• १८ साउन २०८२, आइतबार

सप्तरीमा पानी परेपछि किसानलाई राहत

blog

पानी परेपछि धान रोपाइँ गर्दै । तस्बिर : सुधा देव

सुधा देव
भारदह (सप्तरी), साउन १८ गते ।
सप्तरीमा शनिबार राति परेको पानीले जिल्लाका किसानलाई ठुलो राहत मिलेको छ । यसपालि वर्षा याम जेठ, असार र साउनमा पानी नपरेपछि लामो समयदेखि चिन्तित रहेका किसानलाई यो पानीले ठुलो राहत मिलेको किसानहरूले बताएका छन् ।

राजविराज नगरपालिका–५ कि सुनिता चौधरीले बोरिङबाट पानी पटाएर महँगो खेती गर्नुभएको थियाे । असार महिनामा रोपाइँ सम्पन्न भए पनि रोपेको धान डढ्ने अवस्थामा आइपुग्दा कसरी पानी पटाउने चिन्तालाई यो पानीले ठुलो राहत दिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘यो पानीले रोपेको धानलाई अमृत दिएको छ भने रोपाइँका लागि पानीको आसमा बसेका किसानलाई समेत राहत मिलेको छ ।’’

हनुमाननगर कङ्कालिनी नगरपालिकाका भारदहका नैना यादवले आफ्नो खेत तिरहुत गाउँपालिकामा भएकाले सिँचाइको कुनै सुविधा थिएन । शनिबार परेको पानीले धान रोप्न आँट आएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘आकाशे पानीको सहायताले १० कट्ठा खेत धान रोप्न तयार पारेका छौँ। शनिबार परेको पानीले रोपाइँ गर्नका लागि सहज भएको छ । ढिलो भएकाले खर्च र मेहनत अनुसार उत्पादन नभए पनि वर्षभरि छाक टार्न सहज हुन्छ भन्ने आस छ ।’’

राजविराज नगरपालिका–१ कि ममता यादवले यसपालि सिँचाइको मुख्य माध्यम बोरिङ बनेको बताउनुभयो । पहिले पहिले एक कट्ठा खेतमा पानी पटाउन एक घण्टा समय लाग्थ्यो । एक घण्टाको दुईदेखि तीन सय लाग्थ्यो । यसपालि आकाशे पानी नपरेकाले खेत सुक्खा थियोे । एक कट्ठा पटाउन चारदेखि पाँच घण्टामा एक हजार खर्चिनु परेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘रोपाइँ, धानमा आवश्यक पर्ने मल, कमौनी लगायतको खर्च गत वर्षहरूमा भए झैँ भए पनि यसपालि पुनः धानमा सिँचाइ गर्न खर्च गर्नुपर्ने चिन्ता शनिबार राति परेको पानी हटेको उहाँले बताउनुभो । उहाँले भन्नुुभयो, ‘‘किसानलाई महँगीका कारण खेती गर्न सकस हुँदै आए पनि यसपालिको खेतीमा थप आर्थिक भार परेको छ ।’’

सप्तरी जिल्लामा साउन १७ सम्ममा ४२ प्रतिशतमात्र रोपाइँ सम्पन्न भएको छ । जिल्लामा बिगतका वर्षहरूमा यति बेला रोपाइँ सम्पन्न हुँदै आए पनि यसपालि अहिलेसम्म जिल्लामा रोपाइँ भइरहेको कृषि ज्ञान केन्द्र सप्तरीका कार्यालय प्रमुखको किसुनदेव राउतले बताउनुभयो ।

जिल्लामा कुल कृषि योग्य जग्गा ८१ हजार हेक्टर क्षेत्रफल रहेको छ । जसमध्ये ६८ हजार हेक्टर क्षेत्रफल जग्गामा धान खेती भइरहेको छ । जसमध्ये २३ हजार ८ सय अर्थात् ३२ देखि ३४ प्रतिशत जग्गामा मात्र सिँचाइ रहेको छ ।