियो तर त्यसमा घटेका घटना र राजनीतिक समाचार मात्र नभएर यसका अतिरिक्त कथा, उपन्यास, जीवनी, निबन्ध, नीति, आध्यात्मिक व्यवहार, चारित्रिक विषय, समाज सुधारका कुरा, महिला उत्थान, स्वास्थ्य, शिक्षालगायतका लेख प्रकाशित हुने गथ्र्याे । नेपाली भाषामा यी सामग्रीका साथै अनुवादका कार्य पनि भए र गोरखापत्रले विदेशी भाषाबाट नेपालीमा अनुवाद भएका रचनालाई पनि स्थान दियो । गोरखापत्रले गरेको यस्तो छपाइसम्बन्धी कामले नेपाली भाषाको स्तरीकरणको काम ग¥यो ।
राज्यका तर्फबाट संस्थागत रूपमा वर्णविन्यासको शुद्धाशुद्धिको कामका लागि नेपाली भाषा प्रकाशन समितिमार्फत ‘नेपाली कसरी शुद्ध लेख्ने वि.सं. १९९२’ (सम, १९९२) प्रकाशन भयो । यो सानो पुस्तिकाका आधारमा नेपाली भाषा प्रकाशन समितिले नेपाली भाषामा लेखिने सबै खालका लेखनको शुद्धाशुद्धि गरेर मात्र प्रकाशन गर्न अनुमति दिन्थ्यो (शर्मा, २०६०) । गोरखापत्रले पनि भाषिक नियम अनुसरण गर्यो । त्रिभुवन विश्वविद्यालयमा २०३०–३५ सालतिर नेपाली विषय अन्तर्गत अनुच्छेद लेखन, साहित्यिक सामग्रीका लागि गोरखापत्र पढाउने चलन थियो । नेपाली भाषाका लेखाइलाई नियमित गर्न त्रिभुवन विश्वविद्यालय पाठ्यव्रmम विकास केन्द्रले आयोजना गरेको नेपाली विषयका प्राध्यापकको बृहत् भेला र बैठकमा उठेका प्रस्ताव, प्रश्न, सुझाव र सल्लाहका आधारमा ‘अनिवार्य नेपाली शिक्षण निर्देशिका २०३६’ प्रकाशन भयो । नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानले ‘बृहत् नेपाली शब्दकोश २०४०’ प्रकाशन गर्यो ।
गोरखापत्र आफैँले बेला बेलामा गरेका गोष्ठी तथा भेलाले पनि गोरखापत्रको भाषाप्रतिको प्रतिबद्धता देखाउने काम गर्यो । विसं २०४४ मा ‘जनसञ्चारका माध्यम र नेपाली भाषा’ विषयक गोष्ठी गर्दै नेपाली लेखन र उच्चारणका समस्यामाथि विद्वान्को दृष्टि केन्द्रित गर्यो । नेपाली भाषाको स्तरीकरणका लागि यो कार्य अनुसरणीय रह्यो । नेपाली भाषामा बेला बेलामा समस्या र विवाद आइरहे । गोरखापत्रले त्यस्ता समस्यामा विद्वान्हरूको मत प्रकाशन गर्दै आफ्नो भूमिका निर्वाह गर्यो । वर्णविन्यासको फरक फरक प्रयोगसम्बन्धी समस्या समाधान गर्न नेपाल प्रज्ञा–प्रतिष्ठानले गरेको भाषा सङ्गोष्ठी (२०६७) आयोजना गर्यो । त्यसले नेपाली भाषाको वर्णविन्यासको नियममा ल्याएको परिवर्तनले नेपाली भाषामा फेरि नियमितताको खाँचो महसुस भयो । त्यसबेला नियम परिवर्तन र परिवर्तनको विरोधमा भएका लेखाइको मारमा नेपाली लेखन पर्यो । पत्रिका र विद्वान्का विचारले दोहोरी खेलेको त्यस समयमा नेपाली भाषामा देखिएका समस्या समाधानका निम्ति गोरखापत्रले चलाएको ‘भाषा–बहस’ को प्रकाशनले नेपालीको वर्णविन्यासमा उठेका समस्यामा समाधानको उपाय निकाल्न सहज भयो । गोरखापत्रले एउटा नियममा आबद्ध भएर वर्णविन्यास प्रयोग गर्दा त्यस समस्याको समाधान प्रयोगका माध्यमबाट निकाल्यो ।
