• १३ साउन २०८२, मङ्गलबार

कर्णाली विकास बैङ्क प्रकरण

१०८ प्रतिवादीविरुद्ध तीन अर्ब २० करोड बिगो माग

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, साउन १३ गते । कर्णाली विकास बैङ्कको रकम हिनामिनाबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान पूरा गरेको छ । सिआइबीले अनुसन्धान पूरा गरी जिल्ला सरकारी वकिलको कार्यालयमा पठाएको अनुसन्धान प्रतिवेदनमा १११ जना प्रतिवादीविरुद्ध तीन अर्ब २० करोड ११ लाख ५४ हजार १५७ रुपियाँ बिगो मागदाबी गरिएको छ ।

सिआइबीका आर्थिक तथा वित्तीय अपराध अनुसन्धान महाशाखा प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक होबिन्द्र बोगटीका अनुसार उक्त बैङ्कको रकम हिनामिनामा संलग्न बैङ्का संस्थापक तथा अध्यक्ष पशुपति दयाल मिश्र, प्रमुख कार्यकारी अधिकृत (सिइओ) राजेन्द्रविक्रम राय, लेखा प्रमुख वेदप्रकाश सिंह ठकुरी र नेपाल राष्ट्र बैङ्कका पूर्वअनुमगन अधिकृत भुवन बस्नेत पक्राउ परिसकेका छन् ।

उनीहरूबाहेक १०४ जना अझै फरार रहेको र आरोपीमध्ये चार जनाको मृत्यु भइसकेकाले उनीहरूमाथि मुद्दा चलाउन नपर्ने सिफारिस गरिएको बोगटीले जानकारी दिनुभयो ।

प्रतिवादी बनाइएकामा तत्कालीन सञ्चालक समितिका तीन जना अध्यक्ष, आठ जना समितिका पदाधिकारी, चार जना सेयरधनी, तीन जना कार्यकारी अधिकृत, ४२ जना कर्मचारी, ४० जना ऋणी, एक जना मूल्याङ्कनकर्ता, एक जना नेपाल राष्ट्र बैङ्कका पूर्वकर्मचारी र छ जना आन्तरिक तथा बाह्य लेखा परीक्षक रहेको पाइएको छ । 

मुख्य आरोपी मिश्र नेकपा एमालेका केन्द्रीय सदस्य रहेको र २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा बाँके क्षेत्र नं. २ बाट उम्मेदवार भई पराजित हुनुभएको थियो । यस प्रकरणबारे अनुसन्धान गरिरहेको सिआइबीको विशेष टोलीले बाँकेमै रहेर अनुसन्धान गरेको थियो । सिआइबीले बुझाएको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयले हाल अध्ययन गरिरहेको र बैङ्किङ कसुर तथा सजाय ऐन २०६४ अन्तर्गतको जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गर्ने तयारीमा रहेको जनाएको छ ।