काठमाडौँ, साउन १३ गते । उपराष्ट्रपति रामसहायप्रसाद यादवले मानव–वन्यजन्तु द्वन्द्व, बासस्थानको खण्डीकरण र जलवायु परिवर्तनजस्ता चुनौतीको समयमा समाधान गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।
‘अन्तरराष्ट्रिय बाघ दिवस’ का अवसरमा आज शुभकामना व्यक्त गर्दै उहाँले मानव–वन्यजन्तु द्वन्द्व, बासस्थानको खण्डीकरण, जलवायु परिवर्तनका असर चुनौतीका रूपमा रहेकाले ती चुनौतीको सबै मिलेर समाधान गर्नुपर्ने धारणा राख्नुभयो । “बाघ संरक्षणबाट पर्या–पर्यटनको विकासमा टेवा पुग्न सक्छ । बाघ संरक्षित क्षेत्रमा पर्यटन प्रवर्द्धन गरी आर्थिक लाभ लिन सकिन्छ”, उहाँले भन्नुभयो ।
उपराष्ट्रपति यादवले विश्वमा बाघको छाला, दाँत र हाडका लागि गरिने अवैध सिकारका कारण बाद्धको सङ्ख्या बट्दै जाँदा चिन्ताजनक अवस्थामा पुगेको उल्लेख गर्दै तीव्र रूपमा बढ्दो वनजङ्गल फँडानी, डढेलो र अव्यवस्थित सहरीकरणका कारणबाट हुने वन विनाशले बाघको बासस्थान बर्सेनि सङ्कटमा परिरहेको बताउनुभयो ।
शुभकामना सन्देशमा भनिएको छ, “बाघ संरक्षणमा पछिल्लो दशकमा नेपालले उल्लेखनीय सफलता हासिल गरेको छ, यो सफलता सरकार, स्थानीय समुदाय, सङ्घसंस्था र अन्तरराष्ट्रिय साझेदारहरूको प्रयासबाट सम्भव भएको हो । संरक्षित क्षेत्रहरूको सन्तुलित व्यवस्थापन, चोरीसिकारी नियन्त्रण, जनचेतना, जनसहभागितालगायत महत्त्वपूर्ण कदमबाट नेपालमा बाघको सङ्ख्या बढ्दै गएको हो, नेपालमा बाघको सङ्ख्या बढेसँगै चुनौती पनि उत्तिकै थपिएका छन् ।”
उपराष्ट्रपति यादवले बाघको अस्तित्व जोगाउनु एउटा प्रजातिको रक्षामात्र नभई सो विषय वातावरणीय सन्तुलनसँग जोडिएकाले सबैको सहकार्य र समन्वयबाट संरक्षणमा लाग्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “बाघले जैविक विविधता कायम राख्न सहयोग गर्दछ, अन्तरराष्ट्रिय बाघ दिवसले हामी सबैलाई बाघ संरक्षणको साझा जिम्मेवारीसहित एकजुटताका साथ अघि बढ्न अभिप्रेरित गर्न सकोस् । दिवसले बाघ संरक्षणको महत्त्वपूर्ण अभिभारालाई दत्तचित्त र सक्रियताका साथ पूरा गर्न सबैलाई उत्प्रेरित गर्न सकोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।”
बाघ एउटा सुन्दर र पारिस्थितिक दृष्टिले महत्त्वपूर्ण वन्यजन्तुमध्येको एक हो । विश्वभरी यसको संरक्षणमा टेवा पु¥याउने उद्देश्यले हरेक वर्षको जुलाई २९ तारिखलाई ‘अन्तरराष्ट्रिय बाघ दिवस’ का रूपमा मनाइन्छ ।
मानिसलाई वन्यजन्तुप्रति संवेदनशील बनाउँदै तिनको संरक्षणमा स्वःस्फूर्त सहभागिताका लागि अन्तरराष्ट्रिय बाघ दिवसले अभिप्रेरित गर्ने उपराष्ट्रपति यादवले विश्वास व्यक्त गर्नुभयो । सरकार र सरोकार भएका सबैलाई बाघको संरक्षणका लागि योजना र कार्यक्रम तर्जुमा गर्नमा बाघ दिवसले सहयोग पु¥याउने उहाँले धारणा राख्नुभयो । रासस