• ७ जेठ २०८१, सोमबार

मधेश प्रदेशमा मङ्गलबारदेखि घुम्ती कोभिड खोप सेवा सञ्चालन

blog

मधेश प्रदेशमा मंगलबारबाट संचालनमा आएको घुम्ती कोभिड–१९ खोप सेवाको शुभारम्भ कार्यक्रममा मुख्यमन्त्री सहभागी मुख्यमन्त्री लालबाबु राउतलगायत। तस्बिर : धर्बेन्द्र झा

 धर्वेन्द्र झा
धनुषा, असार ७ गते।
मधेश प्रदेशमा मङ्गलबारदेखि कोभिड-१९ खोप घुम्ती सेवा सञ्चालन भएको छ। मधेश प्रदेश सरकार, अष्ट्रेलियन एड तथा आड्रा नेपालको संयुक्त सहयोगमा बागमती सेवा समाज सर्लाहीले सञ्चालन गरेको घुम्ती कोभिड-१९ खोप सेवालाई मङ्गलबार औपचारिक रुपमा सुरु गरिएको हो। 

मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, समाजिक विकासमन्त्री नवलकिशोर साह र महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्रप्रसाद सिंहले संयुक्तरुपमा अभियान शुभारम्भ गर्नुभयो। 

कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले खोप लिन छुटेका लक्षित वर्गलाई सेवाले फाइदा पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले कोभिड–१९ को भ्याक्सिनले जनजीवनलाई सहज बनाएको स्मरण गर्दै  वृद्ध, अशक्त, अपांग तथा दीर्घरोगीका साथै बच्चाको लागिसमेत घुम्ती सेवा सञ्चालन गर्न सम्बन्धित निकायलाई आग्रह गर्नुभयो। 

कार्यक्रममा समाजिक विकासमन्त्री नवलकिशोर साहले कोरोना माहामारीको नियन्त्रणमा कोरोना विरुद्धका विभिन्न खोप प्रभावकारी भएको भन्दै छुटेलाई सहभागी गराइने बताउनुभयो। 

मधेश प्रदेशमा ८० प्रतिशतले मात्रै कोरोनाविरुद्धको खोप लिएको कारण बाँकी रहेका २० प्रतिशतलाई लक्षित गरेर एक सय दिनसम्म सञ्चालनमा रहने  घुम्ती सेवाबाट एक लाखभन्दा बढी व्यक्ति लाभान्वित हुने लक्ष्य स्वास्थ्य निर्देशनालयले लिएको स्वास्थ्य निर्देशक विजय झाले जानकारी दिनुभयो।