गोरखापत्र सरकारी समाचारपत्र भएकाले ढिलोचाँडो नेपालभरिका सरकारी कार्यालय र नेपालबाहिरका दूतावासहरूमा पुग्यो । कार्यालयमा आउनेले गोरखापत्र पढ्न पाए । कतिपय सर्वसाधारण गोरखापत्र पढ्नका लागि पनि सरकारी कार्यालय पुगे अर्थात् मानक नेपालीको स्वरूपलाई नेपालभरि र नेपालबाहिरका नेपालीमाझ पुर्याउने काम गोरखापत्रले गर्यो । जहाँका नेपाली भए पनि नेपालीको शुद्ध रूपको खोजीका लागि गोरखापत्र उपयोग हुन थाल्यो ।
भाषा नीति तथा विकास योजना
नेपाली भाषाको मानकीकरणमा ‘गोरखापत्र’ को प्रकाशन महत्वपूर्ण रह्यो । तत्कालीन नेपाल सरकारको प्रयासमा भएको नेपालको पहिलो समाचारपत्र बनेर यसले पत्रकारितामा नेपाली भाषा योग्य छ भन्ने प्रमाणित गर्दै सय वर्षभन्दा बढीको इतिहास निर्माण गर्यो । यसका लागि नेपाल सरकारको भाषा नीतिले ठुलो भूमिका खेलेको छ । नेपालमा पहिलो संविधान २००४ सालमा मात्र लेखियो । त्यसभन्दा करिब ४६ वर्षअगाडिदेखि नै गोरखापत्र नेपालीमा प्रकाशन हुनुमा तत्कालीन राणा सरकारले अलिखित रूपमा लिएको भाषा नीतिले काम गरेको देखिन्छ (अर्याल, १९७४) । नेपालको प्रथम प्रजातान्त्रिक संविधान ‘नेपालको संविधान, २०१५’ मा नेपालको ‘राष्ट्रभाषा’ का रूपमा ‘देवनागरी लिपिमा लेखिएको नेपाली भाषा’ भनेपछि पत्रपत्रिकाको भाषाका रूपमा नेपाली भाषा नै मान्य ठहर्यो । नेपालको राजनीतिक परिवर्तनपछिको अर्को संविधान ‘नेपालको संविधान, २०१७’ पछि राज्यमा एक भाषा नीति स्पष्ट लागु भयो ।
नेपालको दोस्रो प्रजातान्त्रिक संविधान ‘नेपालको संविधान, २०४७’ ले नेपालमा भएका भाषाहरूलाई राष्ट्रभाषा र राष्ट्रिय भाषा गरी दुई भागमा विभाजन गरेर नेपालका भाषाहरूलाई पहिलो पटक सम्बोधन गर्यो र सबै भाषाको विकास गर्ने लक्ष्य पूरा गर्न भाषा योजनाका लागि अध्ययन अनुसन्धान कार्य गर्यो (नेम्वाङ, २०५०) । त्यही अध्ययन प्रतिवेदन अनुसार २०५३ सालमा त्रिभुवन विश्वविद्यालयमा ‘भाषाविज्ञान विभाग’ को स्थापनासहित सरकारी संस्थानमा मातृभाषाको पहुँच बढ्न थाल्यो । २०६२/६३ को राजनीतिक परिवर्तनपछि जारी ‘नेपालको अन्तरिम संविधान, २०६३’ ले नेपालका सबै भाषा ‘राष्ट्रिय भाषा’ हुन् भन्ने मान्यता राख्यो ।
