• १५ वैशाख २०८१, शनिबार

हाइड्रोजन प्लान्ट निर्माणको गृहकार्य सुरु

blog

अर्थमन्त्री जनार्दन शर्मा ग्रिन हाइड्रोजन ल्याबका पदाधिकारीसँगको छलफलमा सहभागी हुनुहुँदै ।

काठमाडौँ, असार ८ गते । सरकारले देशभित्रै हाइड्रोजन उत्पादन प्लान्ट स्थापना गर्न तदारुकता देखाएको छ । देशभित्रै एक सय मेगावाट जलविद्युत् खपत क्षमताको हाइड्रोजन प्लान्ट स्थापना गर्ने गरी अर्थमन्त्री जनार्दन शर्माले परामर्श सुरु गर्नुभएको छ । ग्रिन हाइड्रोजनबारे अध्ययन अनुसन्धान गरिरहेको काठमाडौँ विश्व विद्यालय मातहतको ग्रिन हाइड्रोजन ल्याबका पदाधिकारीलाई मङ्गलबार अर्थ मन्त्रालय बोलाएर यसबारे छलफल गर्नुभएको हो ।

आगामी आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यमा पनि ग्रिन हाइड्रोजन उत्पादनबारे उल्लेख छ । रासायनिक मल उत्पादनका लागि हाइड्रोजन उत्पादन गर्न लगानी बोर्डसँग सहकार्य गर्ने उल्लेख छ । विकसित मुलुकहरू हाइड्रोजनको व्यावसायिक उत्पादन तथा बजारीकरणमा गइसकेको सन्दर्भमा जलस्रोतमा धनी नेपालले पनि अब ढिला गर्नु नहुने अर्थमन्त्री शर्माको भनाइ छ ।

उहाँले तत्काल एक सय मेगाावाटको हाइड्रोजन प्लान्ट लगाउने विषयमा आवश्यक अध्ययन र प्राविधिक सहयोग जुटाउने कार्यमा संलग्न हुन ल्याबका पदधिकारीलाई निर्देशन दिनुभयो । अर्को बैठक लगानी बोर्डको कार्यालय समेतको सहभागितामा गर्ने योजना शर्माको छ । 

प्लान्टको सम्भाव्यता, लागत, बजार सिर्जनाबारे अर्थमन्त्री शर्माले गहन परामर्श गर्नुभएको बैठकमा सहभागी केयूका सहप्राध्यापक विराजसिंह थापाले बताउनुभयो । बैठकको सुरुमै हाइड्रोजन प्लान्ट स्थापनाबारे चासो राख्नु भयो,” उहाँले भन्नुभयो, “अर्थमन्त्री शर्माको चासो हेर्दा हाइड्रोजन उत्पादनको नीतिगत तथा सैद्धान्तिक बहस मात्र नभई कार्यमूलक उपलब्धि नै सुनिश्चित गर्न खोजेको देखियो ।” शर्माले लगानी बोर्डमार्फत यस्तो परियोजनामा लगानी गर्न लगानीकर्ताको खोजी गर्ने जानकारी गराउनुभएको थियो । 

छलफलमा ग्रिन हाइड्रोइजन ल्याबका प्रमुख विराजसिंह थापाले सय मेगावाटको परियोजना स्थापना गर्न करिब २० अर्बसम्म लगानी लाग्न सक्ने सैद्धान्तिक आकलन रहेको जानकारी गराउनुभयो । “तर यो अनुमान एकेडेमिक स्टडी मात्र हो,” थापाले भन्नुभयो, “यसबारे थप अध्ययन गरेर मात्र वास्तविक आकलन हुन सक्छ ।” एक सय मेगावाटको ग्रिन हाइड्रोजन प्लान्ट डेढ वर्षमा तयार गर्नेगरी अन्तर्राष्ट्रिय कम्पनीहरूले प्रस्ताव गरिरहेको जानकारी गराउनुभएको थियो । अन्तर्राष्ट्रिय अध्ययनका आधारमा नेपालमा हाइड्रोजन उत्पादन लागत सस्तो पर्ने देखिएको छ । 

विश्व ऊर्जा परिषद्को अध्ययनका आधारमा नेपालमा प्रति किलो १.५ अमेरिकी डलरमा एक किलो हाइड्रोजन उत्पादन हुनसक्छ । विश्वमा हाइड्रोजनको उत्पादन मूल्य ३ देखि ५ अमेरिकी डलर छ । एक किलो हाइड्रोजन इन्धन उत्पादन गर्न नौ किलो शुद्ध पानी चाहिन्छ । विश्वमा वायु विद्युत्को माध्यमले समुद्रको नुनिलो पानी शुद्धीकरण गरेर हाइड्रोजन उत्पादन हुँदै आएको छ ।

नेपालको पानीमा स्वच्छता हुने भएकाले सस्तो पर्ने हुन्छ । “हिमालयन देशको शुद्ध पानी हाइड्रोजन उत्पादनका लागि उपयुक्त हुने विभिन्न अध्ययनले देखाएको छ । त्यसैले नेपालको हिमाली तथा  पहाडी क्षेत्रको पानी प्रयोग गरेर हाइड्रोजन उत्पादन ग-यौंँ भने धेरै फाइदा पुग्छ । निर्यातमा कोसेढुङ्गा साबित हुन सक्छ,” थापाले भन्नुभयो ।