• १३ साउन २०८२, मङ्गलबार

महिला सांसद समन्वय समिति गठनका लागि आग्रह

blog

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा तथा प्रमुख राजनीतिक दलका सचेतकलगायत । तस्बिर : परराष्ट्रमन्त्रीको सचिवालय

काठमाडौँ, साउन १२ गते । प्रतिनिधिसभाअन्तर्गत महिला सांसद समन्वय समिति गठनका लागि आवश्यक सहयोग र समन्वय गरिदिन विभिन्न राजनीतिक दलका महिला सांसदहरूले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासमक्ष आग्रह गर्नुभएको छ । 

प्रमुख राजनीतिक दलका सचेतकसहितका महिला सांसदहरूले आज मन्त्री डा राणालाई भेटी सो समिति स्थापनाका लागि सरकारमा रहेर समन्वय एवं सहयोग गर्न आग्रह गर्नुभएको हो । 

प्रतिनिधिसभा नियमावलीमा सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने गरी महिलाहरूको एक समितिका रूपमा महिला सांसद समन्वय समिति रहने व्यवस्था भए पनि प्रतिनिधिसभाको आधा कार्यकाल पूरा भइसक्दा पनि सो समिति गठन हुन नसकेकाले सरकार र संसदलाई दबाब दिनका लागि उहाँहरुले सो आग्रह गर्नुभएको हो ।

सो भेट तथा अन्तर्क्रियामा प्रतिनिधिसभामा सचेतकहरू नेपाली कांग्रेसकी सुशीला थिङ, नेकपा एमालेकी सुनिता बराल, नेकपा माओवादी केन्द्रकी रूपा रोशी चौधरी, राप्रपाकी बिना लामा, रास्वपाकी निशा डाँगीसहित सांसद एवं पूर्वमन्त्रीहरू रेखा शर्मा, सीता गुरुङ, विद्या भट्टराईलगायत अन्य सांसदहरू पनि हुनुुहुन्थ्यो ।   

सो अन्तर्क्रियामा मन्त्री डा. राणाले विगतमा पनि संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका महिला सांसदहरू एकजुट भएर नै महिला अधिकारका क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल भएको स्मरण गर्दै आगामी दिनमा पनि सो संस्कारलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । 

मन्त्री डा. राणाले प्रतिनिधिसभा नियमावलीमा भएको व्यवस्था पनि अहिलेसम्म कार्यान्वयनमा नआउनु दुःखद हो भन्दै महिला समन्वय समिति गठनका लागि संसदमा सबै दलका महिला सांसदहरूको ऐक्यबद्धता आवश्यक रहेको बताउनुभयो । 

सो समिति गठनका लागि आफूले सरकारबाट सक्दो पहल गर्ने पनि मन्त्री डा. राणाले त्यस अवसरमा बताउनुभयो ।