प्रवीणकुमार शर्मा
चन्द्रपुर (रौतहट), साउन १२ गते । रौतहटको राजपुर नगरपालिका–३ का एक दलित महिलालाई एक वर्ष अघि जबरजस्ती करणी गरेको आरोपमा रौतहट जिल्ला राजपुर–३ का खुर्सैद खाँ पैठानलाई रौतहट जिल्ला अदालातले पुर्पक्षका लागि कारागार चलान गरेको छ ।
रौतहट जिल्ला अदालतका न्यायाधीश पुण्यप्रसाद सापकोटाको इजलासले आरोपित पैठानलाई पुर्पक्षका लागि जिल्ला कारागार चलान गरेको हो । इजलाश नं. ३ का इजलास अधिकृत आस्था शर्मा पौडेलले सो कुराको जानकारी दिनुभएको हो ।
थुनछेक बहस चलिरहँदा जबरजस्ती करणी घटनाको आरोपित पैठानलाई थुनामै राखी अनुसन्धान गर्न दबाबस्वरूप महिलाहरूले रौतहट जिल्ला अदालतको प्रवेशद्वारमा प्रदर्शन गरेका थिए ।
महिला अधिकारकर्मी सावित्री सुवेदीको नेतृत्वमा आएका महिलाहरूले आरोपित पैठानलाई थुनामै राखेर अनुसन्धान गर्नुपर्ने, कुनै पनि बहानामा आरोपितलाई उन्मुक्ति दिन नहुने भन्दै नाराबाजी गरेका थिए ।
जबरजस्ती करणीको मुद्दाबाट पछाडि हट्न आरोपी पैठानको आफन्त र छोराहरूबाट निरन्तर दबाब, पैसाको प्रलोभन आएको र उनको शर्त नमानेपछि ज्यान लिने धम्की समेत आएको पीडित दलित महिलाका श्रीमान् सिकेन्द्र राम चमारले बताउनुभयो ।
रौतहटको राजपुर–३, बलुवा टोलका दलित महिलाको एक वर्ष अघि भएको जबरजस्ती करणीको घटनामा फरार रहेका आरोपी पैठान गएको असार १८ गते जिल्ला प्रहरी कार्यालय रौतहटमा हाजिर भएका थिए । घटनाको निष्पक्ष ढङ्गले छानबिन गर्न र दोषीलाई पैसा, राजनीतिक पहुँच या अन्य कुनै पनि प्रलोभनमा उन्मुक्ति दिन नहुने राजपुर–४ घर भएका आम जनता पार्टीका केन्द्रीय सदस्य राजन साहले माग गर्नुभयो ।