• १३ साउन २०८२, मङ्गलबार

स्पेनलाई हराउँदै इङ्ल्यान्डद्वारा उपाधि रक्षा

blog

उपाधि जितेपछि इङ्ल्यान्डका खेलाडी । तस्बिर : एपी/रासस

काठमाडौँ, साउन १२ गते । युइएफए महिला युरोपियन च्याम्पियनसिपको उपाधि इङ्ल्यान्डले रक्षा गरेको छ ।

आइतबार राति भएको फाइनलमा बलियो प्रतिद्वन्द्वी स्पेनलाई टाइब्रेकरमा ३–१ गोलले हराउँदै इङ्ल्यान्ड लगातार दोस्रो पटक च्याम्पियन बनेको हो । 

निर्धारित र अतिरिक्त ३० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेर टुङ्गिएको थियो । निर्धारित समयमा सुरुवाती अग्रता स्पेनले लिएको थियो । 

२५औँ मिनेटमा मारियोना क्याल्डेन्टेले गोल गर्दै स्पेनलाई अग्रता दिलाउनुभयो । ५७औँ मिनेटमा इङ्ल्यान्डकी एलेसिया रुसोले गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभएको थियो । त्यसपछि दुवै टोलीबाट गोल नहुँदा टाइब्रेमरमा साविक विजेता इङ्ल्यान्ड भाग्यमानी बन्यो । 

टाइब्रेकरमा इङ्ल्यान्डका लागि एलेक्स ग्रिनउड, नियाम चार्ल्स र क्लो केलीले गोल गर्नुभयो । बेग मेड र लेहा विलियमसनको प्रहार विफल बनेको थियो । 

यस्तै स्पेनका लागि प्याट्रिसिया गुइजारोले मात्रै गोल गर्न सक्नुभयो । मारियोना क्याल्डेन्टे, आइटाना बोनमती र सलमा पारालुएलोको प्रहार विफल बन्यो । एजेन्सी