गोरखापत्र समाचारदाता
काठमाडौँ, साउन १३ गते । सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा विमल पौडेल सिफारिस हुनुभएको छ । मुख्य रजिस्ट्रार देवेन्द्रराज ढकालले अवकाश पाएसँगै न्याय सेवा आयोगले पौडेललाई सिफारिस गरेको हो । आयोगको सिफारिस अनुसार अब मन्त्रीपरिषद्ले पौडेललाई नियुक्ति र पदस्थापन गर्ने छ । पौडेल सर्वोच्चकै रजिस्ट्रार हुनुहुन्थ्यो ।
न्याय सेवाको कर्मचारीतर्फको विशिष्ट पद मुख्य रजिस्ट्रारबाट ढकालले आइतबारदेखि अवकाश पाउनुभएको थियो । ५८ बर्से उमेरहदका कारण ढकालले अवकाश पाउनुभएको हो । प्रशासनिक तहमा राज्यका तिनै अङ्गबिच समान पदको व्यवस्था गर्ने परिकल्पना अनुसार सर्वोच्चमा २०७४ साउनदेखि मुख्य रजिस्ट्रारको नियुक्ति सुरु भएको थियो । संसद्का महासचिव, निजामती प्रशासनतर्फ मुख्यसचिव र न्याय सेवाको मुख्य रजिस्ट्रार समान पद हुन् । सर्वोच्चमा ढकालसमेत पाँच मुख्य रजिस्ट्रारको नियुक्ति पदस्थापन भएकोमा चार जना न्यायाधीश नियुक्त भएका थिए । मुख्य रजिस्ट्रार भएर न्यायाधीश नियुक्त नहुने ढकाल पहिलो हुनुभएको छ ।
पौडेल मुख्य रजिस्ट्रारमा सिफारिस भई रिक्त हुने रजिस्ट्रार पदमा मानबहादुर कार्कीको नाम सिफारिस भएको छ । कार्की सहरजिस्ट्रार हुनुहुन्थ्यो । यस्तै आयोगले सरकारी वकिल समूहका सहन्यायाधिवक्ता सूर्यराज दाहाललाई नायब महान्याधिवक्तामा बढुवा सिफारिस गरेको छ । दाहालको पदस्थापन बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको सचिवमा गरिएको छ । छानबिन आयोगमा सचिवको जिम्मेवारीमा रहनुभएका नायब महान्यायाधिवक्ता खेमराज ज्ञवालीलाई महान्यायाधिवक्ता कार्यालयमा सरुवा सिफारिस गरिएको छ ।
आयोगले कानुन समूहका दुई सहसचिवलाई विशिष्ट श्रेणी बढुवाका लागि सिफारिस गरेको छ । सहसचिव निर्मला अधिकारी र इन्दिरा दाहाललाई विशिष्ट श्रेणीमा बढुवा सिफारिस गरेको हो । आयोगले अधिकारी हाल कार्यरत अधिकारीलाई सत्य निरूपण तथा मेलमिलाप आयोगको सचिवमा पदस्थापन गरेको छ ।
दाहाललाई नेपाल कानुन आयोगको सचिवमा पदस्थापन सिफारिस गरेको छ । आयोगले न्याय समूहका ८४ जना उपसचिवलाई सरुवा गरेको छ । सरुवा हुनेमा इजलास अधिकृत, स्रेस्तेदारलगायत छन् । यस्तै कानुन समूहका तीन उपसचिवको सरुवा भएको छ । यस्तै न्याय समूहकै ६३ जना शाखा अधिकृतको पनि सरुवा भएको छ । कानुन समूहका १९ जना शाखा अधिकृतको पनि सरुवा भएको छ ।