यो संविधान लागु भएपछि नेपालका मातृभाषाहरूको विकासको कार्य द्रुतत्तर गतिमा अगि बढ्या । नेपाल सरकारमातहतमा भएका ‘त्रिभुवन विश्विद्यालय’ भाषाविज्ञान विभाग, ‘नेपाल प्रज्ञा–प्रतिष्ठान’ को ‘मातृभाषा विभाग’ ले मातृभाषाका क्षेत्रमा उल्लेखनीय काम गरे । जनजातिका उत्थानका लागि ‘आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान’ को स्थापना साथै नेपाल सरकारले मातृभाषाको सम्पूर्ण विकास गर्ने उद्देश्यले २०७३/०५/२३ को नेपाल सरकार (मन्त्रीपरिषद्) को बैठकले ‘भाषा आयोग’ को विधिवत् गठन गर्यो । ‘भाषा आयोग’ ले नेपालका मातृभाषाको अध्ययन अनुसन्धान गरी मातृभाषाको विकास गर्दै लेख्न, पढ्नयोग्य बनाउनका साथै मातृभाषालाई प्रविधिमैत्री बनाउनेतर्फको अध्ययनसमेत गर्दै सरकारी कामकाजका रूपमा प्रयोगयोग्य बनाउने जिम्मा पायो । नेपालका मातृभाषाहरूको वर्ण निर्धारण, लेख्य रूपको विकास गरेर उसले भाषालाई जोगाउने काम गर्यो । त्यसैका आधारमा आदिवासी जनजाति राष्ट्रिय प्रतिष्ठानले तिनै भाषाका विज्ञको सहयोगमा मातृभाषाका पाठ्यसामग्री विकास गर्यो । तिनै सामग्रीमा समाचार र साहित्यिक सामग्री पनि परे ।
राष्ट्रिय भाषा मानकीकरणमा ‘नयाँ नेपाल’
नेपाल बहुभाषिक मुलुक हो । पछिल्लो ‘जनगणना २०७८’ अनुसार नेपालमा बोलिने भाषाको सङ्ख्या १२४ रहेको छ । नेपालको बहुभाषिकतालाई पहिलो पटक ‘नेपालको संविधान, २०४७’ ले मात्र सम्बोधन गर्यो र नेपालमा भएका सबै राष्ट्रिय भाषाको विकास गर्ने उद्देश्य लिई सरकारलाई आवश्यक सुझाव दिनका लागि तिलविक्रम नेम्वाङको अध्यक्षतामा ११ सदस्यीय राष्ट्रिय ‘भाषा नीति सुझाउ आयोग, २०५०’ गठन गरियो । विसं २०५० जेठ १४ मा गठन भएको त्यो आयोगले २०५० चैतमा आफ्नो प्रतिवेदन तयार गर्यो (नेम्वाङ, २०५०) । आयोगको प्रतिवेदनमा उल्लेख गरिएका ‘राष्ट्रिय भाषाहरूको विकासका निम्ति भाषा–योजना तर्जुमा गरी तिनमा मानकको चयन, लेखन पद्धति (वर्णमाला, लिपि, हिज्जे) को निर्धारण, शब्दभण्डारको विकास, शब्दकोश र व्याकरणको निर्माणका साथै प्रयोग क्षेत्रको विस्तार (सञ्चार, प्रशासन आदिमा) का लागि कार्य गरिनु पर्ने’ तथा ‘रेडियो तथा टेलिभिजनमा विभिन्न विषयसँग सम्बन्धित सूचना, विज्ञापन आदि विषयमा पत्रपत्रिका र अन्य पाठ्यसामग्रीको प्रकाशनलाई विशेष ध्यान दिन आवश्यक छन् (नेम्वाङ, २०५०)’ जस्ता बुँदामा समावेश भए अनुसार सञ्चारमा राष्ट्रिय भाषाहरूको मानक रूपको पहुँच पुर्याउने कार्य सुरु भयो । यो कार्यले पूर्णता भने २०६२/६३ को लोकतान्त्रिक आन्दोलनपश्चात् नै पायो ।
समाजमा भएका एउटा भाषाका अनेक रूपमध्ये एउटा सर्वसम्मत रूपलाई छानेर मानकीकरण, स्तरीकरण र आधुनिकीकरणका प्रक्रियाद्वारा विकास गर्दै नेपालका केही राष्ट्रभाषालाई मानकीकरण गर्ने काममा नेपाल सरकारका आयोगहरू सक्रिय भए र त्यसको प्रतिफल भाषाका समाचार र अन्य पठनयोग्य सामग्री गोरखापत्रको ‘नयाँ नेपाल’ पृष्ठमा पुग्यो । आइपुगेको सामग्रीलाई गोरखापत्रका नवौँ तहका कर्मचारीको संयोजकत्वमा बनेको विज्ञ समूहद्वारा पृष्ठको बाहिरी स्वरूप दिँदै मातृभाषा पृष्ठको प्रकाशन भयो ।
