अविनाश चौधरी
धनगढी, साउन १२ गते । सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीले प्रदेश सभामा उठेका विषयमा सात दिनभित्र जवाफ दिन प्रदेश सरकारलाई निर्देशन दिनुभएको छ ।
प्रदेश सभा सदस्यहरूले सभामा उठाएको विषयमा जवाफ दिन उहाँले प्रदेश सरकारलाई निर्देशन दिनु भएको हो । आइतबार र सोमबार गरी दुई दिनको बैठकमा समसामयिक विषयमा बोल्नका लागि प्रदेश सभा सदस्यहरूलाई समय उपलब्ध गराइएको थियो ।
आजको छलफलमा नागरिक उन्मुक्ति पार्टीका संसदीय दलको नेता घनश्याम चौधरीले किसानलाई तत्काल रासायनिक मलको व्यवस्था गर्न प्रदेश सरकारलाई आग्रह गर्नुभयो । मल नपाएर उत्पादन घट्ने चिन्तामा किसान रहेको भन्दै उहाँले प्रदेश सरकारले किसानका समस्या सुन्न नचाहेको जिकिर गर्नुभयो । त्यस्तै, किसानले चैते धानको मूल्य नपाएको भन्दै उहाँले सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।
यसै गरी, चक्रबहादुर मल्लले चुरे क्षेत्र अतिक्रमणको चपेटामा परेको बताउनुभयो । उहाँले बेलैमा अतिक्रमणलाई नियमन र नियन्त्रण गर्न नसके त्यसले दीर्घकालीन असर गर्ने उल्लेख गर्नुभयो । चुरे अतिक्रमणले तराईको बस्ती र कृषियोग्य जमिनलाई सबैभन्दा बढी असर हुने उहाँको भनाइ थियो । मल्लले चुरे संरक्षणमा तीन तहकै सरकार उदासीन रहेको उल्लेख गर्नुभयो ।
प्रदेश सभा सदस्य सन्तोषकुमारी शर्मा थापाले सुदूरपश्चिम प्रदेशमा महिला असुरक्षित भइरहेको बताउनुभयो । उहाँले महिला हिंसाविरुद्धको कानुन प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारलाई आग्रह गर्नुभयो । यसै गरी, प्रदेशको प्रत्येक पालिकामा महिला सहायता डेस्क र सेफ हाउस सञ्चालन हुनुपर्ने शर्माले जोड दिनु भएको छ । उहाँले महिला हिंसा घटनाका अपराधीलाई तत्काल कानुनी कठघरामा उभ्याउन सक्नुपर्ने उल्लेख गर्नुभयो । शर्माले महालेखा परीक्षकको प्रतिवेदन सभामा प्रस्तुत गर्न प्रदेश सरकारलाई आग्रह गर्नु भएको छ ।