गोरखापत्र अनलाइन
काठमाडौँ, साउन १२ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का निलम्वित सचिव एवं प्रतिनिधिसभाका निलम्वित सांसद् टोपबहादुर रायमाझीको मुद्दा छिटो टुङ्गोमा पुर्याउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अर्घाखाँची जिल्ला सभापति हरिप्रसाद भुसालले माग गर्नुभएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई वर्षदेखि पुर्पक्षका लागि हाल भद्रजेलमा थुनामा रहनुभएका नेता रायमाझीलाई भेटेर सभापति भुसालले सो माग गर्नुभएको हो । लामो समय मुद्दा अदालतमा विचाराधीन हुँदा अर्घाखाँची प्रतिनिधिविहीन भएकाले दोषी वा निर्दोष जे भए पनि फैसला चाँडै आएमा जिल्लाको समग्र विकास निर्माणको काममा सहज हुने उहाँको भनाइ छ ।
“एउटा निर्वाचित जनप्रतिनिधिलाई पुर्पक्षमा यति लामो समय जेल हाल्दा अर्घाखाँचीलाई प्रत्पक्ष असर पुगेको छ, जिल्लावासीको नाताले म आग्रह गर्छु फैसला छिटो होस्’, सभापति भुसालले भन्नुभयो । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ मा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्यमा रायमाझीका प्रतिस्पर्धी रहेका भुसालले तेस्रो स्थान हासिल गर्नुभएको थियो ।
केही दिनअघि नेकपा (माओवादी केन्द्र) का नेता जनार्दन शर्माले रायमाझीलाई भद्रजेलमा भेटेर रायमाझीमाथि राजनीतिक पूर्वाग्रह भएकाले चाँडै फैसला भई रिहाइ हुने अपेक्षा व्यक्त गर्नुभएको थियो ।
जिल्ला अदालत, काठमाडौँमा विचाराधीन रायमाझीको सो मुुद्दामा जाहेरीवाला र साक्षीको वकपत्र (बयान) सकिएको छ भने साउन १८ गतेका लागि पेसी तोकिएको छ । उक्त प्रकरणमा पूर्वमन्त्री रायमाझीलाई सहायक प्रतिवादी बनाइएपछि २०८० वैशाख २० गते जिल्ला प्रहरी कार्यालय, काठमाडौँले पक्राउ पूर्जी जारी गरी २०८० वैशाख ३१ गते पक्राउ गरेको थियो । जिल्ला अदालत, काठमाडौँको एकल इजलाशले २०८० असार १ गतेको फैसलाबाट रायमाझीसहितलाई पुर्पक्षका लागि थुनामा राखिएको छ ।