बाबुराम देवकाेटा
सिन्धुलीमाढी, साउन १६ गते । सिन्धुली जिल्लामा पछिल्लो समयमा हेपिएको अन्नबालीमा पर्दै गएको रैथाने बाली कोदो खेतीको प्रवर्धन गर्ने उद्देश्यले जिल्लामै पहिलो पटक ‘राष्ट्रिय कोदो दिवस-२०८२’ मनाइएको छ ।
जिल्लामा रहेका सरोकारवाला निकाय तथा उपभोक्ताको सहभागितामा ‘कोदोजन्य परिकारको आहार : खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ भन्ने मूल नारासहित जिल्ला सदरमुकाम सिन्धुलीमाढीमा प्रभातफेरी तथा कोदोजन्य परिकारको सेवन कार्यक्रमको आयोजना गरी उक्त दिवस मनाइएको हो ।
पछिल्लो समयमा कोदो खेती हेपिएको अन्नबालीमा पर्दै गएको र लोपोन्मुख हुँदै गएपछि त्यसको प्रवर्धन गर्न उक्त दिवसको आयोजना गरिएको आयोजक सिन्धुली उद्योग वाणिज्य सङ्घले जनाएको छ। सो अवसरमा कृषि विकास कार्यालय प्रमुख अनुप अधिकारीले सिन्धुली जिल्लामा कोदो खेती १० हजार ८४२ हेक्टमा हुँदै आएको र वार्षिक उत्पादन ११ हजार ७४ मेट्रिक्टन हुने गरेको जानकारी दिनुभयो ।
कोदो पहाडी क्षेत्रमा सुख्खा तथा कम उर्बरभूमिमा उत्पादन हुने बाली रहेको र धार्मिक र सांस्कृतिक हिसाबले पनि त्यसको महत्व रहेको उहाँले सुनाउनुभयो । उहाँले भन्नुभयो, ‘कोदोले पौष्टिक गुणस्तरले पनि पोषण सुरक्षामा महत्वपूर्ण भूमिका खेलेको छ । स्वास्थ्यको हिसाबले पनि फाइदाजनक छ ।’
प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले नेपाल सरकारको २०८२ साल असार २३ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार पहिलो पटक उक्त राष्ट्रिय कोदो दिवस मनाइएको जानकारी दिनुहुँदै कोदो दिवस गौरव गर्ने दिन भएको बताउनुभयो । ‘धेरै गुण भएको कोदोलाई बेवास्ता गरेका रहेछौं,’ उहाँले भन्नुभयो, ‘यो कोदोको प्रवर्धन गर्ने सरकारी प्रयास हो । कोदो र मकैको ढिँडो खाएर हुर्कियौंं, अहिले त्यसलाई भुलेर सहर पस्न थाल्यौं ।’
स्वस्थ जीवनशैलीका लागि पनि कोदोको महत्व रहेको उहाँको भनाइ थियो । जिल्ला समन्वय समिति उप–प्रमुख शान्ता कार्कीले कोदो खेतीको प्रवर्धन गर्न बिउबिजन, मल र आधुनिक कृषि उपकरणमा सहुलियतको सरकारी व्यवस्था गरी किसानलाई प्राेत्साहन गरिनुपर्ने औँल्याउनुभयो ।
गाउँघरमा कोदोलाई कुअन्नको रुपमा लिइने र कोदो उत्पादन गर्ने किसानलाई कोदे भनी हेप्ने प्रवृत्तिले पनि कोदाे खेती घट्दै गएको उहाँले सुनाउनुभयो।
कोदो दिवस आयोजक सिन्धुली उद्योग वाणिज्य सङ्घका अध्यक्ष अर्जुनकुमार श्रेष्ठले आधुनिक जीवनशैलीसँगै कोदोको उत्पादन घट्दै गई लोप हुँदै गएपछि त्यसको प्रवर्धन गर्न सरोकारवाला निकायलाई जुटाएर जिल्लामा पहिलो पटक उक्त दिवस मनाएको बताउनुभयो । कोदोको महत्व बुझेकाले अझै पनि त्यसको खोजी–खोजी सेवन गर्ने गरेको उहाँको भनाइ थियो ।
त्यसो त नौ वटा स्थानीय तह रहेको सिन्धुली जिल्लामा कोदो खेती घ्याङ्लेक, फिक्कल, गोलन्जोर, सुनकोशी गाउँपालिका र कमलामाई नगरपालिका तथा दुधौली नगरपालिकामा कोदो खेती हुँदै आएको कृषि विकास कार्यालयले जनाएको छ । जिल्लामा किसानले खाली पाखामा र जुनार, सुन्तलाको बगैँचाभित्र समेत कोदो खेती गरी आम्दानी लिँदै आएका छन् ।
गोलन्जोर गाउँपालिका–४ तीनकन्याका किसान जीतबहादुर ठकुरी घरेलु मदिराका लागि कोदोको माग बढी हुन थालेपछि धान र मकैको तुलनामा महँगो मूल्यमा बिक्री हुन थालेको बताउनुहुन्छ । उहाँका अनुसार केही वर्ष अघिसम्म कोदो बालीलाई तल्लो स्तरको खेतीको रुपमा लिइन्थ्यो । उत्पादन भएको कोदो विक्री नभएपछि गाई बस्तु तथा सुँगुरलाई खोले बनाएर खुवाउने चलन थियो ।
‘यतिखेर उत्पादन भएको कोदो कतै विक्री गर्न लैजान पर्दैन,’ उहाँले भन्नुभयो, ‘बारीमा नै ग्राहक आएर पहिला नै बैना मार्ने चलन बसिसक्यो । आम्दानी राम्रो हुँदै गएपछि पाखो बारीमा जुनार, सुन्तलाको बगैंचाभित्र समेत कोदो खेती गरी आम्दानी लिन थाालेका छन् ।’