‘नेपालको अन्तरिम संविधान, २०६३’ को ‘धारा ३’ को ‘छैटौँ संशोधन अनुरूप ‘विभिन्न राष्ट्रभाषाहरूमा टेलिभिजनको माध्यमद्वारा समाचार लगायतका कार्यक्रमहरू क्रमशः प्रसारित गर्दै जानुपर्ने’ कानुन सामावेश भयो । यसै अनुरूप गोरखापत्र ‘२०६४ साल साउन ४ गते’ संस्थानका सञ्चालक समितिको बैठक बसी त्यस बैठकको निर्णय अनुसार ‘नयाँ नेपाल’ पृष्ठमार्फत गोरखापत्रले समावेशी पृष्ठमा मातृभाषामा समाचार, साहित्य तथा मातृभाषा सामग्रीको प्रकाशन प्रारम्भ गर्यो (सलाम, २०७१) । गोरखापत्रले यो कामलाई निरन्तरता दिँदै आएको आज १७ वर्ष पुगिसकेको छ । सरकारी पहुँचमा नेपालका मातृभाषालाई पुर्याउने सरकारी नीति अनुसार गोरखापत्रको समावेशी पृष्ठमा प्रारम्भिक समयमा नेपाल भाषा, मैथिली भाषा, तामाङ भाषा, गुरुङ भाषा, मगर भाषा, राई भाषा, लिम्बू भाषा र थारू भाषा गरेर छ वटा भाषाका भाषापृष्ठको प्रकाशन भयो । बिस्तारै त्यसमा बाहिङ भाषा, बझाङी भाषा र ह्याल्मो भाषा समावेश भए र मातृभाषाको सङ्ख्या नौ वटा पुगे । यो क्रम बढेर मातृभाषा विकासका लागि ‘नयाँ नेपाल’ पृष्ठमा अरू मातृभाषा पनि थपिँदै जाँदा हाल ‘नेपाल भाषा, मगर, राई, तामाङ, लिम्बु, भोजपुरी, अवधी, थारू, गुरुङ, शेर्पा, बराम, उराँव, धिमाल, माझी, मैथिली, उर्दु, ताजपुरिया, किसान, दनुवार, जिरेल, मारवाडी, सुनुवार, थामी, बज्जिका, ल्होमी, राजवंशी, दराई, मगही, संस्कृत, चेपाङ, बान्तवा राई, मुगाल, मेचे, खस जुम्ली, डोटेली, अछामी, बाहिङ, ह्योल्मो, बझाङी, डडेलधुरेली, याक्खा, रानाथारू’ लगायत ४४ वटा पुगे । हालसालै यही २०८१ मङ्सिर २८ गते ‘वाम्बुले राई’ भाषाको प्रकाशन सुरु भएपछि गोरखापत्रको ‘नयाँ नेपाल’ पृष्ठमा प्रकाशन हुने मातृभाषाको सङ्ख्या अहिले ४५ वटा पुगेको छ । यसै गरी गोरखापत्र ‘नयाँ नेपाल’ पृष्ठका लागि बनेको समितिले प्रक्रिया पूरा भएर मातृभाषा पृष्ठ थप्नका लागि मातृभाषी समुदायले सामग्री ल्याएमा सङ्ख्या अझै बढ्दै जाने विश्वास गर्न सकिन्छ ।
मानक मातृभाषा विकासमा गोरखापत्र
बर्सौंदेखि भाषा विकासका क्रममा अगाडि बढ्नुको सट्टा निष्क्रिय रूपमा समाजमा सीमित बनाई सानो वर्गले आपसी बोलचालमा मात्र प्रयोग भइरहेका नेपालका मातृभाषामा समाचारलगायत साहित्यिक सामग्रीको प्रकाशन गर्ने जमर्कोलाई सामान्य मान्न सकिँदैन । भाषा आपसी सञ्चारको माध्यम हो । फरक फरक व्यक्तिले आफ्ना विचार साट्न प्रयोग हुने कथ्य भाषा समाजमा व्यक्ति अनुसार, स्थान अनुसार, पारिवारिक पृष्ठभूमि अनुसार, उमेर अनुसार जस्ता कोटिका कारण भाषामा फरक स्वरूप देखिनु स्वाभाविक नै हो । त्यसको एउटा रूपलाई विकास गरेर भाषा मानकीकरणको प्रक्रिया पूरा गर्दै लिखित रूपसम्म पुर्याउनुपर्दा लिपि, वर्णमाला, वर्ण नपुगेका ठाउँमा चिह्नलगायतका काम गरेर