• ७ जेठ २०८१, सोमबार

आगामी निर्वाचनसम्म गठबन्धन हुन्छ : डा. देउवा

blog

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. आरजु राणा देउवा ।

गणेश पौडेल

पर्वत, असार ७ गते। नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले देशमा लोकतन्त्र संस्थागत गर्नका लागि आगामी संघ र प्रदेशको निर्वाचनसम्म गठबन्धन कायमै रहने बताउनुभएको छ। 

नेपाली कांग्रेस पर्वतले मंगलबार कुश्मामा आयोजना गरेको स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको बधाई तथा शुभकामना कार्यक्रममा बोल्नुहुँदै डा. देउवाले यस्तो बताउनुभएको हो। 

लोकतन्त्रको रक्षा र देशको राष्ट्रियता बचाउनका लागि आगामी निर्वाचनसम्म गठबन्धन धानेर लैजानुपर्ने आवश्यकता रहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘‘आगामी निर्वाचनसम्म गठबन्धन गरेरै जाने तयारी छ। अहिलेको गठबन्धन कसरी भएको हो भन्ने कुरा सबैलाई अवगत नै छ। सोही अनुसार सबै नेता कार्यकर्ताले बुझ्नुपर्ने आवश्यकता छ।’’ 

नेपाली कांग्रेस देशकै ठूलो पार्टी भएकाले नेतालाई जिम्मेवारी दिने कुरामा पनि चुनौती रहेको उहाँको भनाइ छ। ‘‘फेरि पनि निर्वाचनमा सबैलाई टिकट नहुनसक्छ। तर, पार्टीका कार्यकर्ताले त्याग गरेर पनि पार्टीलाई बलियो बनाउन र जिताउन लाग्नुपर्छ’’, उहाँले भन्नुभयो। 

कांग्रेसका हरेक कार्यकर्तालाई मिलाएर लैजान पार्टी सभापतिले अधिकतम पहल गर्नुभएको उहाँको भनाइ छ। उहाँले कांग्रेसका जनप्रतिनिधिलाई सुशासन कायम गरेर जनताले देख्ने विकास तथा पारदर्शी काम गर्न आग्रह गर्नुभयो। ‘‘जनप्रतिनिधिले जनताले देख्ने काम गर्नुपर्छ। त्यत्तिले मात्र पुग्दैन। पारदर्शी र जिम्मेवार भएर काम गर्नुहोला’’, उहाँले भन्नुभयो। 

नेता कार्यकर्तालाई सामाजिक संजालमा जथाभावी नलेख्नसमेत उहाँले आग्रह गर्नुभयो। ‘पार्टीमा भएका असहमतिलाई पार्टीभित्रै राखेर हल गर्न सकिन्छ। विचार र सिद्धान्त बुझेर पार्टीमा लागेका नेता कार्यकर्ताले पार्टीको विरुद्धमा समाजिक संजालमा लेख्नु राम्रो हुँदैन’’, उहाँले भन्नुभयो। 

कार्यक्रममा नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवं संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीले पार्टीलाई बलियो बनाउन सबैले त्याग गरेर जान तयार हुनुपर्नेमा जोड दिनुभयो। कार्यक्रममा नेपाली कांग्रेस पर्वतका निर्वतमान सभापति खिमप्रसाद भुसाल, नेपाली कांग्रेस पर्वतका पूर्वसभापति एवं महाधिवेशन प्रतिनिधि नवराज गुरुङ, तरुण दलका अध्यक्ष विद्वान गुरुङ्ग लगायतले सम्बोधन गर्नुभयो।