• १३ साउन २०८२, मङ्गलबार

श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

blog

चन्द्र पन्दाक

ताप्लेजुङ, साउन १२ गते । ताप्लेजुङमा आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन् । प्रहरीका अनुसार सिरिजङ्घा गाउँपालिका–५ पेदाङको याङ्पाङ बस्ने ३२ वर्षीय सन्जमान लिम्बू श्रीमती शान्ति राईको हत्या गरेको आरोपमा पक्राउ परेका हुन् ।

ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमका अनुसार धारिलो हतियार कैंची प्रहार गरी ३० वर्षीया श्रीमतीको हत्या गरेको आरोपमा लिम्बू आइतबार पक्राउ परेका हुन् । पेदाङको याङ्पाङ घर भई हाल फुङ्लिङ नगरपालिका–५ उकालीपानी टोलमा घर भाडामा बस्दै आएका लिम्बूले गएको बिहीबार सामान्य विवाद हुँदा श्रीमती शान्तिमाथि कैंची प्रहार गरेका थिए ।

धारिलो कैंची प्रहारबाट गम्भीर घाइते हुनुभएकी शान्तिको दुई दिनपछि शनिबार बिहान मृत्यु भएको प्रनाउ गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार लिम्बूको कैंची प्रहारबाट श्रीमती शान्तिको यौनाङ्ग नजिक पेटमा गम्भीर चोट लागेको थियो । सोही चोटका कारण दिसापिसाव रोकिन गएको र थप उपचारका लागि जिल्ला अस्पताल लैजाने क्रममा शान्तिको बाटोमै मृत्यु भएको थियो ।

यता घटना ढाकछोप गर्न लिम्बूले श्रीमती शान्ति घर नजिक बाटो हिड्ने क्रममा अचानक लड्दा सडकमा रहेको रडले घोचेर चोट लागेको प्रहरीसमक्ष झुठा जाहेरी दिएका थिए । रडले घोचेको नभई श्रीमानले श्रीमतीमाथि धारिलो कैंची प्रहार गरेको अनुसन्धानबाट खुल्न आएको प्रनाउ गौतमले बताउनुभयो । 

यता पक्राउ परेका लिम्बूलाई जिल्ला अदालतबाट सात दिनको म्याद लिएर थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।