कथ्य भाषाको फरकलाई न्यूनीकरण गर्ने काम गरिन्छ । धेरै वर्षसम्म निष्व्रिmय भाषाका पाठ्यसामग्री नेपालको सबैभन्दा बढी पाठकसम्म पुग्ने सरकारी समाचारपत्रले प्रयोग गर्नु भाषा विकासका लागि ठुलो फड्को मार्ने काम हो (ताजपुरिया, २०७१) । यो कतिपय भाषाका वक्ताका लागि गौरवको विषय पनि हो । आफ्नो भाषा सरकारी समाचार माध्यममा प्रकाशन हुँदा सामान्य लेखपढ गर्न जान्ने पाठकमा आफ्नो भाषाप्रति सम्मान गर्ने पद्धति विकास हुन्छ । नवपुस्ताका केटाकेटीलाई घरमा मातृभाषा सिकाउने सामग्रीका रूपमा यसले महत्त्वपूर्ण भूमिका खेल्छ । भाषा मानकीकरणमा गोरखापत्रको योगदानलाई बुँदागत रूपमा हेर्दा :
- मातृभाषाको लिपीकरणको कामलाई स्पष्ट मार्ग दिने,
- भाषा मानकीकरणमा आवश्यक शब्दकोश निर्माणका लागि शब्द सामग्री उपलब्ध गराउने,
- मातृभाषी व्याकरणको स्वरूप निर्धारणमा मार्गदर्शक बन्ने,
- राष्ट्रिय एकताको भावना अभिवृद्धि गर्ने,
- भाषिक समुदायबिच आपसमा परिचित हुने, बुझ्ने र सम्मान गर्ने अवसर प्रदान गर्ने,
- मातृभाषी समुदायमा नयाँ रचनाकार, लेखक, निर्माण गर्नुका साथै लेखक रचनाकारलाई निरन्तर लेख्ने अवसर र प्रेरणा दिने,
- मातृभाषी समुदायमा आफ्नो भाषामा लेख, रचना र लेख्ने, पढ्ने बानीको विकास गर्ने
- बालसाहित्य वा साहित्यका अन्य विधा कथा, कविता, निबन्ध, नाटक आदिको सिर्जना गर्न र गराउन मातृभाषीलाई जागरूप गराउने,
- मातृभाषाका लोकगाथा, लोकजीवन, लोकसंस्कृति, लोकसाहित्यको जगेर्ना गर्न र त्यसको खोजी कार्यमा मद्दत पुग्ने,
- मातृभाषी वक्ताका इतिहासका (कताबाट कता पुगे जस्ता) ऐतिहासिक मार्ग र अनेक तथ्य जान्न सघाउ पुर्याउने,
- भाषा शिक्षाका पुस्तक तथा पाठ्यपुस्तक निर्माण र विकासका लागि सामग्रीको स्रोत हुन सक्ने,
- मातृभाषा सिक्न चाहने मातृभाषी वक्ताका साथै मातृभाषाका शिक्षक र विद्यार्थीका लागि यसले गुरुको काम गर्न सक्ने,
- गोरखापत्रको २०६४ सालदेखि निरन्तर प्रकाशनमा मातृभाषा आइरहँदा समयसँगै भाषामा हुने भाषिक परिवर्तनको बाटो र विकास प्रक्रियाको स्वरूप देख्न सकिने आदि ।
गोरखापत्रका सिमाना र समस्या
‘गोरखापत्र’ सरकारी माध्यम भएकाले सरकारको भाषा नीतिसँग आबद्ध भएर कार्य गर्नुपर्ने यसको सिमाना हो । गोरखापत्र आफैँ भाषा मानकीकरणको जिम्मा लिने संस्था नभएर नेपाल सरकारमातहतमा बनेका अन्य संस्थानसँग सामूहिक रूपमा सहकार्य गरेर भाषाको मानकीकरणमा भाग लिने संस्था हो । धेरै वर्षसम्म भाषा राज्यको नीतिले भने झैँ नेपाली भाषामा सीमित भएर नेपाली भाषाको मानकीकरणका काममा सघाउ पुर्याएको थियो । नेपाली भाषालाई पत्रकारिताको भाषाका रूपमा स्तरीकरण गर्ने काम गर्दै यो भाषाको मानकीकरणमा भूमिका योग्य तरिकाले निर्वाह गरेको