• १९ साउन २०८२, सोमबार

मध्यपहाडी लोकमार्गमा मापदण्ड विपरित संरचना निर्माण

blog

मध्यपहाडी लोकमार्गको बागलुङ–बिहुँ खण्डमा सडक मापदण्ड मिचेर बनाइएको घडेरी । तस्बिर : रामकृष्ण बोहरा

रामकृष्ण बोहरा
बागलुङ, साउन १९ गते ।
मध्यपहाडी लोकमार्गको बागलुङ बिहुँ सडक खण्ड वर्षौदेखि अलपत्र छ । ठेकेदारको लापरवाहीले बनिसक्नुपर्ने अहिलेसम्म बनेको छैन । सडक बन्न ढीला भएसँगै सडकछेउ जमिन खारेर घडेरी बनाउने काम भएको छ । सडक अतिक्रमण गरेर जमिन खार्दा जोखिम बढेको छ । काठेखोला गाउँपालिका–६ इनारपानीमा स्थानीयले सडक छेउको सेफ्टीवाल भत्कने गरी घडेरी खारेका छन् ।

सडक चौडा पारेर कालोपत्र गर्न दबाब भइरहेको बेला स्थानीयले सडक भत्काएपछि बन्नै लागेको काम पनि बिग्रेको हो । स्थानीयले ६० मिटर जमिन खारेर सडक जोखिम बनाएपछि मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय, पर्वतले पत्राचार मसेत गरेको छ । आयोजनाले सडक जोखिम बढेको, सामान्य मापदण्डको पनि ख्याल नगरिएको भन्ने आरोप लगाइ काम रोक्न निर्देशन दिएको हो ।

सडक ऐन २०३१ ले राष्ट्रिय, जिल्ला स्तरीय र स्थानीय सडकको वर्गिकरण पनि गरेको छ । राष्ट्रिय सडकको हकमा दायाँबायाँ कम्तिमा २५ मीटर छाडेर मात्र सडक संरचना बनाउन पाउने व्यवस्था छ । राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्ग निर्माण नसकिँदै अतिक्रमण भइरहेको हो । निर्माण नसकिँदै स्थानीयले सडक अतिक्रमण गरेर घडेरी खार्ने र घरटहरा बनाइरहेका छन् ।

संरचना बनाएर सडकको ‘राइट अफ वे’ नै साँघुरो पारिएको छ । ठेकेदार कम्पनीले सात वर्षअघि काम सकेर हस्तान्तरण गर्नुपर्ने बिहुँ खण्डमा अतिक्रमण बढेको हो । निर्माण सम्पन्न भएको सडक खण्डमा मापदण्ड मिचिने क्रम बढ्दो छ । पूर्वपश्चिम सडक भएकोले जुनसुकै बेला थप चौडा पार्नुपर्ने सडक अहिले अतिक्रमणमा परेको हो । लोकमार्ग आयोजना कार्यालयले अधिकांश खण्ड हस्तान्तरणको तयार गरेको छ । सडक डिभिजनले भने आफ्नो जिम्मामा लिइसकेको छैन ।

लोकमार्ग आयोजना कार्यालयले ठेक्का लगाएर निर्माण सम्पन्न भइसकेका दर्जनबढी स्थानमा सडकको छेउमा अतिक्रमण बढेको छ । काठेखोला–६ को ताराखसेमा स्थानीयले सडकमै जोडेर घरटहरा बनाएर बसेका छन् । गलकोट नगरपालिका वडा नं. २ को नरेठाँटीमा पनि सडक र पुलमै जोडेर टहरा बनाइएको छ । ती टहरामा होटल र ग्यारेज सञ्चालनमा रहेको स्थानीय सुरज बोहरा बताउनुहुन्छ ।

बडिगाड गाउँपालिका–७ को भीमगिठेमा त दोहोरो सवारी चल्नै नसक्ने गरी दुवैतर्फ घरैघर बनेका छन् । गलकोट नगरपालिका–११ को मनेवामा त दरमखोला जलविद्युत आयोजनाले सडक छेवैमा पाइपलाईन बिच्छ्याएको छ ।

‘‘सम्झाउँदा पनि सडक चौडा पार्न नमिल्ने गरी अतिक्रमण भैरहेको छ, गलकोटमा एक किमी सडकमा पाइपलाइन बनेको छ’’ लोकमार्ग आयोजना कार्यालयका सूचना अधिकारी किरण सुवेदीले भन्नुभयो,‘‘विद्युतले वर्षौ अघिको ग्रामीण सडकमा अनुमति लिएको देखिन्छ, लोकमार्गको मापदण्डमा भने ती संरचना बनेका छैनन् ।’’

निसीको जुग्जाखोला, झिँवाखोला लगायतको बजार क्षेत्रमा पनि सडक साँघुरो छ । पालिकाले सम्झाइ बुझाइ गरेर सडक मापदण्ड छाडेर घरटहरा बनाउन आग्रह गरेपनि कतिपयले अटेर गरेको उपाध्यक्ष प्रेम घर्ती बताउनुहुन्छ । मध्यपहाडी लोकमार्ग निर्माण शुरु भएदेखिनै मापदण्ड अनुसारको बन्न नसकेको जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमरबहादुर थापा स्वीकार्नु हुन्छ ।