काठमाडौँ, साउन १३ गते । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रका नेता कार्यकर्ताले नेतृत्व लिएका हरेक सामाजिक सङ्घ संस्थामा माओवादीले राम्रो गर्छन् भन्ने स्थापित गर्नेगरी मौलिक सोच झल्किनु पर्ने बताउनुभएको छ।
नेकपा (माओवादी केन्द्र) समाज कल्याण विभागद्वारा आज काठमाडौँमा आयोजित “सामाजिक न्याय, समावेशिता र सामाजिक सङ्घ-संस्थाको भूमिकाबारे अन्तर्क्रिया कार्यक्रम” मा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताउनुभएको हो।
अध्यक्ष प्रचण्डले सामाजिक सङ्घसंस्थामा माओवादी केन्द्रको हस्तक्षेप सकारात्मक हुनुपर्नेमा जोड दिँदै बदलिएको राजनीतिक परिस्थितिमा यस्ता संस्थामा सहभागी भएर सकारात्मक भूमिका निर्वाह गर्नु आवश्यक रहेको बताउनुभयो। “नेपाली समाजवादको बाटो कस्तो हुने भन्ने कुरा विभिन्न सामाजिक सङ्घसंस्थामा हाम्रो भूमिका कस्तो हुन्छ भन्नेमा भर पर्छ,” उहाँले भन्नुभयो ।
अध्यक्ष प्रचण्डले माओवादी नेता तथा कार्यकर्ता विभिन्न सङ्घसंस्थामा संलग्न भए पनि खुल्न नचाहने प्रवृत्ति परिवर्तन गर्नु जरुरी रहेको बताउनुभयो। माओवादीले नेतृत्व गर्ने संस्थामा जनताले फरकपन देखाएर जनतामा स्थापित हुनुपर्ने उहाँले बताउनुभयो।
अध्यक्ष प्रचण्डले पार्टीको मूल विचार, त्याग र तपस्याको इतिहासलाई व्यवहारमा देखिने गरी माओवादी केन्द्रका नेताकार्यकता सहभागी रहेका सङ्घसंस्थामा स्पष्ट नीति, कार्यदिशा र एकरूपताका हुनुपर्ने बताउनुभयो। देशभरका स्थानीय तहको अवस्था हेर्दा त्याग र बलिदानीको इतिहासका कारण पनि माओवादीले नेतृत्व लिएका स्थान नै अगाडि रहेको उहाँले बताउनुभयो। सहकारी क्षेत्रमा देखिएको भ्रष्टाचारको चर्चा गर्दै अध्यक्ष प्रचण्डले ठुला र परम्परावादी दलको सहभागी भएका सहकारी र सामाजिक संघ संस्थामा उनीहरूको प्रवृत्तिका कारण ठुलो स्केलमा समस्या आएको उहाँले बताउनुभयो।
सरकारमा हुँदा विभिन्न सामाजिक सङ्घ संस्थाको बजेट सरकारको बजेटसँग समानान्तर जस्तो देखिने समस्या समाधान गर्न पहल लिएको अध्यक्ष प्रचण्डले बताउनुभयो। विदेशी दातृ निकायले विभिन्न संस्थामार्फत् खर्च गर्ने बजेट नियमन गरी राज्यको लेखाभित्र ल्याउने गरी पहल लिएको उहाँले स्मरण गर्नुभयो।
माओवादी केन्द्रले अगाडि सारेको स्वतन्त्र र राष्ट्रिय अर्थतन्त्रको अवधारणा अरू पार्टीको सोचभन्दा फरक रहेको उल्लेख गर्दै, उक्त सोचलाई तलसम्म बुझाएर माओवादी पार्टी फरक हो भन्ने स्थापित गर्न आवश्यक रहेको उहाँले बताउनुभयो।