हो । त्यसै गरी मातृभाषाको विकास र मानकीकरणमा पनि त्यही रूपमा स्तरीकरणको काम गरेर मातृभाषालाई सिङ्गो नेपाल र नेपालबाहिरका नेपाल सरकारका कार्यालयमा पुर्याउने काम गरिरहेको छ । गोरखापत्रको ‘नयाँ नेपाल’ मा मातृभाषाका मानकीकरणमा आएका भेद र नआएका भेदबिचको विवाद गोरखापत्रको जिम्मेवारीभन्दा बाहिरको कुरा हो । किनभने कुनै पनि भाषा मानकीकरण गर्नु भनेको भाषाको विकास गर्नु हो भने अर्कातिर अरू भेद अमानक ठहर्नु पनि हो । भाषा मानकीकरण गर्दा एउटा भेद मात्र विकास हुन्छ, अरू भेदको बेवास्ता हुन्छ । भाषा मानकीकरण गर्नु भनेको समस्याको समाधान मात्र नभएर समस्याको निम्तो पनि हो (Crystal, 2008) ।
त्यसैले गोरखापत्रको मातृभाषा पृष्ठ एकातिर विशेषतामुखी छ भने यसका केही समस्या पनि छन् । मातृभाषाका लेख्य सामग्रीमा साहित्यिक लेखनको प्रवर्धनको कार्य गर्दै सरकारी तथा शैक्षिक स्तरमा पुर्याउने कार्यमा गोरखापत्रका समस्यालाई बुँदामा यसरी देखाउन सकिन्छ :
नेपालका मातृभाषा धेरै वर्षसम्म मान्यता नपाएर लोपोन्मुख अवस्थामा छन् । त्यस्ता भाषालाई गोरखापत्रसम्म पुर्याउने र पाठकका लागि सामग्री बनाउने काम सहज छैन ।
समावेशीपत्रमा सकेसम्म नेपालका सबै भाषा पुर्याउन तिनमा लेख्य रूपको विकास हुनु पर्छ, लेख्य रूपको विकास गर्ने काम गोरखापत्रले गर्दैन, आएका सामग्री गोरखापत्रले प्रकाशन गर्ने हुँदा भाषा मानकीकरण गर्न रोजिएको भाषाको भेदसँग यसको कुनै सम्बन्ध छैन ।
समुदायका वक्तालाई आफ्नो भाषाका ज्ञान भएका खण्डमा मात्र गोरखापत्रको ‘नयाँ नेपाल’ बाट लाभान्वित हुन सक्छ तर यसबाट लाभान्वित हुने मातृभाषी कम्तीमा पढ्न र गोरखापत्रको पहुँचमा पुग्ने हुनु पर्छ । धेरै जसो भाषामा भाषा सम्पादन गर्ने काममा मातृभाषाका वक्ताले पढेलेखेको नभएका कारण भाषाको सम्पादन कार्यमा जटिलता बेहोर्नु परेको छ ।
समाचारजन्य सामग्री, साहित्य र लोकपरम्पराका सामग्री भए मात्र गोरखापत्रले भाषा मानकीकरणमा आधुनिकीकरणको खुड्किलो थप्न सकिने हुँदा त्यो सामग्रीको कमी पनि गोरखापत्रका लागि चुनौतीपूर्ण रहेको छ ।
प्राप्त हुने सामग्रीमा कुनै भाषामा कम सामग्री र कुनै बढी सामग्री प्राप्त हुने भएकाले सबै मातृभाषामा समान रूपको वितरणमा पनि समस्या परेको छ ।
निष्कर्ष
गोरखापत्र झन्डै १२५ वर्षदेखि नेपाली पत्रकारिताको इतिहास बोकेको नेपालको एक मात्र सरकारी समाचारपत्र हो । यसले अभिलेख, साहित्य र केही पत्रिकाको माध्यम बनेको नेपालीलाई एकरूपीकरण दिने कार्यमा महत्त्वपूर्ण भूमिका खेलेको छ । नेपाली भाषाको मानकीकरणमा विशेष योगदान पुर्याउने गोरखापत्रलाई पहिल्यै लेख्य रूपमा देखिएको नेपाली भाषाको प्रयोगमा अनेकरूपताको सामना गर्नु परेका कारण नेपाल सरकारका