• १३ साउन २०८१, आइतबार

अवैध रुपमा कब्जा गरिएका सडकपेटी खाली गराउन सुरु

blog

नेपालगञ्जमा सडकपेटी खाली गर्न आग्रह गर्दै प्रहरी टोली । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगञ्ज, असार ८ गते । नेपालगञ्ज उपमहानगरभित्रका विभिन्न सडक पेटी अवैध रुपमा कब्जा गरेर पसल लगाउने, व्यवसाय गर्ने तथा सवारी साधन उभ्याउनेविरुद्ध कडाइ सुरु गरिएको छ । 

नेपालगञ्ज उपमहानगर, जिल्ला ट्राफिक प्रहरी कार्यालय र वडा प्रहरी कार्यालयको संयुक्त आयोजनामा नेपालगञ्ज नगरभित्र अवैध रुपमा कब्जा गरिएका सडकको पेटी खाली गराउने अभियान सञ्चालन गरिएको हो । 

नगरको सदरलाइन, वडा प्रहरी कार्यालयदेखि त्रिवेणीमोड, ईदगाह रोड, सेतु विक चोक क्षेत्र, सुर्खेतरोडको धम्बोझी चोक र पुष्पलाल चोकसम्मको सडक पेटीलाई अतिक्रमण गरेर व्यापार व्यवसाय गर्ने वा सामान राख्ने गरेको पाईएकोले खाली गर्ने अभियान शुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ । 

कार्यालयका प्रमुख प्रहरी निरिक्षक हिमालय शाहका अनुसार सडक पेटीमा रहेको अतिक्रमण हटाउने कार्य थालिएपछि अधिकांश नगरवासी खुशी देखिएका छन् । पैदल हिँड्ने यात्रुहरुलाई यसबाट निकै सहज भएको छ । प्रमुख शाहले अहिलेसम्म त्रिवेणीमोड, बिस्कोरियनटोल लगायत स्थानमा अतिक्रमण गरिएको पेटी विभिन्न पसलेहरुबाट मुक्त गराई सकिएको छ भने अन्य स्थानमा जारी रहेको बताउनुभयो । 

प्रहरीले सडकपेटी कब्जा नगर्न सर्वसाधारण र व्यवसायीसंग आग्रह पनि गर्दै आएको छ । नेपालगञ्ज उपमहानगरका उपमेयर कमरुद्दीन राईले नगरलाई सुन्दर र राम्रो तथा व्यवस्थित बनाउन सडकपेटी खाली गराउनु अतिआवश्यक भएको जनाउँदै सो तर्फ अहिले काम भैरहेकोले सहयोग गर्न सबैसँग आग्रह गर्नुभयो । 

ट्राफिक व्यवस्थापन मिलाउन सडक पेटी खाली गर्नै पर्ने निष्कर्ष निकालेर सो कार्य शुरु गरिएको जनाउँदै उहाँले सो कार्यमा अवरोधको सट्टा सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । प्रहरी सहितको संयुक्त टोलीले सडक पेटी खाली गराएर गएको अर्को दिन फेरी सडक पेटी कब्जा गर्ने स्थानीयको बानी व्यवहार परिवर्तन नभएसम्म नगरलाई सुन्दर र व्यवस्थित बनाउन नसकिने स्थानीयको भनाइ छ । 

नेपालगञ्ज नागरिक समाजका अगुवा कृष्ण प्रसाद श्रेष्ठले सडक पेटी अतिक्रमण, ट्राफिक व्यवस्थापन र फोहर व्यवस्थापनमा नागरिकको चेतना र सहयोग अतिनै आवश्यक रहेकोले यी कुरामा नागरिकले सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले आफ्नो नगरलाई सुन्दर र व्यवस्थित बनाउन आमी सबै आफै अगाडि बढेर उपमहानगरलाई सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।