• १६ चैत २०८०, शुक्रबार

एन्फा निर्वाचनमा अध्यक्ष सहित १९ जना विजयी

blog

एन्फा निर्वाचनमा विजेता पदाधिकारी । तस्बिर : गोरखापत्र

काठमाडौं, असार ७ गते । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को २१ सदस्यीय नयाँ कार्यसमिति चयन गर्न सोमबार भएको निर्वाचनले अध्यक्षसहित १९ जना पदाधिकारीको विजेता टुङ्गो लगाएको छ ।

सोमबार राति नै गरिएको मत गणनामा चार जना सदस्यको मत बराबर भएका कारण दुई जना पुनः निर्वाचनबाट निर्वाचित गरिने एन्फा निर्वाचन समितिले जनाएको छ । दुई सदस्यको विशेष साधारण सभा आह्वान गरेर टुङ्गो लगाइने एन्फाले जनाएको छ । 

निर्वाचनबाट अध्यक्षमा पङ्कजविक्रम नेम्वाङ निर्वाचित हुनुभएको छ । नेम्वाङले अध्यक्षका प्रयासी कर्माछिरिङ शेर्पालाई ६ मतले पराजित गर्नुभएको हो । कुल ८४ मतमध्ये नेम्वाङले ४५ र शेर्पाले ३९ मत पाउनुभयो । शेर्पा यस अघिल्लो कार्यसमितिमा अध्यक्ष र नेम्वाङ वरिष्ठ उपाध्यक्ष हुनुहुन्थो । निर्वाचनमा दुवै जनाले प्यानलसहित उम्मेदवारी दिनुभएको थियो । 

वरिष्ठ उपाध्यक्षमा नेम्वाङ प्यानलकै वीरबहादुर खड्का ४४ मत ल्याएर विजयी हुनुभएको छ । उहाँले शेर्पा प्यानलका उम्मेदवार शिक्षित पराजुलीलाई चार मतले हराउनुभयो । पराजुलीलले ४० मत प्राप्त गर्नुभयो । 

यसैगरी चार उपाध्यक्ष पदमा पनि नेम्वाङ प्यानल हाबी भएको छ। जसमा तीन उपाध्यक्ष नेम्वाङ प्यानलबाट विजयी हुनुभएको छ । नेम्वाङ प्यानलबाट दावा लामाले ४८, दीपक खतिवडा र विराटजङ्ग शाहीले समान ४७ मत ल्याएर निर्वाचित हुनुभएको छ । शेर्पा प्यानलबाट दीर्घबहादुर केसीले ४३ मत ल्याएर विजयी हुनुभएको छ । शेर्पा प्यानलका उपेन्द्रमान सिंह, रत्नकुमार श्रेष्ठ र विज्ञानराज शर्मा तथा नेम्वाङ खेमाका सुन्दरनरसिंह जोशी पराजित हुनुभयो । 

महिला सदस्यमा भने दुवै प्यानलका एक एक उम्मेदवार विजयी हुनुभएको छ । शेर्पा प्यानलबाट पेमा डोल्मा लामाले ४३ र नेम्वाङ प्यानलबाट सरिला श्रेष्ठले ४६ मत ल्याएर विजयी हुनुभएको हो । महिला सदस्यमा नेम्वाङ प्यानलकी विन्द्रा देवान र शेर्पा प्यानलकी विना श्रेष्ठ पराजित हुनुभयो । 

१३ खुल्ला सदस्य पदका लागि भएको निर्वाचनले ११ जना मात्रै निर्वाचित गरेको छ । जसमा नेम्वाङ प्यानलबाट ६ र शेर्पा प्यानलबाट पाँच जना सदस्य विजयी हुनुभएको छ । जसमा नेम्वाङ प्यालनका रविन्द्र चन्दले ४६, अनिल मल्लले ४७, भोजराज शाहीले ४४, पुरुषोत्तम थापाले ४३, महेन्द्र क्षेत्रीले ४४ र विजय नारायण श्रेष्ठले ४४ मत ल्याएर विजयी हुनुभएको छ । शेर्पा प्यानलबाट रमेश व्यञ्जनकारले ४३, भरत बुढ थापाले ४०, टिका लामाले ४१, मणिराज विष्टले ४२ र मनिष जोशीले ४८ मत ल्याएर विजयी हुनुभएको छ । 

यसैगरी शेर्पा प्यानलका रुपेश अधिकारी, लोकेन्द्र गुरुङ र दीपक थापा क्षेत्री तथा नेम्वाङ दीपेन्द्र धिमालको समान ३९ मत आएकोले दुई सदस्य पदमा फेरि निर्वाचन गरिन लागिएको हो । एन्फाको विधानअनुसार तत्कालै पुनः निर्वाचन गर्न सम्भव नहुने भएपछि  दुई सदस्यको विशेष साधारण सभा आह्वान गरेर निर्वाचनको समेत टुङ्गो लगाइने बताइएको छ । एन्फाको २१औं चुनावी साधारण सभा विश्व फुटबल महासङ्घ (फिफा) र एसियाली फुटबल महासङ्घ (एएफसी) का प्रतिनिधिको उपस्थितिमा सम्पन्न भएको हो ।