अन्य निकायले नेपाली भाषाको एकरूपीकरणको आवश्यकता महसुस गरी नेपाली भाषाको मानकीकरणको कामलाई व्यवस्थित गरे । नेपालको एक मात्र भाषाका रूपमा ५९ वर्षसम्म निरन्तर समाचार र अन्य पाठ्यसामग्री प्रस्तुत गर्दा गोरखापत्रले नेपाली भाषामा भएको हिज्जेको समस्या सामना गर्दै हिज्जेको एकरूपताका प्रयास गर्दै निश्चित मार्ग निकाल्ने कोसिस गरेको देखिन्छ । नेपाल सरकारको एक भाषानीतिका कारण नेपाली भाषामा सीमित गोरखापत्रले नेपालका संविधान, २०४७ र २०६३ मा उल्लेख भएबमोजिम नेपालका मातृभाषाको विकास गर्ने उद्देश्यले २०६४ सालदेखि नेपालका अन्य मातृभाषाका समाचारजन्य र साहित्यिक सामग्रीसहित नेपालको समावेशीकरणको दिशामा एउटा फड्को मार्ने काम गरेको छ । बहुभाषिक नेपालको सरकारी पत्रिका गोरखापत्रले ‘नयाँ नेपाल’ पृष्ठ सुरुमा छ वटा भाषाबाट सुरु भई यही मङ्सिर २८ सम्ममा ४५ वटा भाषामा मातृभाषाका सामग्री प्रकाशन गरी समावेशीकरणमा एउटा उदाहरणीय काम गरेको छ । भाषाको मानकीकरणका लागि पत्रपत्रिकामा भाषा प्रयोग हुँदै यसले भाषाको मानक स्वरूपलाई मातृभाषी वक्तासम्म पु¥याउने काम गरेको छ । धेरै समयसम्म राज्यमा एक भाषा नीति रहेका कारण घर घरमा सीमित भाषा लगभग लोपोन्मुख अवस्थामा पुगिसकेका कारण सकेसम्म सबै मातृभाषामा गोरखापत्रको पहुँच पु¥याउने दिशामा गोरखापत्रको पाइला भाषाको मानकीकरणको उल्लेखनीय खुड्किलो बनेको छ ।
सन्दर्भ सामग्री
- अर्याल, कृष्णचन्द्र, वैजनाथ सेढाई जोशी (१९७४) । गोरखा–भाषा, पण्डित वैजनाथ जोशी, बम्बई
- खनाल, मोहन प्रसाद (२०६८) । नेपाली भाषाका हजार वर्ष । काठमाडौँ : राइनो ।
- खरेल, प्रेरणा (के.सी.) (२०५८) । वीरेन्द्रकेसरी अर्यालका व्याकरणको परिचय, लक्ष्मण खरेल, काठमाडौँ ।
- चौधरी, रामलाल (२०७५) । गोरखापत्रको बहुभाषिक पृष्ठले भाषा संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको, Hamro Pahura.com नेपाली र थारू भाषाको पहिलो अनलाइन, जेठ १९ शनिबार, २०ः३१ः१९ https//hamarpahura.com/12733
- ताजपुरिया, तेजेन्द्र (२०७१ः४६) । ताजपुरिया भाषाको चिनारी । समावेशीकरणको दिशामा एउटा फड्को गोरखापत्र नयाँ नेपाल पृष्ठ प्रकाशन र यसका आयामहरू । भाषा चिनारी, सलाम, अब्दुल र अन्य (सम्पा.) ।
- तुलाधर, माणिक लाल (२०७१ः१०). गोरखापत्रको नयाँ नेपाल पृष्ठ : नयाँ नेपाल उन्मुख सङ्क्रमणको युगको मुखपत्र, समावेशीकरणको देशामा एउटा फड्को गोरखापत्र नयाँ नेपाल पृष्ठ प्रकाशन र यसका आयामहरू । भाषा चिनारी, सलाम, अब्दुल र अन्य (सम्पा.) ।
- दाहाल, बल्लवमणि, मोहनराज शर्मा तथा अन्य (२०३६) । अनिवार्य नेपाली शिक्षण निर्देशन, पाठ्यक्रम विकास केन्द्र, कीर्तिपुर ।
