• १२ साउन २०८२, सोमबार

लसुन आयातमा २२५ दशमलव १ प्रतिशतले वृद्धि

blog

विष्णुप्रसाद पोखरेल
दमक, साउन 
१२ गते । कृषि उपजको रुपमा रहेको लसुन पूर्वी नाका मेची भन्सार हुँदै ठुलो परिमाणमा नेपाल भित्रिएको छ । मेची भन्सार कार्यालयको तथ्याङ्क अनुसार दस करोड २१ लाख १९ हजार छ सय २० किलोग्राम लसुन नेपाल भित्रिएको छ ।

भन्सार मूल्याङ्कन अनुसार एक अर्ब ३० करोड ३९ लाख रुपियाँ बराबरका लसुन नेपाल भित्रिएको हो । यस बापत ३३ करोड ६६ लाख ७९ हजार रुपियाँ बराबर राजस्व सङ्कलन भएको मेची भन्सार कार्यालयले जनाएको छ । अघिल्लो वर्षको तुलनामा लसुनको आयात २ सय २५ दशमलव १ प्रतिशतले वृद्धि भएको देखिएको छ ।

मेची भन्सार कार्यालयका भन्सार अधिकृत तथा सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार आर्थिक वर्ष २०८०÷०८१ को सोही अवधिमा ४० करोड सात लाख ९४ हजार रुपियाँको ३२ लाख १६ हजार २० किलोग्राम लसुन आयात भएकोमा पछिल्लो वर्ष आयत बढेको हो ।

अघिल्लो आर्थिक वर्षको तुलनामा पछिल्लो गएको वर्ष मेची भन्सार काँकरभिट्टा नाका भएर लसुनको आयात २ सय २५ दशमलव १ प्रतिशतले वृद्धि भएको मेची भन्सार कार्यालय काँकरभिट्टाको तथ्याङ्कले देखाएको छ । तेस्रो देश चीनबाट भारत हुँदै लसुन नेपाल भित्रिने गरेको छ । सबैभन्दा बढी राजस्व वृद्धि भएका १० वस्तुहरुमा लसुन पनि रहेको मेची भन्सार कार्यालयका सूचना अधिकारी हुमागाईंले बताउनुभयो ।