साहारा लिम्बू
फुङ्लिङ, साउन १२ गते । ताप्लेजुङमा श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ परेका छन् । श्रीमतीलाई कैँची प्रहार गरी हत्या गरेको आरोपमा सिरिजङ्घा गाउँपालिका घर भई हाल फुङलिङ नगरपालिका-४, उकाली पानी बस्ने विजय भन्ने सञ्जमान लिम्बू पक्राउ परेका हुन् ।
सूचना अधिकारी तथा प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार लिम्बूले २०८२ साउन ८ गते ५ बजेको समयमा श्रीमती शान्ति राईसँग विवाद हुँदा कोठामा रहेको कैँचीले श्रीमती राईको पेटमा प्रहार गरेका थिए । घटनालाई ढाकछोप गर्न घाइते राईलाई बाटोमा लडेको भनेर श्रीमान् लिम्बूले जिल्ला अस्पताल लगेका थिए ।
जिल्ला अस्पतालमा राईको उपचार हुन नसकेपछि जिल्ला बाहिर सुविधा सम्पन्न अस्पताल लैजाने क्रममा साउन १० गते मृत्यु भएको थियो । तर, राईको मृत्यु बाटोमा लडेर नभई श्रीमान् लिम्बूद्वारा नै हत्या भएको भनी अनुसन्धानमा खुलेका कारण लिम्बूलाई साउन ११ गते पक्राउ गरिएको प्रहरी निरीक्षक बस्नेतको भनाइ छ । लिम्बूलाई कर्तव्य ज्यान मुद्दामा सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।