- देवकोटा, ग्रीष्मबहादुर (२०५९) । नेपालको छापाखाना र पत्रकारिताको इतिहास, काठमाडौँ : साझा प्रकाशन ।
- नेपाल, शैलेन्दु प्रकाश (२०४८) । राममणि आ.दि. को जीवनी, कृतित्व व्यक्तित्व, एम.ए. शोधपत्र, त्रिभुवन विश्वविद्यालय, नेपाली विभाग, कीर्तिपुर ।
- नेम्वाङ, तिलविक्रम (२०५०) । राष्ट्रिय भाषानीति सुझाउ आयोगको प्रतिवेदन २०५० तथा नेपालको भाषिक स्थिति । काठमाडौँ : राष्ट्रिय भाषानीति सुझाउ आयोग ।
- पण्डित, हेमराज (१९६९, २०५१) । चन्द्रिका गोर्खा भाषा व्याकरण, लेखक स्वयम्, काठमाडौँ ।
- पोखरेल, बालकृष्ण (२०१९) । नेपाली भाषाको कथा । ललितपुर : जगदम्बा प्रकाशन ।
- पोखरेल, बालकृष्ण, वासुदेव त्रिपाठी तथा अन्य (२०४०) । नेपाली बृहत् शब्दकोश, नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान, काठमाडौँ ।
- पोखरेल, शैलजा (२०७४) । नेपाली भाषाको सामाजिक इतिहास । जगदम्बा नेपाली साहित्यको बृहत् इतिहास, (१ः भाषा, व्याकरण र अभिलेख खण्ड) । म. प. पोखरेल (सम्पा.), ललितपुर, नेपाल ः कमलमणि प्रकाशन ।
- प्रसाई, नरेन्द्रराज (२०११) । गोर्खे कागजका सम्पादक पादरी गङ्गाप्रसाद प्रधान, सरोकार अनलाइन । https//sarokarkalimpong.blogspot.com/2011/12/blog/post,_24.html
- बन्धु, चूडामणि (२०५७) । नेपाली भाषा र गोरखापत्र, शतवार्षिकी स्मारिका (१९५८–२०५७). पृ. ७–८ ।
- सलाम, अब्दुल र अन्य (सम्पा.) (२०७१) । समावेशीकरणको देशामा एउटा फड्को गोरखापत्र नयाँ नेपाल पृष्ठ प्रकाशन र यसका आयामहरू । भाषा चिनारी ।
- सम, बालकृष्ण (१९९२) । नेपाली कसरी शुद्ध लेख्ने ?, नेपाली भाषा प्रकाशन समिति, काठमाडौँ ।
- शर्मा, जनकलाल, (२०६०) । निर्विवाद र सौम्य व्यक्तित्वका खड्गमान मल्ल, जनकलाल शर्माका संस्मरण, (सम्पा.) । माधव प्रसाद पोखरेल र सुमन ढकाल, साझा प्रकाशन, ललितपुर ।
- सिंह, जयपृथ्वीबहादुर (१९६९) । प्राकृत व्याकरण, गोर्खापत्र छापाखाना (म्यानेजर उपेन्द्रबहादुर), काठमाडौँ ।
- सिग्द्याल, सोमनाथ (१९७६) । मध्यचन्द्रिका, लेखक स्वयम्, काठमाडौँ । Ayton, J.A. (1820). A grammar of the Nepali language. KulcuttaM Philipperaria.
- गोरखापत्र संस्थान, https//gorkhapatra.org.np/introduction.।
- गोरखापत्र समाचारदाता (कात्तिक ४) https//gorkhapatra.org.np/news/event/pressrelease.।
- गोरखापत्र अनलाइन समावेशीकरणको दिशामा नयाँ फड्को https//gorkhapatraonline.com/categories/new/nepal.
लेखक नेपाली विषयका उपप्राध्यापक हुनुहुन्छ ।
प्रस्तुत आलेख ‘नेपाली भाषाहरूको मानकीकरण र गोरखापत्र ’ गोरखापत्र प्रकाशनको १२५ वर्ष प्रवेश अर्थात् शताब्दी रजतका अवसरमा २०८२ वैशाख २४ गते विमोचित ‘युगसाक्षी’ मा प्रकाशित भएको हो । यस आलेखको सर्वाधिकार गोरखापत्र संस्थानमा छ ।