- तटीय क्षेत्रमा रेल, सडक तथा हवाई यातायात अवरुद्ध भएका छन् ।
- प्रारम्भमा ८.० म्याग्निच्युडको रूपमा मापन तर पछि भूकम्पको तीव्रता ८.८ मा संशोधन भएपछि सुनामी चेतावनीमा परिणत ।
- टोकियोको हरुमी तटीय क्षेत्रमा पनि २० सेन्टिमिटर उचाइको सुनामी पुगेको पुष्टि गरिएको छ।
टोकियो, साउन १४ गते । रुसको कामचटका प्रायद्वीप नजिक समुद्रमा बुधबार बिहान ८.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प आएपछि जापानको प्रशान्त महासागर तटीय क्षेत्रमा सुनामीको असर देखिएको छ। जापान मौसम विभागले सुनामीको उचाइ ३ मिटरसम्म पुग्न सक्ने चेतावनी दिँदै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
सुनामीको असर देशको उत्तरको होक्काइदोदेखि पश्चिमको वाकायामा प्रिफेक्चरसम्म परेको छ। तटीय क्षेत्रमा रेल, सडक तथा हवाई यातायात अवरुद्ध भएका छन् भने २०११ मा क्षतिग्रस्त भएको फुकुसीमा दाइइचि आणविक ऊर्जा केन्द्रबाट विकिरणयुक्त प्रशोधित पानीको समुद्रमा निकास तत्काल रोकिएको छ।
मौसम विभागका अनुसार हालसम्म सबभन्दा उच्च ६० सेन्टिमिटर उचाइको सुनामी लहर अपराह्न १ बजेपछि होक्काइदोको हामानाका सहर र इवाते प्रिफेक्चरको कुजी बन्दरगाहमा देखिएको हो। टोकियोको हरुमी तटीय क्षेत्रमा पनि २० सेन्टिमिटर उचाइको सुनामी पुगेको पुष्टि गरिएको छ।
जापानको क्योदो समाचार समितिका अनुसार, सूनामीका असरहरू आइची, कागोशिमा, मियाजाकी र ओकिनावा प्रिफेक्चरहरूमा पनि देखिएका छन्।
प्रधानमन्त्री शिगेरु इशिबाले जनता सुरक्षित हुन सकून भनेर सबै सम्भावित उपायहरू अपनाइने बताउनु भएको छ । उहाँले सम्बन्धित मन्त्रालय र निकायहरूलाई क्षति न्यूनीकरणका लागि तत्काल कदम चाल्न निर्देशन पनि दिनु भएको छ ।
प्रधानमन्त्री कार्यालयका प्रवक्ता तथा प्रमुख क्याबिनेट सचिव योशिमासा हयाशीले बिहानै पत्रकार सम्मेलन गर्दै सुनामीको चेतावनी दिइएका क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सर्न आग्रह गर्नुभएको छ ।
रुसी समाचार संस्था टास्सका अनुसार कामचटका केही क्षेत्रमा ३ देखि ४ मिटर उचाइका सुनामी लहर देखिएका छन्।
प्रारम्भमा ८.० म्याग्निच्युडको रूपमा मापन गरिएको भूकम्पपछि जापान मौसम विभागले सुनामी सल्लाह जारी गरेको थियो, तर पछि भूकम्पको तीव्रता ८.८ मा संशोधन भएपछि सुनामी चेतावनीमा परिणत गरिएको हो।
सुनामीको चेतावनीपछि मियागी प्रिफेक्चरको सेन्दाई विमानस्थलमा धावनमार्ग बन्द गरिएको छ भने तटीय क्षेत्रमा चल्ने रेलसेवा अवरुद्ध गरिएका छन् ।
फुकुसिमा आणविक ऊर्जा केन्द्रमा कार्यरत श्रमिकहरूलाई सुरक्षित स्थानमा लगिएको छ भने बिहान ९ः०५ बजेबाट प्राकृतिक प्रकोपको आपतकालीन प्रक्रियाअनुसार विकिरणयुक्त पानीको निकास रोकिएको छ।
हालसम्म आणविक ऊर्जा केन्द्रहरूमा कुनै असामान्य अवस्था नदेखिएको जनाइएको छ।
जापान मौसम विभागका अनुसार यो पटकको सुनामी चेतावनी दिनभर कायम रहन सक्ने छ। विभागका एक अधिकारीले पत्रकार सम्मेलनमा भने, “हामी कम्तीमा एक दिनसम्म उच्च सुनामी लहरको सम्भावना रहेको अनुमान गरिरहेका छौं।” – क्योदो